arrow

भ्रष्टाचारविरुद्ध निर्णायक कदम नचाल्नु असफल राष्ट्रको पूर्व संकेत – टीआई नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
transparency-international-nepal-logo.jpg

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले मुलुकमा निरन्तर बढ्दै गएको भ्रष्टाचार, अवैध सम्पत्तिको ब्यापक चलखेल, दण्डहीनता र कुशासनले देशलाई जर्जर बनाउँदै लगी असफल राष्ट्र बनाउन सक्नेतर्फ बारम्बार ध्यानाकर्षण गराए पनि जिम्मेवारी लिएर बसेका कुनै पनि पक्षले यिनका विरुद्ध प्रभावकारी एवं परिणाममुखी कार्य गर्न तत्परता नदेखाएको आरोप लगाएको छ । 

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९) को पूर्वसन्ध्यामा टीआई नेपालले वक्तव्य जारी गर्दै भ्रष्टाचारको विषयमा जिम्मेवार निकायले गम्भीरता आत्मसात् गर्न नसकेको वा नचाहेको महसुस हुन थालेकोसमेत बताएको छ । 

टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले जारी गरेको वक्तव्यमा देशलाई खोक्रो बनाउँदै लगेका गम्भीर विकृतिहरू निर्मूल गर्न निर्णायक कदम नचालिएसम्म जतिसुकै चर्का नारा, ठूला भाषण र छिनमै सेलाउने मौसमी तत्परताको कुनै अर्थ नरहने उल्लेख छ । 

दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेहरु बीचको सीमारेखा धमिलिँर्दै गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट्रको टड्कारो पूर्वसंकेत हो भन्ने तथ्यलाई समेत उपेक्षा गर्न नसकिने पनि उल्लेख गरिएको छ । 

टीआईले निरन्तर खस्कँदो अर्थतन्त्रलाई गति दिनसमेत भ्रष्टाचार र कुशासनको अन्त्य गरी मुलुकलाई सदाचार र सुशासनको बाटोमा अघि बढाउनु जरूरी रहेको बताएको छ । 

टीआईले शनिबार भ्रष्टाचारको विरोधमा सन्देशमूलक कार्यक्रमसमेत गर्ने भएको छ । उसले भनेको छ, 'संयुक्त राष्ट्रसंघद्वारा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरिएको डिसेम्बर ९ को दिनलाई हरेक वर्ष विश्वभरि नै भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाइने गरिएको छ । विगत २८ वर्षदेखि भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनमा सक्रिय यस संस्थाले उक्त दिवसको अवसरमा यस वर्ष भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनका विषयमा आम नागरिक र सरोकारवालाहरूमाझ सन्देशप्रवाह गर्ने उद्देश्यले २०८० मंसिर २३ गते शनिबार बिहान ११.३० बजेदेखि अपरान्ह १ बजेसम्म काठमाडौं महानगरपालिका वडा नं. ८ गौशाला चोकमा भ्रष्टाचार विरोधी सन्देशमूलक प्लेकार्डसहित उपस्थिति हुने कार्यक्रम आयोजना गरेको जानकारी गराउँदछौँ ।'

यस्तो छ टीआईको वक्तव्य–

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९) का सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको वक्तव्य
 
मुलुकमा निरन्तर बढ्दै गएको भ्रष्टाचार, अवैध सम्पत्तिको ब्यापक चलखेल, दण्डहीनता र कुशासनले देशलाई जर्जर बनाउँदै लगी असफल राष्ट्र बनाउन सक्नेतर्फ टीआई नेपालले स्पष्ट शब्दमा संसद, सरकार र मुलुकका सबै राजनीतिक दलको बारम्बार ध्यानाकर्षण गराउँदै आएको हो । तथापि मुलुकको जिम्मेवारी लिएर बसेका कुनै पनि पक्षले यिनका विरुद्ध प्रभावकारी एवं परिणाममुखी कार्य गर्न तत्परता नदेखाएकोमा विषयको गम्भीरता आत्मसात् गर्न नसकेको वा नचाहेको महसूस हुन थालेको छ । देशलाई खोक्रो बनाउँदै लगेका गम्भीर विकृतिहरू निर्मूल गर्न निर्णायक कदम नचालिएसम्म जतिसुकै चर्का नारा, ठूला भाषण र छिनमै सेलाउने मौसमी तत्परताको कुनै अर्थ नरहने सर्वविदितै छ । दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेहरु बीचको सीमारेखा धमिलिदैं गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट्रको टड्कारो पूर्वसंकेत हो भन्ने तथ्यलाई समेत उपेक्षा गर्न सकिंदैन ।

यस परिप्रेक्ष्यमा, अवैध तरीकाले आर्जित धनलाई स्वतः वैध तुल्याउने बाटो खोल्ने, व्यक्ति र समूहविशेषको निहित स्वार्थ–पोषणप्रति अभिलक्षित निर्णयलाई नीतिगत निर्णयको नाम दिएर छानबीनको दायराभन्दा बाहिर राख्ने, ठूला भ्रष्टाचारका मुद्दाहरूमा कारवाही नै नचल्ने र चले पनि तिनमा संलग्न उच्चपदस्थहरूले उन्मुक्ति पाउने, राष्ट्रिय ढुकुटीको रकम अनुत्पादक कार्यमा खर्च गर्ने असंख्य गल्छेडा खोल्दै जाने, पर्याप्त आम्दानीको कुनै दृश्य स्रोत नभएका सार्वजनिक व्यक्तिहरूको विलासितापूर्ण जीवन र अकूत सम्पत्तिको कहिल्यै छानबीन नहुने, अदालतले जघन्य फौजदारी अपराधमा दोषी ठह¥याएका व्यक्तिहरूको सजाय मिनाहा गर्ने जस्ता मुलुकको कानून, न्यायप्रणाली र लोकलाज समेतलाई उपेक्षा गर्ने कृत्यहरूको अन्तहीन श्रृंखला तत्काल बन्द गर्न टीआई नेपाल संसद, सरकार र सबै राजनीतिक दलहरूको पुनः गम्भीर ध्यानाकर्षण गर्दछ । निरन्तर खस्कँदो अर्थतन्त्रलाई गति दिन समेत भ्रष्टाचार र कुशासनको अन्त्य गरी मुलुकलाई सदाचार र सुशासनको बाटोमा अघि बढाउनु जरूरी छ भन्ने टीआई नेपालको मान्यता रहेको छ ।

पद्मिनी प्रधानाङ्ग
अध्यक्ष



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ