arrow

प्रधानमन्त्री कप महिला क्रिकेटमा बागमती र एपीएफको विजयी शुरुआत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
pmcup-t20-cricket-2080.jpg

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र सशस्त्र प्रहरीको एपीएफले विजयी शुरुआत गरेका छन् । बागमतीले मधेस प्रदेशलाई पराजित गरेको छ । बागमतीले मधेसलाई २८ रनले हराएको हो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मधेस प्रदेशले टस जितेर पहिला फिल्डिङ राजेको थियो । बागमतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १७ रन बनायो । एक सय १८ रनको विजय लक्ष्य पछ्याएको मधेसले पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो । 

बागमतीका लागि यशोदा विष्टले अविजित ४७, कप्तान अश्मिना कर्माचार्यले अविजित ३० र हेलिशा गुरुङले १२ रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महतोले दुई तथा कविता गौतमले एक विकेट लिइन् ।

यसैगरी मधेस प्रदेशका लागि ८७ रन बनाउने क्रममा पूजा महतोले सर्वाधिक ३५ रन बनाइन् । उनले ४५ बल खेल्दै चार चौका हिर्काइन् । यसैगरी अनुराधा चौधरीले २८ बलमा तीन चौकासहित २१ रन तथा प्रतिमा शाहले १४ रन बनाइन् । बलिङतर्फ बागमतीकी अश्मिना कर्माचार्यले दुई तथा मनिषा उपाध्यायले एक विकेट लिइन् । 

एपीएफद्वारा सुदूरपश्चिम पराजित
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो । 

काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सुदूरपश्चिम टोलीका कप्तान ऋतु कनौजियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ८७ रन बनायो । अठासी रनको विजय लक्ष्य एपीएफले १७औँ ओभरको पहिलो बलमा मात्र एक विकेट गुमाएर भेट्टायो । 

एपीएफका लागि ज्योति पाण्डेले अविजित ४९ तथा इन्दू बर्माले अविजित ३१ रन बनाइन् । पाण्डेले ४८ बल खेल्ने क्रममा नौ चौका हिर्काइन् । यस्तै बर्माले ४४ बलको सामना गर्दै चार चौका प्रहार गरिन् । बलिङतर्फ सुदूरपश्चिमकी इश्वरी विष्टले एक विकेट लिइन् । 

यसअघि ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिमका लागि कविता जोशीले २२ र सम्झना खड्काले १२ रन बनाइन् । यो बाहेक अन्य कुनै पनि खेलाडीले दोहरो अङ्कमा रन बनाउन सकेनन् । 

बलिङतर्फ एपीएफका लागि सोनु खड्काले दुई तथा सुमन विष्ट, करुणा भण्डारी र इन्दू बर्माले एक एक विकेट लिइन् । 

प्रतियोगितामा ९ टिम सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ