arrow

२७ गतेसम्म पनि कुरा मिलेन भने समानन्तर कमिटि गठन गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
tarun-news-kartik.jpeg
काठमाडौं। नेपाल तरुण दल असन्तुष्ट पक्षले संस्थापन पक्षले एकलौटी ढंगले यही कार्तिक २७, २८, २९ गते चौथो महाधिवेशनको मिति तय गरेको भन्दै असन्तुष्ट पक्षले आफूहरुले उठाएका कुराहरु सम्बोधन नभए समानन्तर समिति गठन गर्ने चेतावनी दिएको छ। 
 
शनिबार पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षहरुले ७५ वटै जिल्लाहरुको अधिवेशन विधिसम्मत ढंगले सम्पन्न गरेर मात्रै महाधिवेशन गर्नुपर्ने माग गरेको हो। 
 
पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका बरिष्ठ केन्द्रिय सदस्य रमेश खरेलले चौथो महाधिवेशन एकताको महाधिवेशन भएकोले सबै तरुणहरुको भावनालाई समेट्नेगरि महाधिवेशन गर्नुपर्ने माग गरे। उनले अघि भने,‘महाधिवशेन पाँच पटक मिति तोक्दै स्थगित् गर्ने काम गरिएको छ, एकलौटि ढंगले महाधिवेशन गर्ने चेष्टा गरिए त्यो हामी कुनै हालतमा मान्दैनौं।’
 
उनले वर्तमान अध्यक्ष उदयशमशेर राणाले पोखरामा लुकेर पत्रकार सम्मेलन गर्दै महाधिवेशनको नयाँ मिति तोकेकोमा कडा आक्रोश पोख्दै एकलौटी ढंगले महाधिवेशन गरेर आफूहरु त्यसलाई बहिष्कार गर्दै देशव्यापी रुपमा समानन्तर कमिटि गठन गर्ने चेतावी दिएका हुन्।
 
त्यस्तै कार्यक्रममा विधान तथा प्रचारप्रसार समितिका संयोजक मेदनी सिटौलाले वर्तमान नेतृत्वले आफूहरुलाई महाधिवेशन नै नचाहेको जसरी चित्रण गरेको उल्लेख गर्दै भने,‘हामी विधिवत महाधिवशेनको पक्षपाती हौं, तर यहाँ वर्तमान नेतृत्वले हामीलाई विरोधी जसरी चित्रण गरिरहेको छ, यसमा हाम्रो घोर आपत्ति छ।’
 
सिटौलाले संस्थापन पक्षले ६८ जिल्लाको अधिवेशन भएको दाबी गरेपनि अहिलेसम्म ६५ वटा जिल्लाको मात्रै अधिवेशन भएको बताए। उनले अघि भने, ‘अझैपनि १५ वटा जिल्लामा विधिवत अधिवेशन हुन सकेको छैन्।’ उनले संस्थापन पक्षले जबरजस्ती पेलेरै महाधिवेशन गर्ने हो भने आफूहरु त्यसको विरोध गर्दै जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए। सिटौलाले आफूहरु शरिरमा एक थोपा रगत हुञ्जेलसम्म पनि विधिको लागि लडिरहने बताए। 
 
कार्यक्रममा बरिष्ठ नेता एवम् पूर्व अध्यक्ष विनोद कायस्थले तरुण दल अहिलेपनि जनताको आस्थाको केन्द्र भएको भन्दै निरंकुशता हावी भए त्यसलाई कुनै हालतमा नमान्ने बताए। उनले एउटा पक्षले अर्को पक्षलाई पेलेर जाने हो भने त्यसले संगठनलाई दिर्घकालिन असर पर्ने बताए।
 
त्यस्तै कार्यक्रममा केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले पनि आफूहरु विधिवत महाधिवेशनको पक्षमा रहेको भन्दै विधि र प्रक्रियालाई मिचेर संस्थापन पक्ष एकलौटि ढंगले अघि बढे सशक्त प्रतिकार गर्ने र देशव्यापी रुपमा समानन्तर समिति बनाउने चेतावनी दिईन्।
 
असन्तुष्ट पक्षहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न जिल्लामा चरम विवाद रहेको, हालसम्म दलको विधानको टुंगो नलागेको र महाधिवेशन पोखरामै सम्पन्न गर्ने कुरा समेत आफूहरुसँग सरसल्लाह नगरी पार्टीको निर्देशन समितिको वैठक समेत नवसी एक पक्षिय ढंगले वर्तमान अध्यक्षले पत्रकार सम्मेलन गरेको वुझिन आएकोले हाम्रो ध्यान आकृष्ट भई गम्भिर आपत्ती प्रकट गर्न चाहन्छौ।’
 
विज्ञप्तीमा थप भनिएको छ, ‘नेपाल तरुण दल अध्यक्षले भक्क्तपुर ,धनुषा र सप्तरीमा एकपक्षीय ढंगबाट सदस्यता वितरण गरेको, धादिङ्ग, उदयपुर, बाँके, बझाङ्ग, रुपन्देही सुर्खेत, पर्सा सर्लाही जबरजस्ती एक पक्षीय ढंगले सदस्यता वितरण गरेकोमा हाम्रो गम्भिर ध्यानकार्षण छ।’
 
करिब एक दशक पछी हुन लागेको यस महाधिवेशनमा सम्पूर्ण तरुण साथीहरुको सकृय सहभागिता विना ७५ जिल्लाको अधिवेशन विधान सम्मत् नगराइ १५ वटा जिल्लालाई र २ नम्बर प्रदेशका अधिकांस जिल्लालाई महाधिवेशनमा सहभागी हुन पाउने अधिकार बाट बञ्चित गरेर संगठन कब्जा गर्ने नियत संस्थापन पक्षले देखाएकोमा समेत असन्तुष्टहरुले आरोप लगाएका छन्।
 
विज्ञप्तीमा थप भनिएको छ,‘समस्यालाई यथावत राखी पटक पटक महाधिवेशनको नाटक मञ्चन गरिएकोले वर्तमान नेतृत्व महाधिवेशन नगराउने तिर उधत्त रहेको हाम्रो ठहर छ। गत भदौ २४, २५, २६ र असोज ३, ४, ५ मा जुन कारणले महाधिवेशन स्थगीत भएको थियो तिनै कारणहरु ज्युका त्यू राखेर यथास्थीतिमा एकपक्षीय महाधिवेशन गर्न खोजीए हामी कठोर कदम उठाउन बाध्य हुनेछौ। त्यसको सम्पूर्ण जिम्मेवारी वर्तमान तरुण अध्यक्ष र निर्देशन समिति साथै पार्टी सभापतीले लिनु पर्नेछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ