- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बिर्सनयोग्य प्रदर्शन गरेको छ । नेपालले समूह चरणमा खेलेका सबै खेलमा कमजोर प्रदर्शनसहित पराजित हुँदै बाहिरिएको छ ।
समूहको अन्तिम खेलमा मंगलबार नेपाल भारतसँग १० विकेटले पराजित भयो । ५३ रनको झिनो चुनौती भारतले ७.१ ओभरमै कुनै विकेट नगुमाइ पूरा गर्यो ।
यसअघि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै लज्जास्पद प्रदर्शन गर्ने क्रममा ५२ रनमा अलआउट भएको थियो । नेपालले २२.२ ओभर खेलेर ५२ रन बनाएको हो ।
नेपालका लागि कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गरेनन् । सबैभन्दा बढी अतिरिक्तका रुपमा १३ रन आएको थियो ।
भारतका लागि राज लिम्बानीले १३ रन खर्चेर ७ तथा आराध्य शुक्लाले २ विकेट लिए ।
यसअघिका दुवै खेल हारेको नेपाल सेमिफाइनल होडबाट भने बाहिरिएको थियो ।
पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा आइतबार अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
अफगानिस्तानसँगको खेल
नेपालले २६२ रनको चुनौती पछ्याउने क्रममा ४०.१ ओभरमा अलआउट हुँदै १८८ रनमा समेटियो । नेपालका लागि ओपनर अर्जुन कुमालको मात्र ब्याटिङ चलेको थियो ।
उनले १०८ बलमा ९१ रन बनाए पनि अन्य कोही ब्याटरले साझेदारी नगरेपछि नेपाल सहजै पराजित भयो । कप्तान देव खनालले २४ रन बनाएका थिए ।
चार खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । अफगानिस्ताका फरिदून दाउदजाई र नसिर खान मारुफखिलले ३–३ विकेट लिए ।
यसअघि खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै अफगानिस्तानलाई ४९.३ ओभरमा २६१ रनमा रनमा रोकेको थियो ।
अफगानिस्तानका जम्शेद जर्दानले रिटायर्ड आउट हुनुपूर्व १५३ बलमा १०६ रन जोडे । त्यस्तै मुनमान शाहले ४१ बलमा ६० रन बनाए ।
नेपालका लागि गुल्सन झा, सुवाश भण्डारी र हेमन्त धामीले २–२ तथा आकाश चन्द र दिपेश कडेलले १–१ विकेट लिए ।
पाकिस्तानसँगको खेल
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटको हार बेहोर्यो ।
नेपालले १५३ रनको सामान्य चुनौती दिएकामा पाकिस्तानले २६.२ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो ।
ग्रुप अफ डेथमा रहेको समूह ए मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान रहेकामा भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।
८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।
दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यो टिम भोलिको सिनियर टिम पनि भएको हुनाले यू–१९ टिमलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।
तर नेपालले यसपालि भने बिर्सनयोग्य प्रदर्शन गरेको छ ।