arrow

समितिमा विधेयकमाथिको छलफल

नैतिकताको प्रश्न उठाएको भन्दै समितिमा झोक्किए कानूनमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
dhanraj-gurung-new-samiti.jpg

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै सांसदहरूसँग आक्रोश व्यक्त गरेका छन् । आइतबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले सो टिप्पणी गरेका हुन् । 

बैठकमा समितिका सदस्यहरूले सो विधेयक अपराधीहरूलाई प्रश्रय दिने प्रावधानसहित सरकारले सुटुक्क ल्याएको जिकिर गरेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री गुरुङले विनाकारण आफ्नो नैतिकता र नियतमाथि प्रश्न उठाउने काम नगर्न पनि सांसदहरूलाई चेतावनी दिए । उनले पटक पटक छलफल गरेर सो विधेयक संसद र संसदीय समितिमा आउँदा पनि आफूमाथि गलत नियतका साथ किन प्रस्तुत भएको भनी सांसदहरूलाई प्रतिप्रश्न समेत गरे । 

मन्त्री गुरुङले आफूहरूले सांसदहरूको कार्यक्षमतामाथि प्रश्न नगर्ने भन्दै घुमाउरो भाषामा शब्दकोश अध्ययन गर्न पनि सचेत गराए। मन्त्री गुरुङले एकले अर्काको नियतमाथि प्रश्न उठाउँदै जाने कामले केही पनि उपलब्धि नहुने पनि बताए। त्यस क्रममा मन्त्री गुरुङले आफू मन्त्री भए पनि निष्ठामा कहिल्यै पनि नडगमगाउने बताए।

उनले भने, ‘एउटा कुरामा मेरो गम्भीर प्रश्न पनि छ । यो विधेयक सुटुक्कसँग पास गर्न ल्याएको । अनि यहाँ बीचमा छिराएको आदि इत्यादि ढङ्गबाट आएको छ । माननीय सदस्यहरुज्युहरुलाई म अत्यन्तै सम्मान व्यक्त गर्दै म भन्न चाहन्छु–माननीय सदस्यहरुज्युको कार्य क्षमतामाथि म प्रश्न उठाउन चाहन्न । माननीय सदस्य त्यसै भएको होइन । जनताले निर्वाचित गरेर पठाइसकेपछि माननीय सदस्यहरूको कार्यक्षमतामा कसैले पनि प्रश्न उठाउन हुँदैन । मलाई त्यो पनि ज्ञान छ । त्यसैले त्यो ज्ञानलाई नोटिसमा राख्दै निवेदन गर्न चाहन्छु कि यो सुटुक्क पास गर्न खोजिएको रहेछ । कति गम्भीर यो कुरा । कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ सभामुख महोदय ? नैतिक आचरण गलत गरेको भए नैतिकको प्रश्न उठाउनु । तर विनासितीमा कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ ? कसैले नियतमाथि प्रश्न उठाउन पाइन्छ र सभापति महोदय ? एकदम नियत खराब राखेर ल्याउने । माननीय सदस्यहरूलाई पनि म प्रश्न गर्न चाहन्छु–यसरी किन बोल्नु हुन्छ ? आफ्नो कुरा राख्न नजानेको, शब्द नपाएको हो भने नेपाली शब्दकोश भण्डारमा मा थुप्रै शब्दहरू छन् सभापति महोदय । अनि छिराएको । के भनेको त्यो ? खुसुक्क छिराएछ । सारा पिजनहोलमा राखेर, पढनोस भनेर । सैद्धान्तिक छलफल गरेर दफा दफा छलफल गरिरहेका छौ । तैपनि सुटुक्क छिराएको भन्ने ? जस्केलबाट छिराएको छ । हुँदाहुँदै झ्यालबाट छिराएछ । बडो गजब छ बा । यत्रो छलफलको यात्रा पार गरेर हामी यहाँ आइपुग्यौँ । त्यसैले मैले शुरुमै भने–माननीय सदस्यज्युहरुको कार्य क्षमतामा म प्रश्न गर्न चाहन्न । तर यी भनाइहरूले, जुन भनाइहरू आए माननीय सदस्यज्युहरुबाट । माननीय सदस्यज्युहरुलाई सम्मानका साथ भन्न चाहन्छु–सुटुक्क पास गर्न लाग्यो, नियतै खराब राखेर लिएर आयो, सुटुक्क छिरायो, झ्यालबाट छिरायो । जस्केलाबाट छिरायो । के हो यो सभापति महोदय ? कुरो गम्भीर छैन र ? एकले अर्काको नियतमाथि प्रश्न उठाउँदै जाने हो र । ड्राफ्ट कसरी गरिस् ? पुरानो बोरामा बाँधेर राखेको रहेछ । थपक्क ल्याएर खोलिदिएको । अघि नै माननीय सदस्यले भन्नु भयो नि–तत्कालीन अवस्थामा विप्लव समूह थियो । त्यसको समस्या सम्बोधन गर्नका लागि पनि र तराई मधेसमा सिके राउतको विखण्डनको नारा बोकेर हिँडेको पार्टी थियो । तत्कालीन अवस्थामा यो ड्राफ्ट ठिकै पनि मानिन्थ्यो होला । तर अब यो काम लागेन भनेर अघि भर्खरै शुरुमै यो पनि बोलेर जानुभएको छ माननीय सदस्यले । यति कुरा सुनिसकेपछि त्यसपछि फेरि उही प्रश्न दोहोरिएको छ । त्यसकारणले गर्दा खेरी वास्तवमा यो हामी यो राजनीतिमा यत्तिकै आइहालेको हो कि ? फ्वात्त आकाशबाटै खसेर मन्त्री भइहालेको हो कि ? त्यो ढङ्गले सोच्न हुन्न । हामीले पनि जनताकै लागि, देशको लागि भनेर कलिलो उमेरबाट रगत बगाउँदै आएका छौ नि । हामीलाई राजनीतिमा लागेर कमाउनु छैन । म प्रस्ट भन्न चाहन्छु । म यो कुरा निवेदन गर्न चाहन्छु । कमाउने धन्दामा को–को लाग्छन् मलाई थाहा छैन । लागि रहन्छन् होला । पत्रपत्रिकामा पढिरहन पाइन्छ पनि होला । त्यसतर्फ म धेरै कुरा भन्न चाहन्न । तर म अहिले यो कानूनमन्त्रीको कार्यभार सम्हालेर बसिरहेका बेलासम्म आइपुग्दाखेरी पटक पटक कष्टडीमा पनि परेको हुँ, जेल पनि परेको हुँ । कुखुरा चोरेर परेको होइन । राजनीतिक व्यवस्था परिवर्तन गर्नका लागि नै भनेर प्रजातन्त्र स्थापना गर्नका लागि नै भनेर, देश र जनताकै लागि भनेर मैले रगत पनि बगाए । कष्टडीमा पनि परेँ, जेल पनि परेँ । यति मैले राख्नै प¥यो । किनभने मेरो नियतमाथि प्रश्न गरेपछि । मन्त्रीको नियतमाथि प्रश्न गर्ने ? नैतिकतामाथि प्रश्न उठाउने । मैले आज मेरो शरीरबाट रगतको मूल्य खोजिरहेको छैन । देश र जनताको लागि भनेर हिजो पनि जुन अडान थिए, आज पनि त्यही अडान छु । केही माननीय सदस्यहरूले भने–हिजो तपाईँको ट्विट पनि हेरेको हो, स्टाटस पनि पढेको हो । अलि फरक देखियो नि । अहँ तपाईँको हेर्ने नजरमा मात्रै फरक पर्न आएको हो । धनराज गुरुङमा कुनै परिवर्तन आएको छैन । म यो पनि निवेदन गर्न चाहन्छु । मन्त्री पद त आउँछ, जान्छ नि । तर मेरो जुन लगाव छ । जुन पदचाप छ । जुन उद्देश्य छ, ध्येय छ । लक्ष्य छ । त्यो भनेको नेपाललाई सुशासन स्थापना गर्दै नेपालका विपन्न जनतालाई सम्पन्न बनाउने लक्ष्य हो मेरो । मेरो यो लक्ष्यबाट म अविचलित ढङ्गले अघि बढ्छु, बढिरहन्छु ।’

मन्त्री गुरुङले आफूले मुलुकमा सुशासन स्थापना गर्दै नागरिकलाई सम्पन्न बनाउने लक्ष्य लिएको र त्यसैमा अविचलित भएर अघि बढ्ने पनि बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ