arrow

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको सुनुवाई जारी, बिना प्रमाण थुनेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
nakkali-bhutani-sharanarthi-16-aaropi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका अभियोगीहरुको मंगलबारबाट निरन्तर सुनुवाई भइरहेको छ । 

लामो समयदेखि रोकिएको सुनुवाई पाटन उच्च अदालतमा शुरु भएको हो । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलाशमा सुनुवाई  भैरहेको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्रप्रसाद कट्टेलले जानकारी दिए । 

पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीहरुसहित अभियोगीहरुको सुनुवाई शुरु भएको हो । नेकपा एमालेका तत्कालीन सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित पुर्पक्षका लागि जेल चलान भएकाहरुको हकमा मंगलबारदेखि लगातार सुनुवाई भैरहेको पनि रजिष्टार कट्टेलले जानकारी दिए । 

बुधबार सानु भण्डारी, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जनको तर्फबाट बहस सकिएको छ । उनीहरुको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शरद कोइराला र विनोद शर्माले बहस गरेका थिए । 

मंगलबार पनि वरिष्ठ अधिवक्ता श्रेष्ठले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको तर्फबाट बहस पैरवी गरेका थिए । पाण्डेको बहसमा पनि उनले स्पष्ट प्रमाण कारण नभएको जिकिर गरेका थिए । 

बुधबार सानु भण्डारीको पक्षमा बहस गरेका श्रेष्ठले बिना प्रमाण थुनेको, पैसासमेत बरामद नभएको अवस्था भण्डारीलाई थुनेर राज्यले अन्याय गरेको बताएका थिए । 

उनले अनुसन्धान नै अपूरो भएको भन्दै अघिल्लो सरकारकै निर्णयलाई पछिल्लो सरकारले कार्यान्वयन गर्दा भण्डारीलाई अन्याय भएको जिकिर गरेका थिए । उनले अघिल्लो सरकारमा सहभागी गृहमन्त्री प्रशासनलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने जिकिर गरेका थिए । 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई थुनामा रहेका छन् । 

त्यस्तै हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी र रायमाझीका छोरा सन्दीप रायमाझी, बिचौलीका रूपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, रामशरण केसी र हरिभक्त महर्जन पनि जेल चलान भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ