arrow

विद्या भन्छिन्- केपी ओली सर्वाधिक प्रतिभाशाली नेता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
KP-Bidhya.jpg

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताहरूको रूपमा चित्रण गरेकी छन् । मंगलवार काठमाडौँमा आयोजित ‘संसद्मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रूपमा रहन सक्ने नेता भएको समेत बताइन् । 

पूर्व राष्ट्रपति भण्डारीले संसद्मा गरेका भाषणहरू पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताइन् । उनले सो पुस्तकले नेपाली संसद्को इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिका समेत उजागर गरेको बताइन् । 

उनले भनिन्, ‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उन नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ । उन राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र सङ्घर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ । यसर्थ, श्री केपी शर्मा ओलीले संसद्मा गरेका भाषणहरू पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण छन् । र ती संकलनीय र संग्रहणीय पनि रहेका छन् । त्यसैले पनि यस पुस्तकको विशेष महत्त्व रहेको छ । निरङ्कुश तानाशाही शासन व्यवस्थाको अन्त्य, लोकतन्त्र र मानव अधिकारको स्थापना, जनताको पक्षमा राजनीति गर्ने सिलसिलामा उनले १४ वर्ष लामो कष्टपूर्ण जेल जीवन बिताउनु भएको छ । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि भने उन नेकपा एमालेको तर्फबाट २०४८, २०५१ साल र २०५६ सालमा संसद सदस्य तथा २०७४ सालमा २०७९ मा समेत संसद्मा निर्वाचित हुनुभएको छ । यस क्रममा उन २०५१ सालमा गृहमन्त्री, २०६४ मा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री, २०७२ मा पहिलो पटक र २०७४ मा दोस्रो पटक र २०७८ मा तेस्रो पटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ । उनले यिनै जिम्मेवारीमा रहँदा कहिले विपक्षी नेताको रूपमा, कहिले मन्त्री वा प्रधानमन्त्रीको रूपमा प्रतिनिधिसभा व्यवस्थापिका संसद र संविधानसभामा सम्बोधन गरेका विचारहरू यस पुस्तकमा समेटिएका छन् । श्री केपी शर्मा ओलीज्यूले संसद्मा बोल्नुभएका कुराहरू कथ्यको रूपमा संसद सचिवालयमा मात्रे थन्किरहेको अवस्थामा त्यसलाई अभिलेखीकरण गरी यस पुस्तकका माध्यमबाट आज सार्वजनिक गर्ने काम सम्पन्न भएको छ । अव यी मन्तव्यहरू आम पाठकका बीचमा आएका छन् । नेपालको लोकतान्त्रिक शासन व्यवस्था र राष्ट्रिय विकासका लागि राजनीतिक नेताहरूले गरेका सार्वजनिक अभिव्यक्तिहरूको दस्तावेजीकरणले ठुलो महत्त्व राख्दछ । अव यो सङ्ग्रह सबैको साझा सम्पत्ति भएको छ । यस्ता अभिलेखहरू भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्न सक्दछ । साथै अनुसन्धानकर्ताहरू, इतिहासकारहरू तथा आम पाठकलाई कुनै निश्चित समय अवधिको परिवेश, चुनौतीहरू र जनताका आकाङ्क्षाहरू बुझ्न यस्ता अभिलेखहरू उपयोगी हुन सक्दछन् । लोकतन्त्रमा नागरिकहरूलाई उनीहरूको जीवनमा असर गर्ने निर्णयहरू र आफूले चुनेर पठाएका प्रतिनिधिले गरेका कामहरूका बारेमा जानकारी प्राप्त गर्ने अधिकार हुन्छ । सार्वजनिक भाषणहरूको दस्तावेजीकरणले एकातर्फ राजनीतिक नेताहरूलाई आफूले जनताको सामु गरेका वाचाहरू, घोषणाहरू र गरेका कार्यहरूका लागि जबाफदेही बनाउन सहयोग गर्दछ भने अर्कोतर्फ आफ्नो विचार, दृष्टिकोण एवं पहलहरूलाई जनता समक्ष पुर्‍याउन सञ्चार पुलको काम समेत गर्न सक्दछ भन्ने मलाई लाग्दछ । यस पुस्तकले नेपाली संसद्को इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिका उजागर गरेको छ ।’

पूर्व राष्ट्रपति भण्डारीले सो पुस्तक नेताहरूलाई जनतासँग गरेका वाचा पूरा गराउन पनि उपयोगी हुने विश्वास व्यक्त गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ