- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक ए टीम बनाउने घोषणा गरेको छ । बिहीबार आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले ए टिम बनाउने घोषणा गरेका हुन् ।
उनले आगामी प्रधानमन्त्री कपपछि ए टीमको घोषणा गरिने बताए । टी–२० विश्वकपका लागि छनोट भएको क्यानडाले नेपालमा खेल्न इच्छा व्यक्त गरेको र आगामी फेब्रुअरीमा क्यानडा नेपाल आउने उनले जानकारी दिएका छन् ।
क्यानडासँग नेपालको ए टीमले कम्तीमा तीन ओटा एक दिवसीय र टी–२० खेल्ने तयारी भइरहेको खड्काले जानकारी दिए ।
क्यानका म्यानेजर विनोद दासले यू–१९ टिममा खेलेर अनुभव बटुलेका तथा राष्ट्रिय टीममा राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरुलाई समेटेर ए टिम बनाइने जानकारी दिएका छन् ।
क्यानले वार्षिक खेलतालिका सार्वजनिक गर्ने क्रममा सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो ।
नेपालले आईसीसी विश्वकप लिग दुई, टि–२० सिरिज, एक दिवसीय लगायतका सिरिजलाई खेल तालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ ।
त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिकोणात्मक टी–२० सिरिज खेल्ने खेल तालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ ।
त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच एकदिवसीय र तीन टी–२० खेल खेल्ने छ । यसैगरी क्यानले आफ्नो खेल तालिकामा आगामी मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ ।
खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेल तालिकामा समावेश गरिने बताए ।