- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
जनकपुरमा बिहीबार समाजवादी पत्रकार सङ्घ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
उनले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने कुरा प्रधानमन्त्रीले विचार नपुर्याई भनेको बताए । उनले गम्भीर कुराहरूमा बोल्दा गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको भए उचित हुने बताए ।
उनले तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोइरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै उनले सरसल्लाह बिनै प्रधानमन्त्री दाहालले छानबिन गर्ने कुरा गरेको भन्दै आपत्ति जनाए ।
दरबार हत्याकाण्डको केही समयपछि नेकपा एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी भएको हुनसक्ने भन्दै उनसँग बुझ्ने बताए ।
उनले भने, ‘जहाँसम्म दरबार हत्याकाण्डको कुरा छ । त्यतिखेर मेरो नाम आएको थियो । तपाईँहरूले बिर्सिनुभएको छैन होला । मैले के राखेको थिएँ भन्दा म भनेको कम्युनिस्ट पार्टीको नेता हो । म प्रतिपक्ष दलको नेता हो भने सत्तापक्षको नेता पनि त्यो आयोगमा बस्नुपर्छ । गिरिजाबाबु बस्ने हो भने म पनि बस्छु, होइन भने दोष हामीलाई आउने अनि नेपाली काँग्रेस जोगिने त्यो बेलाको स्थिति बन्थ्यो । त्यसैले मैले अरूले बसेर हुँदैन, राजनीतिक नेतालाई राख्ने हो । होइन भने राख्नै छ भने हाम्रो पार्टीबाट भरत मोहन अधिकारीलाई राख्नुस् । उन कानुनको ज्ञाता पनि हो । भनेर मैले प्रस्ताव राखेको थिएँ । त्यो कुरा सुन्नमा आएको थिएन । तर यो पनि सत्य हो, त्यो आयोग बनाउन मेरो नै भूमिका हो । त्यो बेलाको तत्कालीन राजा ज्ञानेन्द्र मानिरहेका थिएनन् । उनी राजा त भइसकेका थिएनन्, उनले भनिरहेका थिए । म आफैँ गर्छु छानबिन भनेका थिए । तपाईँको छानबिन कोही मान्ने वाला छैनन् भन्ने मान्छे मै हुँ । छानबिन आयोग बनाउन त बनाए मलाई पनि जोडिदिए । राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ । सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन गर्यो । कति सबै ल्याउन सक्यो । सकेन आफ्नो ठाउँमा छ । अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो । यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो । हामीसँग पनि सल्लाह भएको छैन । मैसँग पनि सोधे त हुन्थ्यो नि । कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो । के गर्ने माधव बाबु भन्नु हुन्थ्यो । हाम्रो प्रचण्ड जी छिटो बोलिहाल्नुहुन्छ । वंश सकिएकाले गर्छन्, बाँकी हुनेले गर्छन् भन्ने अर्थ लाग्छ । तीर त्यतै सोझिन्छ । ओलीजी अलि पछि गृहमन्त्री भई प्रधानमन्त्री पनि भएकाले उनले धेरै सूचना पाउनुभएको छ की उनलाई सोध्नुपर्ला ।’
अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै कतिपयलाई गठबन्धन नपचेर वान्तमा हुने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्म चल्ने दाबी गरे ।