arrow

कपिलवस्तु सामुदायिक डायलासिस सेन्टरः दश मेसिन प्रयोगविहीन, मृर्गौला पीडितलाई सास्ती

logo
नारायण वली,
प्रकाशित २०८० मंसिर १२ मंगलबार
kapibastu dyilasis.jpg

लुम्बिनी । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.४ जितपुर (४ नम्बर) मा कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर निर्माण गरिएको वर्षौँ भयो । अत्याधुनिक दश ओटा मेसिनसमेत जडान गरिसकिएको सेन्टर प्रयोगमा आउन सकेको छैन ।

बुटवलदेखि पश्चिम क्षेत्र कपिलवस्तु, अर्घाखाँची, प्यूठान लगायतका मृर्गौला पीडित बिरामीहरुलाई डायलाइसिस गराउन निकै कठिन पर्दै आइरहेका बेला डायलासिस गराउन बुटवल आउनुपर्ने बाध्यतालाई अन्त्य गरी सहज सेवा दिने उद्देश्यले कपिलवस्तुमा खोलिएको डायलासिस सेन्टर प्रयोगमा नआउँदा मृर्गौला पीडितहरुले सास्ती खेप्दै आउनु परेको छ । 

रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा, कपिलवस्तुस्थित जेसिस परिसरमा स्थापना गरिएको डायलासिस सेन्टरमा ६ महिनाअघि १० वटा मेशिन जडान गरिए पनि स्वास्थ्य विभागले सूचीकृत नगरिदिँदा मृर्गौला पीडितहरुलाई दिने भनिएको निःशुल्क सेवा प्रभावित बन्न पुगेको छ । डायलाइसिस गराउन बुटवल आउनुपर्ने सास्तीबाट मुक्ति पाउन नसकेको वाणगंगा जितपुरका मोती आचार्यको दुःखेसो छ ।

उनी भन्छन्, 'हप्तामा ३ दिन बुटवल आउनुपर्छ । यसरी धाउन थालेको ९ वर्ष बित्यो । हप्ताको ७ दिन आवतजावतमै बित्छ । निःशुल्क सेवा पाए पनि आउने जाने र खानेमा लाग्ने पैसा जोहो गर्नेमै गाह्रो परेको छ ।'

बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डायलाइसिस गराउन आचार्य मात्रै होइन, कपिलवस्तुबाट एक दर्जनभन्दा धेरै मृर्गौला पीडितहरु धाउने गर्दछन् । डायलासिस सेन्टर स्थापना भएको खबरले हर्षित भएका गुल्मी र अर्घाखाँचीका कतिपय बिरामीहरु कपिलवस्तुस्थित रहेका आफ्ना आफन्तहरु कहाँ आएर बस्न शुरु गरे पनि निराश भएका छन् ।

सोही पीडितमध्येका एक हुन् गुल्मीका नरबहादुर विक । उनी बाणगंगा बसेर बुटवलमा डायलासिस गराउँदै छन् । बुटवलमा डेरा लिएर डेढ वर्षदेखि डायलाइसिस गर्दै आएका विक सहजताका लागि बाणगंगा सरेका थिए ।

“जितपुरमै डायलाइसिस सेन्टर स्थापना भएपछि बुटवलमा डेरामा बस्नुभन्दा बाणगंगामा छोरीको घर भएकाले उतै बस्छु भनेर गए । सेन्टर सञ्चालनमा आएन, अन्ततः करिब ३५ किलोमिटर टाढाबाट आउनुपर्छ, सुस्केरा हाल्दै भने, कहिलेकाहिँ गाडी भाडासमेत हुँदैन ।” हप्ताको सोमबार, बिहीबार र शनिबार डायलाइसिसका लागि बुटवल आउनुपर्छ ।

उक्त दिन बिहान ७ बजे घरबाट हिँड्नुपर्छ ९ बजे अस्पताल आइपुगे पनि डायलाइसिस गरेर घर फर्किदा साँझै पर्छ, पीडितहरुको गुनासो हो यो । निःशुल्क भनेर के गर्नु एकपटक जाँदा करिब २ हजारसम्म खर्च हुन्छ । स्वास्थ्य सेवा विभागले सूचीकृत गर्न ढिलाइ गर्दा मृर्गौलाबाट पीडित बनेकाहरु थप पीडित बन्न पुगेको स्थानीय सरोकारवालाहरुको भनाइ छ । 

‘प्रदेश स्वास्थ्य मन्त्रालयले गत जेठ महिनामै सञ्चालन अनुमति दिए पनि स्वास्थ्य विभाग काठमाडौंको ढिलासुस्तीका कारण सूचीकृत गर्न ढिलाई हुँदै आएको डायलासिस सेन्टर स्थापना गर्न ठूलो भूमिका खेलेका लुम्बिनी प्रदेश सभा सांसद एवं पूर्वप्रदेश स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले बताए ।

सरकारले स्वास्थ्य सेवा विभागमा सूचीकृत भएका सरकारी, सामुदायिक तथा कतिपय निजी अस्पताल र मेडिकल कलेजहरुलाई एकजना बिरामीको एकपटक डायलाइसिस गराएबापत दुईजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

यता गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले पनि डायलासिस सेन्टर सञ्चालनका लागि प्रदेश स्वास्थ्य मन्त्रालयबाट अनुमति पाए पनि स्वास्थ्य सेवा विभागले सूचीकृत गर्न वास्ता नगरेकाले बिरामीहरुले हैरानी ब्यहोर्नु परेको जनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ