arrow

प्रचण्डले राष्ट्रिय सभामा एमालेलाई समेट्ने चाहना राख्दा सत्ता गठबन्धनमा हलचल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
gathabandhan-meeting-2080-0.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा सदस्यमा एमालेलाई पनि समेट्ने चाहना राख्दा गठबन्धनलाई हानि निम्त्याउने खतरा बढेको छ । 

पाँच सहकार्य गर्ने गरी बनेको गठबन्धनमा प्रधानमन्त्रीले बेला बखत एमालेलाई लिफ्ट दिन खोज्दा यस्तो अवस्था आउन लागेको हो । 

प्रधानमन्त्री प्रचण्डको प्रस्तावपछि एमाले स्वयंले पनि गठबन्धन दलभित्रै खेल्न थालेको छ । एमालेले गठबन्धन दलमध्ये कुनै एकसँग पनि सहकार्य गरेर जाने नीतिले गठबन्धनलाई हानि निम्त्याउन सक्नेतर्फ गठबन्धन दलका नेताहरु सचेत भएका छैनन् । 

माओवादीका पदाधिकारी तहकै नेताहरुले पनि एमालेको ९ सिटमा सबै सिटबाट एमालेलाई बाहिर राख्न नहुने बताउँदै प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् । प्रधानमन्त्रीले यसको सदुपयोग संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी कानून निर्माणमा सहयोग खोज्दै एमालेलाई साथ दिने वचन दिइसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सो वचनपछि एमालेले गठबन्धन दलमध्ये जसले साथ दिन्छ उससँग सहकार्य गरेर जाने खुला नीति लिएको छ । 

‘एमाले एक्लैले जित्न अवस्था छैन, गठबन्धन दलहरुमध्ये कुनै एक दलसँग पनि सहकार्य गरेर जान सक्ने अवस्था आएमा एमाले तयार हुन्छ’, एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने । 

उनका अनुसार गठबन्धन दलहरुले शर्त राखेमा त्यो मान्य नहुनेसमेत बताएका छन् । ‘शर्त लागू हुँदैन, तर गठबन्धन दलमध्ये कुनै पनि एक दलले पनि एमालेसँग सहकार्य गर्न सक्नेछन्’, उनले भने । 

एमालेले मधेस प्रदेशमा जसपा र अन्य प्रदेशमा माओवादी वा कांग्रेससँग पनि सहकार्य जानसक्ने नीति लिने भएको छ । माओवादीको साथ लिँदा जित्ने स्थानमा माओवादीसँग र कांग्रेससँग मिलेर जित्नसक्ने अवस्था आएमा कांग्रेससँग सहकार्य गर्नै गरी एमाले अघि बढेको स्रोतको दाबी छ ।  

गठबन्धन बैठकमा कांग्रेस, माओवादी, नेकपा एस, जसपाबीच कुनै पनि सहमति हुन सकेको छैन । 

यसअघि आ–आफूले जितेको सिट यथावत् राखेर जान असहमति नभए पनि एमालेबाट जितेको ९ सिटमा कसरी भागबण्डा गर्ने भन्ने विषयमा दलहरूबीच सहमति हुन सकेको छैन । 

यसमा एमाले आफैँले पनि खेलिरहेको छ । नेकपा एसबाट तीन जनाको नाम तयारी हालतमा भए पनि अन्य दलले भने नाम तयारी अवस्थामा राखेका छैनन् । उनीहरुले शुक्रबार र शनिबार भित्रमा आफ्नो दलको तर्फबाट नाम टुंग्याउने भएका छन् । एमालेले भने सचिवालय बैठक डाकिसकेको छ । 

यस्तो अवस्थामा एमालेले सत्ता गठबन्धन दलसँग समानान्तर कुराकानी गरिरहेको छ । 

एमालेले कांग्रेसको एउटा पक्ष र माओवादीसँग भने सिंगो पार्टीसँग नै राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्बन्धमा कुराकानी अघि बढाएको छ । 

एमालेले यसरी समानान्तर रुपमा कुराकानी गर्न थालेपछि गठबन्धन दलहरुभित्र असन्तुष्टिसमेत पैदा भएको छ । 

शुरुमा प्रधानमन्त्री प्रचण्डले एमालेलाई साथमा लिएर जाने प्रस्तावलाई गठबन्धन दलमा राखेका थिए । 

गठबन्धन दलका नेताहरुले त्यसमा शर्त राख्नुपर्ने जनाएका थिए । एमालेले भने शर्त हो भने आफूहरु पछि हट्ने जनाइसकेको छ । तर भित्रभित्रै गठबन्धनभित्रका दलसँग अलग अलग कुराकानी पनि अघि बढाएको छ ।

माघ ११ गते राष्ट्रिय सभाका रिक्त १९ सिटमा निर्वाचन हुँदैछ । १९ मध्ये ९ सिटमा एमालेले जितेको थियो । 

यही पुस २३ गते उम्मेदवारी दर्ता हुँदैछ । दलहरु अहिले घनिभूत रुपमा आन्तरिक छलफलमा व्यस्त छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ