arrow

गङ्गालाललाई स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
gangalalhospital.jpg.jpeg

काठमाडौँ। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण गर्ने प्रकिया शुरु भएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको बताएका छन् । 

“केन्द्रले चाहेजस्तो दक्ष चिकित्सकहरु यही हुनुहुन्छ, सबै विधाका प्राध्यापक चिकित्सकहरु यही हुनुहुन्छ । यस अस्पतालले व्यावसायिकताका हिसाबले भन्दा पनि आवश्यकताका हिसाबले हामी पढाउछौँभन्दा छेक्नुपर्ने कारण छैन”, मन्त्री बस्नेतले भने, “केन्द्रलाइ प्रतिष्ठानका रुपमा विकास गर्न प्रक्रिया अघि बढेको छ । सरकार ‘कन्भिन्स’ भएको छ । हामी तपाईंहरुको प्रस्तावको पर्खाइमा थियौँ, मन्त्रालयले यससम्बन्धी निर्णयसमेत गरिसकेको छ ।” 

यही वर्ष भदौ १३ गते मन्त्री बस्नेतको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले केन्द्रलाई प्रतिष्ठानमा रुपान्तरण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले अवधारणापत्र बुझाइसकेको र मन्त्रालयबाट प्रक्रिया सुरु भएको उनको भनाइ छ ।

“संस्थापक, सहयोगी कर्मचारी र पदाधिकारीले यस अस्पताललाई प्रतिष्ठानका रुपमा अघि बढाउने र आवश्यकताअनुसार विषयमा पठनपाठनको व्यवस्था गराउने तयारी गर्नुहोस् । मन्त्रालयबाट पहल र सहयोग गर्ने कुनै कुरा बाँकी रहनेछैन, प्रक्रिया अघि पनि बढिसकेको छ”, उनले भने । 

मन्त्री बस्नेतले भविष्यमा चिकित्सक र नर्सको अभाव खड्किन नदिनका लागि चिकित्सा शिक्षा ऐन संशोधनका लागि तयारी भइरहेको जानकारीसमेत दिए । उनले आधारभूत स्वास्थ्य उपचार र चिकित्सा शिक्षा दुवै सँगसँगै लानुपर्ने आवश्यकता आँैल्याए । 

केन्द्रका कार्यकारी निर्देशक डा रवि मल्लले दिनप्रतिदिन बढ्दो बिरामीको चापअनुसार केन्द्रको क्षमता विस्तार गनुपर्ने आवश्यकता रहेको बताए । उनले दुई सय शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको काम अघि बढाउन मन्त्रालयसँग आग्रह गरे ।  

केन्द्रले गत वर्ष सन् २०२३ मा एक लाख ९२ हजार नौ सय ९२ जना बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराएको छ । सोही वर्ष १४ हजार नौ सय ८८ जनाले अन्तरङ्ग उपचार सेवा लिएका छन् । यसैगरी, २० हजार तीन सय १७ जना बिरामीले आकस्मिक उपचार सेवा लिएका छन्भने एक हजार आठ सय ३८ जना बिरामीले शल्यक्रिया गराएका छन् ।

गत वर्ष नै केन्द्रले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरी आठ हजार एक सय ७२ बिरामीको मुटु परीक्षण गरेको थियो । केन्द्रले विभिन्न विद्यालयका सात हजार सात सय १८ जना विद्यार्थी को ‘इको स्क्रिनिङ’ समेत गरेको थियो ।

गत आव ०७९- ०८० को वार्षिक कार्यक्रम सञ्चालनका लागि सरकारतर्फ ५४ करोड २९ लाख खर्च भई सय प्रतिशत वित्तीय प्रगति भएको केन्द्रको प्रगति विवरणमा उल्लेख छ । यस्तै आन्तरिकतर्फ एक अर्ब ५१ करोड ९४ लाख बजेटमा एक अर्ब ४७ करोड ५८ लाख खर्च भई ९७ प्रतिशत वित्तीय प्रगति भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ