arrow

कांग्रेस महासमिति बैठक

हाम्रो मतदातालाई रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ : गगन थापा [भिडियो]

थापाको प्रस्ताव- निर्वाचन पूर्व गठबन्धन नगरौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
gagan-thapa-2080-11-08b.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका मतदातालाई कांग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने प्रस्ताव राखेका छन् । मंगलबार महासमितिको बैठकमा साङ्गठनिक प्रतिवेदन पेस गर्दै महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्वक गठबन्धन गर्न नहुने प्रस्ताव अघि सारेका हुन् । 

उनले २० बुँदे साङ्गठनिक सुधारको कार्य योजना समेत प्रस्तुत गरेका छन् ।  उनले यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने सङ्कल्प गर्नुपर्ने बताए । 

उनले मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्ने बताए । उनले सङ्गठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनः स्थापित गर्नुपर्नेमा जोड दिए । 

उनले विगतमा पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारिता प्रदर्शन गर्नुपर्नेमा पनि कांग्रेस सचेत रहेको बताए ।

उनले भने– ‘नेपाली कांग्रेसले यस विषयमा विशेष सङ्कल्प गर्नुपर्छ कि, एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाको लागि नेपाली कांग्रेसले निर्वाचन अगाडीको गठबन्धनको नेतृत्व गर्नुपर्‍यो । गत निर्वाचनमा नेपाली कांग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारिता प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ । कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा चुनाव पछाडि स्वाभाविक हुनसक्छ । तर निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नरहेर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै मेरो प्रस्ताव छ, नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ सङ्कल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौँ । र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ । हाम्रो आफ्नै सङ्गठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनः स्थापित हुनेछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ