यू–१९ विश्वकप क्रिकेट आजदेखि, नेपालको पहिलो भिडन्त न्यूजिल्याण्डसँग
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
896
Shares
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एक दिवसीय क्रिकेट आजदेखि दक्षिण अफ्रिकामा शुरु हुँदैछ । विश्वकपको पहिलो खेलमा आज आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दै छन् ।
दुवै खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि शुरु हुने छन् । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदैछन् ।
यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्यूजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्यूजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
यस विश्वकपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् ।
अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
यस विश्वकपको समूह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समूह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् ।
त्यस्तै समूह सी मा जिम्बावे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समूह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजिल्याण्ड र नेपाल रहेका छन् ।
विश्वकप खेल्ने नेपाली टिम–
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद डुम्रे,दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।