arrow

‘विद्वान् सर्वत्र पूज्यते’ भन्दै राष्ट्रपतिले दीक्षित विद्यार्थीलाई गरे यस्तो आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
ramchandra-poudel-tu-convocation.jpeg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरू राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडिरहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको उनान्चासौँ दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि नेपालीले गर्नपरिरहेको बताए । 

उनले भने, ‘शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ । देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाईहामीहरूले नै गर्नुपरेको छ ।’ 

राष्ट्रपति पौडेलले समावेशी विशेषतायुक्त अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको बताए । 

पौडेलले भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त हाम्रो नेपाली समाजको एकताका लागि अहिलेको संविधान र यो व्यवस्था अत्यन्तै महत्त्वपूर्ण पक्ष हो भनेर हामीले बुझ्न जरुरी रहेको स्पष्ट पारे । 

उनले भने, ‘तपाईहरूलाई पनि जानकारी भएकै हो कि लिग अफ नेसन्सको असफलतापछि संयुक्त राष्ट्रसंघको जन्म भयो । द्वितीय विश्वयुद्धको समाप्तिपश्चात् व्यवहारमा आएको संयुक्त राष्ट्रसंघले आज ७८ वर्ष पूरा गरेको छ । विश्वमा शान्ति स्थापना गर्ने र साना मुलुकका समस्यालाई मुखरित गर्ने यस संस्थाको योगदानलाई हामी कति पनि अवमूल्यन गर्न सक्दैनौँ । तथापि यताका दशकहरू अस्थिरता र द्वन्द्वउन्मुख देखिन्छन् । यस्तो सांसारिक पृष्ठभूमिमा हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ ।’ 

उहाँले राष्ट्र निर्माण र राष्ट्रिय समृद्धिका लागि उच्च शिक्षाको जननीका रूपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरूको अहम् भूमिका रहने कुरा निर्विवाद रहेको बताउँदै कुनै पनि राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा मात्र निर्भर नभई त्यसको समुचित परिचालनका लागि आवश्यक ज्ञान, सीप, प्रविधिको विकास र प्राप्तिमा निर्भर पर्ने उल्लेख गरे ।  

ज्ञान, सीप, प्रविधिको विकासलाई प्रभावकारी, जीवनोपयोगी र मुलुकका लागि उपलब्धिमूलक बनाउन त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने उच्चशिक्षा समयसापेक्ष, बजारमुखी र विश्व बजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समय सापेक्ष नीति अँगाल्नु जरुरी रहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय सत्चरित्र निर्माणका माध्यमबाट राष्ट्र निर्माण र राष्ट्रहितप्रति समर्पित भई उपलब्धि हासिल गर्नुमा नै यो जेष्ठ विश्वविद्यालयको स्थापना, यसमा सञ्चालित प्राध्यापन र अध्ययनको औचित्य पुष्टि हुने बताए । 

उनले भने, ‘नालन्दादेखि शुरु भई हालसम्मका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी र कर्मचारीका सामुन्ने हामीले हासिल गरेको ज्ञान–प्रज्ञान, कला–कौशल, सीप र क्षमताबाट हामीले लघुताबोध गर्नु हुँदैन भन्ने मेरो मान्यता छ । राष्ट्रिय सत्चरित्र निर्माणका माध्यमबाट राष्ट्र निर्माण र राष्ट्रहितप्रति समर्पित भई उपलब्धि हासिल गर्नुमा नै यस जेष्ठ विश्वविद्यालयको स्थापना, यसमा सञ्चालित प्राध्यापन र अध्ययनको औचित्य पुष्टि हुन्छ । ‘विद्वान् सर्वत्र पूज्यते एवम् अप्प दीपो भवः को भावबाट प्रवृत्त भई गरिने हरेक कर्मबाट सिर्जित प्रतिफल नै अध्ययनअध्यापनको मूल सार हो ।’ 

राष्ट्रपति पौडेलले वर्तमान युगमा शिक्षा बिनाको समाजको कल्पना पनि गर्न नसकिने भन्दै शिक्षा विकासका लागि पर्याप्त नभए पनि नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको स्पष्ट पारे । 

उनले भने, ‘नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेका कारण र तपाईहरूको परिश्रमसमेतका कारण आज तपाईहरू यो स्थानमा हुनुहुन्छ । तपाईहरूमा हाम्रो मुलुकको भाग्य र भविष्य जोडिएको छ । राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । यसर्थ यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व र केही कर्तव्य छ । यो दायित्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरू चुक्नु हुने छैन भन्नेमा म आशावादी छु । साथै, तपाईहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुनेछ र एउटा सक्षम, सबल तथा समृद्ध राष्ट्र निर्माणका लागि आज दीक्षित हुने तपाईँ छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेमा म विश्वस्त छु ।’ 

उनले नेपाल यस क्षेत्रमा सभ्यता र संस्कृतिको सङ्गमस्थलका रूपमा रहेको बताउँदै भने, ‘यो हाम्रा लागि अवसरका साथै शक्ति पनि हो । बुद्ध र सीताको यस पवित्र भूमिलाई विश्वमा चिनाउने अवसर पनि हो ।’ 

उनले नेपालको अन्तर्राष्ट्रिय पहिचान र यस क्षेत्रमै जलवायुलाई स्थिर राख्ने कार्य नेपालका उच्च पहाड, खासगरी सगरमाथाले गरेको स्पष्ट पार्दै राष्ट्रपति पौडेलले भने –‘तर विश्वको बढ्दो तापमानले गर्दा हाम्रो सभ्यताको प्रतीक हिमशिखर र सगरमाथा कालो पहाडका रूपमा परिणत हुँदैछन् भने जैवीकीय विविधता पनि नासिदैछन् ।  यसै सन्दर्भमा नेपाल सरकारले पेरिस सम्झौता २०१५ साथै २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्य तहमा झार्ने प्रतिबद्धता राखेको छ । यसप्रति तपाई हामी सबैको चासो र चिन्ता रहिरहन आवश्यक छ ।’ 

राष्ट्रपति पौडेलले विद्यार्थीका लागि आजको दिन अविस्मरणीय रहने भन्दै यस्तो दिन पटकपटक पुनरावृत्ति नहुने बताए । उनले भने, ‘आज तपाईहरूको अनुहारमा मैले नेपालको सुन्दर अनुहार प्रतिबिम्बित भइरहेको पाएको छु । तपाईहरू आफूले प्राप्त गरेको ज्ञान, सीप र दक्षता बोकेर उत्पादनशील कार्यका लागि जाँदै हुनुहुन्छ । भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईहरूकै हातमा छ । देशबाट मैले के पाएँ भन्दा पनि मैले देशलाई के दिएँ, के दिँदै छु वा भविष्यमा के योगदान गर्न सक्छु भन्ने कुराको सकारात्मक सोच तपाईँहामीमा आउन सकोस् । आजको पवित्र दिनले हामीलाई देश र जनताप्रति समर्पित हुने भाव प्रदान गर्न प्रेरित गरोस्, म यही कामना गर्दछु ।’  

पौडेलले अहिलेको प्रतिस्पर्धात्मक पर्यावरणमा विद्यार्थीहरूले बेहोर्नुपरेको चुनौतीप्रति पनि राष्ट्र अनभिज्ञ  नभएको भन्दै भने, ‘एकातिर पढाइमा अब्बल बन्नुपर्ने दबाब अभिभावक र समाजबाट हुन्छ भने अर्कोतर्फ आकर्षक रोजगारी पाइन्छ कि पाइन्न भन्ने चिन्ता पनि रहिरहन्छ । यस प्रकारको अवस्थाले तपाईहरुमा मानसिक तनाव पर्नेगर्दछन् । यस्तो अवस्थाको अन्त्य अत्यन्तै आवश्यक छ भन्ने मलाई लाग्दछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ