arrow

बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ: प्रचण्ड [भिडियो]

घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारी र मन्त्री ज्वालाका पीएसओ निलम्बनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
prachanda-balkumari-ghatana.jpg

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने बताएका छन् । प्रचण्डले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै सो घटनामा परी मारिएकाहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा समेत गरे ।

उनले सो घटनामा कमजोरी देखाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको पनि जानकारी दिए । शनिवारबाट एक कार्यक्रममा प्रचण्डले सो घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताए । उनले इपिएस परीक्षामा सहभागी हुन नपाएको विद्यार्थीहरूले पनि सो परीक्षामा सहभागी हुने पाउने कुरा अदालतले जानकारी दिएपछि परिस्थितिलाई सहज बनाउन पनि सबैलाई आह्वान गरे । प्रचण्डले सो घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताए ।

उनले भने, ‘हिजोको बालकुमारी घटनाको बारेमा चाहिँ हामी अलि गम्भीर रूपले नै त्यसको अनुसन्धान गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने प्रक्रिया र सरकारले चाल्नुपर्ने कदमको बारेमा हिजो म यस्तो होला भन्ने त थिएन । अलि आकस्मिक रूपमा पनि यो घटना आयो । मत दोलखामा थिए । पूर्व निर्धारित कार्यक्रम थियो त्यहाँ । दोलखा बस्दाबस्दै घटनाको बारेमा जानकारी पाएपछि आउने बित्तिकै छानबिन समिति बनाउने बारेमा र अनि सबैको कुरा यथार्थ के हो भन्ने बारेमा र बुझ्ने बारेमा हामी लाग्यौँ । आज बिहान मात्रै गृह मन्त्रालय र सम्बन्धित सुरक्षा अधिकारीहरू, प्रमुख जिल्ला अधिकार सबैको चाहिँ संयुक्त बैठक बसेर हामीले यथार्थ पत्ता लगाउने कोसिस गर्‍यौँ । र, अनि तुरुन्तै राजनीतिक तहमा पनि छलफल गरेर केही कदमहरू चाली सकिएको छ । हामीले यो आईपीएस अफिसबाट केही कमजोरी भएको महसुस गरेर उनलाई त्यहाँबाट हटाइएको छ । अर्को हाम्रो मन्त्रीजीको पिएसओले परिस्थितिको राम्रो आँकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटि भएको महसुस गरेर उनलाई निलम्बन गर्ने निर्णय गरिएको छ । अनि, त्यसै गरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटिपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोट नआउँदासम्म निलम्बन गरिएको छ । र, अहिले भर्खरै म हतार गरिराखेको छु मैले अहिले क्याबिनेटको बैठक बोलाइसकेको छु मैले । अव मृतकहरूबारे, मृतकका परिवारबारे उनीहरूलाई तुरुन्तै राहत दिने, समवेदना, श्रद्धाञ्जली सबै कुराको निम्ति क्याबिनेटमा जानुपर्ने भएकाले म त्यता जाँदै छु । त्यस कारण म सम्पूर्ण ट्रेड युनियनकर्मी र पदाधिकारीहरूलाई पनि यो परिस्थितिलाई सकारात्मक र रचनात्मक ढङ्गले एउटा निकास दिनेतिर दोषीलाई कारबाही गर्ने र फेरी वातावरणलाई सहज गर्ने । किनकि यहाँ यो प्रक्रियामा कहीँ न कहीँ अदालतले १८ जना, जसले निवेदन दिए, उनीहरूलाई परीक्षा दिन स्वीकृति दिनुको अर्थ अरूलाई नदिएको भन्ने जस्तो अर्थ लगाउने ठाउँ देखिँदैन । पछि त फेरि हिजै ३ बजे अदालतले सबैले परीक्षा दिन पाउने भनेपछि एउटै निर्णय पहिले नै पुस ३ गते भई दिएको भए यो दुर्भाग्यपूर्ण घटना घटना नै थिएन । त्यस कारण कहीँ न कहीँ त्रुटिहरू भएका छन् भन्ने हामीले समीक्षा गर्दैछौं । म यहाँहरूलाई जानकारी गराउन चाहन्छु-वैदेशिक रोजगारीको विषयमा हामी सबै संवेदनशील छौं । संवेदनशील हुनै पर्दछ । अन्ततः र मुख्यतः कुरा के हो भने हामी देश भित्रै रोजगारी सृष्टि गर्ने, देशभित्रै आर्थिक समृद्धिको नयाँ अभियान चलाउनेतिर नै ध्यान केन्द्रित गर्नुपर्दछ । मलाई विश्वास छ-आउने दिनमा हामी सबैले एकीकृत ढङ्गले त्यो दिशामा प्रगति गर्नेछौँ । हामीले फेरी पनि देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत जनतालाई समृद्धिको भरोसा दिलाउने, समृद्धिको सम्बोधन गर्ने कुरामा एकजुट हुनुको विकल्प छैन । ’

प्रचण्डले वैदेशिक रोजगारीको विषयमा सरकार संवेदनशील रहेको उल्लेख गर्दै देश भित्रै रोजगारी अवसर सृजना हुने गरी आर्थिक समृद्धि नयाँ अभियान चलाउनेतिर सबैले ध्यान दिनुपर्ने पनि बताए । त्यस अवसरमा उनले सरकारले श्रमिक मैत्री नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाएर लैजान सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले वर्तमान सरकारले आफ्नो एक वर्षे कार्यकालमा श्रमिकहरू हितको कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ