arrow

पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
Gaindakot nagarpalika.jpg

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बसोबास गर्दै आएको नेवार समुदायले स्थानीय पाठ्यक्रममा आफ्नो कला र संस्कृति समावेश गर्न माग गरेको छ । 

नगरपालिकाको कूल जनसङ्ख्याको करिब २० प्रतिशत नेवारी समुदायको रहेकाले स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न उनीहरुले माग गरेका हुन् । 

नगरपालिकाले कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । तर त्यसमा नेवारी कला र संस्कृति समावेश नगरिएको नेवाः पुचः गैँडाकोटका सल्लाहकार अमृत श्रेष्ठले बताए । 

“प्राथमिक तहको शिक्षा मातृभाषामा पढ्न पाउने गरी सरकारले ऐन बनाएको छ । तर, गैँडाकोटमा १० हजारभन्दा बढी जनसङ्ख्या रहेको नेवार समुदायको कला र संस्कृति समावेश गरिएको छैन” उनले भने । 

नेवारी संस्कृतिबारे ज्ञान नयाँ पुस्ताले विद्यालय तहबाटै थाहा पाउन जरुरी भएकाले स्थानीय पाठ्यक्रममा नेवारी संस्कृति झल्किने विषयवस्तु समावेश हुनुपर्ने नेवाः पुचः गैँडाकोटका अध्यक्ष भोजराज श्रेष्ठको भनाइ छ । 

नेवार समुदायले मुख्यगरी नेपाल संवत्, महः पूजा, रोपाइँ जात्रा, बेल विवाह, यमोरी पुन्ही, लाखे जात्रा, गाई जात्रा, बाघ जात्रालगायत मनाउने गरेका छन् ।

“ठाउँ अनुसार नेवार समुदायको कला, संस्कृति र भाषामा विविधता छ” उनले भने, “नेवार समुदायले मनाउने कूल पूजाको आधारमा जात्रा र पर्व मनाउने गर्छन् । धेरै पर्व साझा पर्वका रुपमा मनाइन्छन् ।” 

नेवारी कला र संस्कृतिलाई पुस्तान्तरण गर्नका लागि पनि नयाँ पुस्तालाई यसबारेमा जानकारी दिन स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । 

गैँडाकोटका नेवार समुदाय कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि एकजुट भएर अगाडि बढेका छन् । 

यही कात्तिक २८ गते यस समुदायले गैँडाकोटमा नेपाल सम्वत् ११४४ न्युँ दँया भिन्तुना तथा महः पूजा गर्दैछ । 

गैँडाकोटको नारायणी नदी किनारमा भेला भएर र्‍यालीसहित अमरापुरी पुगेर नेपाल संवत्को कार्यक्रम तथा सोही दिन बेलुकी महः पूजा गरिने अध्यक्ष श्रेष्ठले बताए । 

आफ्नो आत्मा (शरीर)को पूजा गर्ने दिन भएकाले लक्ष्मी पूजाको भोलिपल्ट नेवार समुदायले महः पूजा गर्ने भन्दै उनले आत्मा शुद्ध भएपछि मात्रै सबै कुरा शुद्ध र राम्रो हुने बताए । 

महः पूजाका लागि ओखर, बिमिरो, मखमलीको फूल, धानको लाभाको माला, जजङ्कार (जनै जस्तै सामग्री) लगायतका सामग्री आवश्यक पर्छ । 

महः पूजामा महिलाको प्रमुख भूमिका हुन्छ । नेवाः मिसा दबुः गैँडाकोट नगर समिति अध्यक्ष एवं गैँडाकोट-२ की महिला वडा सदस्य सीता श्रेष्ठले विगतमा भन्दा अहिले स्थानीय तहले जातजातिको कला र संस्कृतिका लागि बजेट विनियोजन गर्ने गरेको बताए । 

स्थानीय तहले कला र संस्कृति संरक्षणमा अभिभावकको भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ । 

गैँडाकोट नगरपालिकाको कुल जनसङ्ख्या ५८ हजार छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ