arrow

राष्ट्रिय कृषक समूह महासंघमा चर्को विवाद, बागमतीमा केन्द्रको हस्तक्षेप

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
farmers-group-2080.jpg

काठमाडौँ । देशभरका कृषकहरुको साझा संस्था राष्ट्रिय कृषक समूह महासंघ राष्ट्रिय महाधिवेशनमा जुटेको समयमा बागमती प्रदेशको प्रतिनिधिका विषयमा केन्द्रिय कार्यसमितिले हस्तक्षेप गरेपछि विवाद चर्किएको छ ।  फागुन ५ र ६ गते नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा प्रतिनिधि भेला हुने क्रम तीव्र भए पनि बागमती प्रदेशको प्रतिनिधिको विषयमा विवाद उठेको हो ।

बागमती प्रदेश अधिवेशन निर्वाचन समितिका संयोजक तथा केन्द्रीय समितिका उपाध्यक्ष पंचकाजी श्रेष्ठले फागुन १ गते बागमती प्रदेश समितिलाई पत्र लेख्दै महाधिवेशन प्रतिनिधिका नामावली टुंग्याउन केन्द्रीय कार्यालयमा बोलाएपछि विवादले चर्को रुप लिएको हो । 

महासंघको बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन पुस २६ गते सम्पन्न भएको थियो । श्रेष्ठले महासंघको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको प्रकृया अगाडि बढेता पनि प्रकृयाले पूर्णता पाउन नसकेका कारण अधुरो रहेको कामलाई पूर्णता दिन फागुन ४ गते दिउँसो २ बजेलाई बैठक बोलाएका छन् । प्रदेश समितिले प्रतिनिधिको नामावली पठाइसकेको जवाफ दिएको छ ।

प्रदेश समितिले पठाएको जवाफमा भनिएको छ, ‘मिति २०८० फागुन १ गतेको पत्र प्राप्त भयो । प्रदेश प्रतिनिधि पठाउने सम्बन्धमा मिति २०८० माघ १९ गते प्राप्त पत्र अनुसार मिती २०८० माघ २० गते भएको बागमती प्रदेशको अधिवेशनमा हलले अनुमोदन गरेका १३ जना र प्रदेश कार्यसमितिले निर्णय गरेका थप २ जना गरि बिधानले व्यवस्था गरेको १५ जना प्रतिनिधिहरूको नामावली पठाइ सकिएको ब्यहोरा पुनःस्मरण गराउन चाहन्छौँ ।’

राष्ट्रिय कार्यसमितिको उपाध्यक्ष पंचकाजी श्रेष्ठ महासचिव रिता बस्ताकोटी र राष्ट्रिय निर्देशक केदार कोइराला रहेको निर्वाचन समितिले प्रदेश प्रतिनिधिहरू उपस्थित हलले १३ जनाको नाम अनुमोदन गरिसकेको प्रदेश अध्यक्ष विजय लामाले जनाएका छन् । 

उनले पत्रमा भनेका छन्, ‘माघ २० गते बसेको बागमती प्रदेश कार्यसमितिको बैठकले प्रदेश अध्यक्ष (जनजाति) र उपाध्यक्ष (महिला) प्रतिनिधि थप गरि पठाउन गरेको निर्णय सहित राष्ट्रिय कार्यसमितिको प्रतिनिधिको विवरण उपलब्ध गराउने सम्बन्धमा लेखिएको मिती २०८० माघ १९ जारी भएको प्राप्त पत्र अनुसार १५ जना प्रतिनिधिहरूको विवरण पठाइसकिएकोमा राष्ट्रिय महाधिवेशन शुरु भइसकेपछि पुनः बागमती प्रदेश कार्यसमितिको बैठक बोलाउनु भन्ने ब्यहोराको पत्र प्राप्त भएकोमा प्रदेश कार्यसमिति आश्चर्यमा परेको छ ।’

लामाले भनेका छन्, ‘आएका विवाद समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने केन्द्रले बागमती प्रदेश अधिवेशन र कार्यसमितिले गरेको निर्णयलाई नजरअन्दाज गर्ने चेष्टा गरियो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार लिन समेत समग्र प्रदेश कार्यसमिति यहाँ समक्ष आग्रह गर्दछौँ ।’

आफू प्रतिकूलका प्रतिनिधि रोक्नका लागि वर्तमान अध्यक्ष नबराज बस्नेत, उपाध्यक्ष पंचकाजी श्रेष्ठ सहितले विवाद उत्पन्न गरेका हुन् । वागमतीबाट सस्थापक अध्यक्ष उद्धव अधिकारी प्रनितिधि छन् । एक प्रतिनिधिले भने, ‘सस्थापक अध्यक्षलाई प्रतिनिधिबाट हटाउन विवाद निकालिएको हो ।’

नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले चुनावी अभियानलाई तिब्रता दिएका छन् । अध्यक्षका लागि सस्थापक अध्यक्ष उद्धव अधिकारी, महासचिब रीता बस्ताकोटी, उपाध्यक्ष पञ्चकाजी श्रेष्ठ चुनावी दौडमा छन् । 

संस्थाको विधि, विधान र परम्परालाई कुल्चिएर ‘आर्थिक चलखेल’ र ‘दलीय राजनीति’ भित्रिएको भन्दै केही प्रतिनिधिहरुले खुला रुपमा विरोध जनाउन थालेपछि नयाँ नेतृत्व चयन थप पेचिलो बन्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ