- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सडक सुरक्षित भए जीवनशैलीमा सुधार आउँछ भन्ने सर्वविदितै छ । जब सडकमा सुरक्षाको प्रश्न उठ्छ, मानिस घरबाट निस्कन डराउँछ । यसबाट मानिसमा स्वास्थ्य समस्या उत्पन्न हुन्छ ।
आज सडक सुरक्षित नभएका कारण मध्यम तथा न्यून आय भएका मानिसहरु विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् । असुरक्षित सडकमा उत्पन्न हुने होहल्ला र ज्यान जोखिममा पर्ने हिंसाका उत्पन्न वातावरणीय समस्या पनि अर्को स्वास्थ्य समस्या हो ।
हार्वार्ड विश्वविद्यालयको स्वास्थ्य विभागले गरेको अध्ययनअनुसार दिनमा सरदर २१ मिनेटमात्र हिँडे पनि मुटुसम्बन्धी समस्यामा ३० प्रतिशतले कमी आउँछ ।
त्यस्तै हिँडाइका कारण मधुमेह, क्यान्सर, कोलेस्ट्रोल जस्ता समस्या न्यूनीकरणमा सहयोग पुग्दछ । साथै मानसिक तन्दुरुस्ती बढ्ने उक्त अध्ययनले देखाएको छ ।
सोही अध्ययनले हिँडाइलाई बढावा दिए मानिसको स्वास्थ्यमा सुधार आई अमेरिकामा मात्र वर्षमा एक सय अर्ब डलर बचत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।
हिँड्नका लागि कुनै पनि यन्त्र वा अन्य सहयोगी साधनको आवश्यकता पर्दैन । बलियो खुट्टा भए पुग्छ । त्यसैले हिँडाइलाई गरिबको शारीरिक अभ्यासका रुपमा लिइन्छ ।
तर दुःखको कुरो जुन जुन देश गरिब छन्, तिनै देशका सडक हिँड्नका लागि सुरक्षित छैनन् । नेपाल पनि यस समस्याबाट पीडित छ ।
विश्वमा मानिसको ज्यान लिने १० मध्ये एउटा कारण हो, नसर्ने रोग । जुन मानिसले आवश्यक सक्रियता नदेखाएका कारण उत्पन्न हुन्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हाल विश्वका मध्यम तथा न्यून आय भएका मुलुक ८० प्रतिशत वयष्कहरु यस्ता समस्याबाट पीडित छन् ।
उनीहरुलाई हिँड्न तथा साइकल चलाउन प्रोत्साहित गर्न आवश्यक छ । यसका लागि सडकलाई सुरक्षित पार्नुपर्दछ ।
सडक सुरक्षित हुँदा सवारी जोखिम त घट्छ नै । यति हुँदा मात्र पनि हाम्रो जस्तो देशले कूल गार्हस्थ उत्पादनको तीनदेखि पाँच प्रतिशत हिस्सा जोगाउन सकिन्छ ।
सन् २०१६ को अध्ययनअनुसार नेपालमा सडक सवारी जोखिममा देशको कूल गार्हस्थ उत्पादनको पाँच प्रतिशत खर्च भएको थियो । तथ्यांकअनुसार सन् २०२३ मा नेपालको कूल गार्हस्थ उत्पादन ४०.८ अर्ब अमेरिकी डलर छ ।
यसको पाँच प्रतिशत भनेको करिब दुई अर्ब अमेरिकी डलर हो । यदि हामीले हाम्रा सडकमात्र सुरक्षित पार्न सके पनि वर्षमा दुई अर्ब अमेरिकी डलर अथवा करिव दुई खर्ब ६२ अर्ब रुपैयाँ जोगाउन सक्छौँ ।
यसमा पीडित तथा उसको परिवारले भोग्ने पीडाको त हिसाब नै राख्न सकिन्न । मान्छेको शान्ति र खुशीको मूल्य त पैसामा तुलना नै गर्न सकिँदैन ।
वातावरणीय दृष्टिले सडक सुरक्षित हुँदा हुने लाभ फरक छन् । वातावरणमा हावामात्र सफा भए पनि वार्षिक ३७ लाख मानिसको ज्यान जोगिने अध्ययनहरुले देखाएका छन् ।
ती ३७ लाखमध्ये ८० प्रतिशत मानिस मध्यम तथा न्यून आय भएका मुलुकका मानिस पर्दछन् । हाम्रो जस्तो कलकारखाना नभएको मुलुकमा वातावरण दुषित पार्ने तत्वमध्ये सवारी साधन मुख्य कारक हुन् ।
त्यस्तै हाम्रो मुलुकमा सडकमा पानी जम्ने वा ढल वा खानेपानीको पाइपबाट पानी सडकमा आउने पनि अर्को समस्या हो । यस्तो समस्या हामीले दैनिक भोग्दै आएका छौँ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार फोहर पानी जम्दा उत्पन्न हुने परजीविबाट सर्ने रोगले विश्वमा वार्षिक १२ लाख मानिसको ज्यान जान्छ । तीमध्ये अधिकांश बालबालिका पर्दछन् ।
सडकलाई सुरक्षित हुनबाट रोकावट गर्ने अर्को तथ्य हो ध्वनि प्रदूषण । हाम्रो मुलुकमा त्यसमा पनि शहरी क्षेत्रमा ध्वनि प्रदूषणको पहिलो कारण हो सवारी साधनले उत्पन्न गर्ने ध्वनि ।
यसबाट निद्रा बिथोलिने, मुटुसम्बन्धी समस्या बढ्ने, कार्य क्षमता घट्ने, बालबालिकामा मष्तिष्कमा दबाब बढ्ने, पढाइप्रति ध्यान केन्द्रित नहुने तथा सुन्ने शक्तिमा कमी आउने आदि समस्या बढ्ने विश्व स्वास्थ्य संगठनको निष्कर्ष छ ।
त्यसैले सडक निर्माण यस्ता समस्या नआउने गरी डिजाइन गर्ने नीति अबलम्बन गर्नुपर्दछ । सडक निर्माण गर्न ठूलो धनराशी खर्च गरिन्छ तर सडक सुरक्षाका लागि उति ठूलो तथा छुट्टै रकम आवश्यक नपरे पनि यसबारे अहिलेसम्म खासै चासो राखिएको छैन ।
उता विश्व समुदायसमक्ष भने नेपालले सन् २०३० सम्ममा सडक यातायात जोखिमबाट ज्यान गुमाउनेको संख्या आधा कम पार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
विश्व बैंकको तथ्यांकअनुसार सडकलाई सुरक्षित पारी सवारी जोखिम आधा घटाउँन नेपालले एक दशकका लागि करिव ८८ करोड डलर लगानी गर्नुपर्दछ ।
सडक असुरक्षित भएका कारण बर्सेनि दुई अर्ब डलर गुमाउँदै आएको हाम्रो मुलुकले १० वर्षमा २० अर्ब डलर गुमाउँदछ । सो गुम्ने रकममध्ये आधामात्र खर्च गरे पनि सडक सुरक्षामा ठूलो फड्को मार्न सकिन्छ ।
यसबारे नागरिक समाजले सधैं सरकार तथा संसदलाई घच्घच्याइरहनु पर्दछ ।