काठमाडौं । अमेरिकाको ४५ औं राष्ट्रपतिको लागि भएको आम निर्वाचनमा डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई पराजित गर्दै विश्व शक्तिराष्ट्रको शक्तिशाली कार्यकारी प्रमुखको रूपमा आफ्नो नाम दर्ता गराएका छन् । नेपाली समय अनुसार नोभेम्बर ९ तारिकको मध्याह्नमा सार्वजनिक भएको मतपरिणाम पछि ट्रम्पलाई विजयी घोषणा गरिएको हो । ट्रम्पले कुल ५ सय ३८ इलेक्ट्रोल भोट मध्ये २ सय ७६ र हिलारीले २ सय १८ इलेक्ट्रोरल भोट पाईन् । अमेरिकामा राष्ट्रपति बन्नकोलागि कुल इलेक्ट्रोरल भोटमध्ये २ सय ७० भोटको पाउनु पर्छ ।
बुधबार राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्प उम्मेदवारी घोषणा गर्नुपूर्वदेखि नै आफैंमा एक जना विवादित उम्मेदवार थिए । राष्ट्रपति निर्वाचनको लागि भएको दोस्रो बहसको क्रममा उनीमाथि एउटा गम्भीर आरोप लाग्यो, त्यो थियो ‘टेप काण्ड’ । ट्रम्पले सन् १९९५ मा महिलाहरुको एउटा समूहलाई अपशब्द प्रयोग गरेको टेप उक्त बहसको क्रममा त्यहाँ सार्वजनिक भएपछि उनलाई राष्ट्रपतिको दौडबाट पछि हट्न झण्डै एक दर्जन सिनेटरले आग्रह गरे । तर, उनले आफ्ना समर्थकहरुलाई निराश पार्न नचाहेको प्रतिक्रिया दिए र त्यसलाई त्यति ठूलो समस्या मानेनन् । त्यो आरोप लागेको थियो अक्टोबर ९ तारिकमा ।
उक्त आरोप लागेको ९ दिन पछि अक्टोबर १८ तारिकमा उनी विरूद्ध यौन दूराचारको अर्काे आरोप लाग्यो । त्यति हुँदासम्म पनि उनले सबै आरोप मित्थ्या रहेको घोषणा गर्न पछि परेनन् र राष्ट्रपतिको निर्वाचनको चुनावी प्रचारमा पनि सक्रिय भई नै रहे ।
ट्रम्प पछि आरोपित हुने पालो आयो हिलारी क्लिन्टनको । हिलारीले अमेरिकामा विदेशमन्त्री हुँदा गरेका शंकास्पद इमेलमाथि दोस्रो पटक छानबिन सुरु गरेको संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले जानकारी दिएपछि भने अमेरिकी निर्वाचनको सर्भेक्षण मत परिणामले समेत कोल्टे फेर्याे ।
निर्वाचनको १० दिन पहिले आएको यस्तो अभिव्यक्तिले १० प्रतिशतको हाराहारीमा अग्रता कायम गरेकी हिलारीको अग्रतामा उच्च गिरावट मात्रै आएन उनी आफ्ना प्रतिद्वन्द्वी ट्रम्प भन्दापनि पछि परिन् । त्यही इमेल काण्डको प्रभाव होला या नहोला त्यो अमेरिकी जनताले नै कुनै समय प्रतिक्रिया देलान् । तर, करोडौंको संख्यामा विपक्षमा रहेका अमेरिकी जनता र सयौं संख्यामा रहेका अमेरिकी तथा गैर अमेरिकी आमसञ्चारमाध्यमको सेखी झार्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिको रूपमा निर्वाचित भए । निर्वाचनको अन्तिम ३ दिन बाँकी हुँदा हिलारीलाई एफबिआईले सफाई त दियो । सुरक्षा संवेदनशीलतामा गम्भीर रहेका अमेरिकी नागरिकले यस पटकको एफबिआईको घोषणा स्वीकारेनन् या पत्याएनन् परिणाम ट्रम्पकै पक्षमा गयो ।
ट्रम्पलाई विश्वका धेरै आमसञ्चार माध्यमले विश्वास गर्न नसक्नुको मुख्य कारण हो उनको अभिव्यक्ति । आफ्ना प्रतिद्वन्द्वीलाई जेलआल्नेदेखि सबै आप्रबासीलाई देशनिकाला गर्नेसम्मको उनको घोषणाले पनि धेरै मान्छे उनीप्रति सशंकित बन्न पुगे । त्यस्तै, युरोपियन युनियनबाट ब्रिटेन छुट्टिने कुराको स्वागत, रूससँग सहकार्य गर्ने अभिव्यक्ति लगायतका उनका धेरै घोषणाले पनि बेलायत लगायतका मुलुकहरूको आमसञ्चार र राज्य नै पनि उनीप्रति सशंकित रहेको छ ।
अहिलेको राष्ट्रपतीय निर्वाचनमा अमेरिकामा देखिएको आमसञ्चारको विषयबस्तु र यसको आगामी प्रभावलाई हेर्दा अमेरिकामा नै २०औं शताब्दीको एउटा घटना स्मरणीय रहेको छ । अमेरिकाको राष्ट्रपतीय निर्वानमा नै सन् १९७२ मा एउटा काण्ड घट्यो । अमेरिकामा जुन काण्ड वाटरगेट काण्डको नामबाट चर्चित रहेको छ । त्यतिबेला पनि अकेरिकामा राष्ट्रपति पदको लागि चुनाव हुँदै थियो । र त्यतिबेलाका राष्ट्रपति थिए रिचार्ड निक्सन ।
शक्तिराष्ट्र अमेरिकाको राष्ट्रपतिमा पहिलो कार्यकाल सम्पन्न गरेका उनलाई जनताको पनि साथ थियो भन्ने आकलन गरिएको थियो । त्यसैको आडमा हुनुपर्छ उनले आफ्नो कार्यकाल फेरि दोहो¥याउने इच्छा व्यक्त गरे । उनी त्यतिबेला रिपब्लिकनको तर्फबाट थिए भने डेमोक्र्याटिक नेशनल पार्टीका तर्फबाट जोन एफ केनेडीले राष्ट्रपतिको लागि आकांक्षा देखाएका थिए ।
सन् १९७२ को जुन १७ को दिन एउटा घटना घट्यो । केनेडीको दल डेमोक्रेटिक नेशनल पार्टीको कार्यालय रहेको ठाउँलाई वाटरगेट नामले चिनिन्थ्यो । उक्त स्थानमा एक हुल मान्छे प्लम्बरको भेषमा कार्यालयमा प्रवेश गर्न खोजे । बाहिर मूल गेटमा बसेका सुरक्षाकर्मीलाई उनीहरूप्रति शंका लाग्यो र उनीहरुलाई भित्र पसाउनुको सट्टा प्रहरी बोलाएर जिम्मा लगाईयो । पछि प्रहरीले पनि उक्त विषयमा छानविन ग¥यो । पहिलो प्रयासमै उनीहरू ह्वाईटहाउसबाट खटाईएका जासुस भन्ने पत्ता लागेपछि प्रहरीसँगै त्यतिबेलाको समेत चर्चित पत्रिका वासिङ्टन पोष्टले खोजी सुरू ग¥यो ।
पत्रिकाले बब उडवार्ड र कार्ल बन्स्टिन नामका दुई नयाँ संवाददाताहरू नियुक्त ग¥यो । उनीहरूलाई त्यसैको खोजतलासमा सक्रिय गरायो । खोजतलास थालेको केही दिनमै पत्रकारद्वयले राष्ट्रपति निक्सन नै त्यो खतरनाक योजनाका जिम्मेवार पात्र थिए भन्ने यकिन गरे । अत्यन्त विश्वासिला गोप्य स्रोतहरूबाट प्राप्त जानकारी अनुसार राष्ट्रपति निक्सनले आउँदो निर्वाचनमा आफ्ना विपक्षीहरूलाई सिध्याउन ६ वटा मुख्य योजना बनाएको पाइयो । तिनै योजना अन्तर्गत वाटरगेट परिसरभित्र जासुसहरू छिर्न लागेका रहेछन् भन्ने पनि पत्ता लाग्यो ।
उनको कुकृत्यको पर्दाफास गर्ने क्रममा पत्रकारद्वयले पहिले महत्वपूर्ण संवादको श्रव्य रेकर्ड फेला पारे । पत्रकारहरूको हातमा आइपुगेको सोही टेप सन् १९७२ जुन २३ का दिन सार्वजनिक हुन पुग्यो भने त्यसमा आधारित वार्तालापको विवरण जुलाईमा वासिङ्टन पोष्ट र अरु पत्रिकाहरूमा पनि छापियो । निक्सन अझै झुकेनन् । अमेरिकी जनताले पनि उनलाई मनपराए र उनी दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भए ।
ती दुई पत्रकारले अझै पनि समाचार खोजी रहे र अमेरिकी सरकारको आन्तरिक जासुसी अंग संघीय जाँच व्युरो (एफबीआई) का अधिकारीहरूले पनि त्यो रहस्यको पेटारो खोल्ने काममा चासो देखाउन थाले । सुन्दा सामान्य लाग्ने घटनाभित्र लुकेको असामान्य नियत छर्लङ्ग पार्न सम्बन्धित सबै क्षेत्रले आ–आफ्ना प्रयासहरू केन्द्रित गरे ।
सन् १९६९ मा बनाइएका ती योजनाहरूमा गोप्य समिति बनाउने, त्यसका लागि ६ करोड डलरको वन्दोबस्त गर्ने, सञ्चारमाध्यमहरूलाई दुरुत्साहित गर्ने, शत्रुको सूचि तयार पार्ने, डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूलाई हराउन जालसाजी अपनाउने र ती सबै योजना सफल पार्न आइआरएस अर्थात् अन्तर्रा्ष्ट्रिय राजश्व सेवा, एफबीआई अर्थात् संघीय जाँच व्युरो र सीआइए केन्द्रीय गुप्तचर एजेन्सी जस्ता सरकारी जासुसी संयन्त्रको प्रयोग गर्ने बुँदाहरू उल्लेख थिए ।
ती सबै योजनाहरू खुलासा हुनेगरी श्रृंखलाबद्ध समाचारहरू वासिङटन पोष्ट पत्रिकाबाट सार्वजनिक भए । दोस्रो कार्यकालमा निर्वाचित भएपछि पनि उनले आफ्नो गल्ती कमजोरी स्वीकार गर्नुको सट्टामा झनै सन् १९७३ अप्रिल ३० तारिखका दिन उनले समाचारको खण्डन र आफ्नो बचाउका लागि ४ हजार शब्दको विज्ञप्ति निकाले । त्यतिले पनि समाचार रोकिएन । पछि वाटरगेट काण्डको सशक्त खोज गरेकै कारण वासिङटन पोष्ट पत्रिकाले सन् १९७३ को मे महिनामा प्रख्यात् पुलिट्जर पुरस्कार प्राप्त गर्यो । त्यसपछि भने अमेरिकामा अर्काे हंगामा मच्चियो । सबैले उक्त समाचारको सत्यतामा विश्वास गर्न थाले । त्यसपछि अमेरिकी सिनेटभित्रै निक्सनविरुद्ध महाअभियोगको प्रस्ताव आउने पक्का भयो ।
राष्ट्रपति विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने कि नल्याउने भन्ने विषयमा छानविन गर्न गठित अमेरिकी सिनेटको एक विशेष समितिमा आफ्नै पार्टीका सदस्यहरूले समेत साथ नदिँदा निक्सन निरीह सावित भएका थिए । अन्ततः आफूविरुद्ध महाअभियोग लाग्ने पक्कापक्की भएपछि सन् १९७४ अगष्ट ८ तारिखका दिन राष्ट्रपति निक्सनले पदबाट राजीनामा दिए । त्यसैलाई हामी वाटरगेट काण्डको रूपमा अहिले पनि चिन्दछौं ।
त्यतिबेलाका निक्सन र अहिलेका ट्रम्पको बीचमा केही समानताहरु देख्न सकिन्छ । त्यतिबेलाका निक्सनको तुलनामा अहिलेका ट्रम्पको राष्ट्रपतीय कार्यकाल कयौं गुण कठिन रहेकोछ भन्दा फरक नपर्ला । ट्रम्प आफैंले दिएको विवादास्पद अभिव्यक्ति कार्यान्वयन उनको सबैभन्दा ठूलो चुनौती रहेको छ । उनले मुस्लिम आप्रबासीप्रति कठोर अभिव्यक्ति दिएका छन् त्यो उनलाई कार्यान्वयन गर्नकोलागि फलामको च्यूरा चपाएको भन्दा कम्ति कठिन नहोला ।
त्यस्तै, भावी राष्ट्रपति ट्रम्पलाई रिपब्लिकनका समेत उच्च नेताहरू मनपराउने गरेका छैनन् भन्नेकुरा विभिन्न सञ्चारमाध्यममा आउने गरेको छ । जसले गर्दा पनि उनको कार्यकाल कठिन हुने विश्लेषण गर्न सकिन्छ ।
अर्काे उनको सबैभन्दा बढी चुनौतीपूर्ण काम भनेको उनको विरूद्धमा रहेका सञ्चारमाध्यमको खबरदारी र आलोचनाबाट बच्नु हो । अहिले अमेरिकाका मात्रै ५ सय भन्दा बढी पत्रपत्रिकाहरूले हिलारीको पक्षमा मात्रै होईन कि ट्रम्पको विपक्षमा खुलेर नै सामग्रीहरू प्रकाशन÷प्रशारण गरेका छन् । उनीहरूको लेखाईले स्पष्ट देखाउँछ कि ट्रम्प राष्ट्रपतिका लागि योग्य व्यक्ति होईनन् । यही तथ्य सावित गराउनकोलागि कैयौ आमसञ्चारमाध्यमहरु खुलेर लागेका छन् । उनीहरूले आफ्नो सञ्चारगृहको आवाज बोल्ने सम्पादकीय लेखेका छन् ती सबै हिलारीको समर्थनमा होईन कि ट्रम्प अमेरिकाकोलागि बरदान होईनन् अभिसाप हुन् भन्ने जनमत सिर्जना गराउनको लागि मात्रै हो ।
अधिकांश निर्वाचनमा मिडियाको तर्फबाट भएका सर्भेक्षणहरू अन्तमा सही सावित हुनेगरेका छन् । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सन् २००८ मा अमेरिकाका ७१ प्रतिशतभन्दा बढी पत्रिकाले डेमोक्र्या्टिक उम्मेदवार बाराक ओबामाको पक्ष लिएका थिए । २०१२ मा ओबामाको पक्षमा ५६ प्रतिशत मिडिया थिए र जीत पनि उनकै भएको थियो । तर, अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचनमा भने यसले निरन्तरता पाउन सकेन । भलै यो अमेरिकी सञ्चारमाध्यममा आएको नियोजित एकपक्षीय समाचार तथा टिप्पणीको प्रभाव पनि हुन सक्ला । तर, प्रजातान्त्रिक मुलुकको राष्ट्रपति बनेका ट्रम्पलाई राष्ट्रपतिको कुर्सीमा बसिसकेपछि गरिएको आमसञ्चार माध्यमको आलोचना महंगो पर्ने आकलन गर्न सकिन्छ ।
त्यसो त, उनको विरूद्धमा अमेरिका मात्रै होईन त्यस भन्दा बाहिरका मिडिया पनि खुलेर लागेका छन् । चीनको चर्चित अनलाईन संस्करण ग्लोबल टाईम्सले लेखेको छ कि ‘ट्रम्प परम्पराबादी अर्थतन्त्र अनुशरण गर्ने व्यक्ति हुन् ।’ मत परिणाम आउनुभन्दा पहिले लेखिएको एउटा लेखमा भनिएको छ ‘उनी शासनमा आए भने समुन्द्र पारीको व्यापारमा उनले कटौतीगर्ने र आन्तरिक उर्जा प्रयोग गर्नमा उनले बढी चासो दिनेछन् । यसले अमेरिकालाई नै कमजोर बनाउनेछ ।’
सोही अनलाईन संस्करणमा पिटर सी स्पिनाले नै लेखेको उक्त लेखमा हिलारी क्लिन्टन पनि योग्य भने नरहेको बताईएको छ । इमेल काण्डबाट विवादित बनेकी हिलारी राष्ट्रपति चुनिएको खण्डमा पनि उनी सबैभन्दा कमजोर राष्ट्रपतिको रूपमा दर्ज हुने विश्लेषण गरिएको छ । तर, राष्ट्रपतिमा ट्रम्प विजयी भईसकेपछि भने चिनियाँ अर्थविज्ञहरूले ट्रम्पले चिनियाँ आर्थिक बृद्धिदरलाई कमजोर बनाउन नसक्ने बरू चीनले नै उनलाई चुनौती दिने बताएका छन् । उनीहरूले सुरक्षा मामलामा चीनलाई कुनै डर नरहेको पनि बताएका छन् । अर्का एक चिनियाँ विज्ञले भने ट्रम्पले अमेरिकाको एशिया रणनीतिलाई व्यवस्थापन त गर्छन् तर, त्यसकोलागि उनले आफ्नो कूटनीति र सुरक्षा नीतिमा छिट्टै स्पष्ट हुनुपर्छ भनेका छन् ।
त्यस्तै, बेलायतको चर्चित पत्रिका ‘द गार्जियन’को अनलाईन संस्करणले पनि ट्रम्पको विपक्षमा खुलेर सम्पादकीय र लेखहरु लेखेको छ । उसले अमेरिकामा ‘अति भयंकर’ नेता चुनिएर आएको टिप्पणी गर्दै उनी रूसले आफ्ना भूमिहरूमाथि शासन गरेर बस्दासमेत पनि आफ्नो घमण्डलाई टुलुटुलु हेरेर बस्नेबाहेक अरू केही पनि गर्नसक्ने क्षमता नभएको व्यक्ति भनी आलोचना गरेको छ । ट्रम्पले केही समय अगाडि न्यूयोर्क टाईम्ससँग कुरागर्दै नेटोको मूल सिद्धान्तप्रति नै असहमति जनाएको स्मरण गराउँदै उक्त अनलाईनले चीनसँग उनले व्यापारिक युद्ध गर्ने आकलन पनि गरेको छ । उक्त अनलाईनले विचार र सम्पादकीयमा पनि ट्रम्पको खुलेर विरोध गरेको छ ।
यस्तै, आशयको कुरा समेटेर राष्ट्रपतिमा निर्वाचित भईसकेपछि द न्यूयोर्क टाईम्सले पनि सम्पादकीय लेखेको छ । उसले त स्पष्टसँग नै भनेको छ कि ‘ट्रम्प जस्ता क्षमताहीन मान्छेलाई राष्ट्रपतिको रूपमा हेर्ने अमेरिकी जनताको चाहानाले अमेरिकालाई नै भड्खालोको नजिक ल्याईपु¥याएको छ ।’
अन्य देशहरूमा भारतले पाकिस्तान र चीनसँग ट्रम्पको कुरा नमिल्नेमा मख्ख भएर ‘भारतलाई फाइदा, चीन र पाकिस्तानलाई घाटा’ भन्दै समाचार सम्प्रेषण गरेको छ भने यसमा पाकिस्तान त्यति खुलेर पक्ष÷विपक्षमा लागेको भेटिएको छैन ।
यी सबैको अर्थ के हो भने जसरी एउटै आमसञ्चार माध्यमको कारणले २० औं शताब्दीको उत्तरार्धमा अमेरिकी राष्ट्रपतिमाथि महाभियोग लगाउने स्थिती सिर्जना भएको थियो । ट्रम्पले पनि त्यस्तै विवादित कुरालाई कार्यान्वयनमा ल्याएको खण्डमा ट्रम्प पनि पूरा कार्यकाल अमेरिकाको राष्ट्रपतिको पदमा बसिरहनसक्नेछैनन् । प्रजातान्त्रिक मुलुकको राष्ट्रपति बनिरहँदा विश्वका आमसञ्चारमाध्यमको आलोचना सहेर आफूले सोचेको कामगर्न ट्रम्पलाई सहज त हुने कुरै रहेन ।
ट्रम्पलाई खबरदारी गर्ने सवालमा विश्वका मिडिया र अमेरिकाको नै मिडिया पनि लचिलो बन्लान् भन्न पनि सक्ने अवस्था छैन । किनकी एक पटक हारेको मिडियाले पनि पछि आफूले उठाएको मुद्दामा सफलता हाँसिल गरेको कुरा वाटरगेट काण्डको नामबाट अमेरिकाले नै विश्वलाई सिकाएको छ । यस्ता काण्ड त विश्व पत्रकारिताको इतिहासमा कयौंँ होलान् । ट्रम्प पनि त्यस्तै काण्डका अर्का पात्र नबनून् उनलाई शुभकामना ।