arrow

किमले दिए आदेश : आणविक हतियारसहित युद्धको तयारीमा उत्तर कोरिया

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
kcna-northkorea-missile-kim-jong-un.PNG

काठमाडौँ । उत्तर कोरियाले आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिएको छ । 

उत्तर कोरियाली नेता किम जोङ उनले आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गरेसँगै तयारीलाई तीव्रता दिइएको हो । 

किमले आफ्नो पार्टीलाई आणविक हतियारसहित युद्धको तयारी रहन भनेका छन् । 

आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने किमले चेतावनी दिएको एक सातापछि यो भनाइ आएको हो ।

उत्तर कोरियाको वर्षको अन्त्यमा जारी पार्टीको बैठकमा किमले सन् २०२४ का लागि महत्वपूर्ण नीतिगत निर्णयसार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्योङयाङको सरकारी समाचार संस्था कोरियाली केन्द्रीय समाचार निकाय (केसएिनए) का अनुसार किमले पार्टीलाई सैन्य तथा आणविक हतियारलगायत सबै क्षेत्रमा युद्धको तयारीलाई थप तीव्रता दिन आग्रह गरेका हुन् । 

उनले वासिङ्टनसँगको ‘अभूतपूर्व’ उत्तरविरोधी मुठभेडका कारण कोरियाली प्रायद्वीपमा ‘सैन्य स्थिति’ ‘चरम’ भएको पनि बताए । 

सोल, टोकियो र वासिङ्टनले यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको रेकर्ड तोड्ने शृङ्खलाको सामना गर्दै रक्षा सहयोग बढाएका छन् र हालै उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् ।

यसै महिनाको सुरूमा दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा अमेरिकी आणविक शक्तिसम्पन्न पनडुब्बी आइपुगेको थियो र वासिङ्टनले सियोल र टोकियोसँगको अभ्यासमा लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।

यसअघि उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यासमा बी-५२ बमवर्षक विमानजस्ता अमेरिकी रणनीतिक सम्पत्तिको सहभागितालाई ‘अमेरिकाको जानाजानी आणविक युद्ध उत्तेजक कदम’ भनेको थियो ।

प्योङयाङले यसै वर्ष सफलतापूर्वक टोही उपग्रह प्रक्षेपण गरेको छ । प्योङयाङले आफ्नो संविधानमा आणविक शक्तिको रूपमा आफ्नो स्थान स्थापित गरेको छ र आफ्नो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण गरेको छ ।

उत्तर कोरियाली नेता किमले यसै साताको सुरुमा सन् २०२३ लाई ‘ठूलो परिवर्तनको वर्ष’ का रूपमा परिभाषित गरेका थिए । यसमा प्योङयाङले ‘आफ्नै सेटलाइटबाट विश्वलाई देख्ने विजय’ प्राप्त गर्ने उद्देश्य लिएको थियो ।

गत हप्ता संयुक्त राष्ट्रसङ्घको आणविक हतियारमामिला हेर्ने निकायले उत्तर कोरियाको योङब्योन आणविक केन्द्रमा रहेको दोस्रो रिएक्टर सञ्चालनमा आएको भन्दै यसलाई ‘अत्यन्त खेदजनक’ कार्य भनेको थियो ।

‘वल्र्ड इन्स्टिच्युट फर उत्तर कोरिया स्टडिज’का सञ्चालक आन चान इलले एएफपीसँग भने, “उत्तर कोरियाले अन्तरकोरियाली सीमा नजिकका क्षेत्रमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने र नयाँ वर्षमा आफ्नो आणविक कार्यक्रमलाई अझ अगाडि बढाउने सम्भावना छ ।” 

प्योङयाङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकामाथि ‘ठूलो दबाब’ सिर्जना गर्न र परम्परागत सहयोगी रूस र चीनसँग घनिष्ठ सम्बन्ध कायम राख्न यस्तो कदम चाल्ने उनले बताए । 

गत वर्षको अन्त्यमा भएको पार्टी बैठकमा किमले ‘देशको आणविक शस्त्रागारमा उल्लेखनीय वृद्धि गर्न’ आह्वान गरेका थिए । 

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले यसै महिनाको सुरुमा वासिङ्टनमा आफ्नो आणविक परामर्श समूहको दोस्रो बैठक आयोजना गरेका थिए, जहाँ उनीहरूले उत्तर कोरियासँग द्वन्द्वको स्थितिमा आणविक निरोध विकल्पहरूबारे छलफल गरेका थिए ।

उनीहरूले प्योङयाङले अमेरिका वा दक्षिण कोरियामाथि गरेको कुनै पनि आणविक आक्रमणले किम शासनको अन्त्य हुने चेतावनी दिएका छन् । 

त्यसपछि उत्तर कोरियाको रक्षा मन्त्रालयका एक प्रवक्ताले अर्को वर्ष वार्षिक संयुक्त सैन्य अभ्यासलाई विस्तार गर्ने र यसमा आणविक अपरेसन ड्रिल समावेश गर्ने अमेरिका र उसका सहयोगी राष्ट्रहरूको योजनाको आलोचना गर्दै यसलाई ‘आणविक टकरावको बारेमा खुला घोषणा’को संज्ञा दिदिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ