यज्ञवल्क्यको ४ राजनैतिक उपाय : ‘साम, दाम, दण्ड र भेद’

डा‍ प्रकाश ढकाल प्रकाशित मिति : २०७३ मङ्सिर ३ शुक्रबार
तस्वीर : वेभ
काठमाडौं । राजनीतिमा उपाय अत्यन्त आवश्यक तत्त्व हो । उपाय विना कुनै पनि कार्यमा सिद्धि प्राप्त गर्न कठिन हुन्छ । राज्यको संरक्षण गर्न, संवर्धन गर्न, योगक्षेम साधन गर्न उपाय आवश्यक हुन्छ  । शत्रुहरूलाई आफ्नो वशमा ल्याउन, राज्यको दैनिकी कार्यव्यवस्था चलाउन, लोक रिझाउन समेत उपायको अवलम्बन गर्नुपर्ने हुन्छ । 
 
महाभारतमा कुन्तीले युधिष्ठिरलाई साम, दाम, भेद र दण्डको प्रयोग गरेर भएपनि डुबेको बाबुको अंश फिर्ता ल्याउन भनेबाट राजनीतिमा उपाय महत्त्वपूर्ण भएको सिद्ध हुन्छ । राजा वा शासकका निम्ति उपाय अत्यन्त आवश्यक हुन्छ । शास्त्रहरूमा कार्यसिद्धिको लागि धेरै प्रकारका उपायहरू बताइएको छ । मुख्यतः उपायहरू चार प्रकारका छन् । 
 
याज्ञवल्क्यले साम दान भेद र दण्ड भनी चार प्रकारका राजनैतिक उपायहरू बताएका छन् । कसैलाई केही दान गरेर प्रसन्न तुल्याई आफ्नो वशमा पारिन्छ भने त्यो दान–उपाय हो । शत्रुहरूका बीचमा एक आपसमा मतभेद उत्पन्न गराई लडाई शक्ति क्षीण गराउनु भेद–उपाय हो । आफ्नो वशमा राख्नु दण्ड उपाय हो । 
 
विजयको महत्वाकांक्षी राजाले चार उपायको अवलम्बन गनैपर्ने हुन्छ । राजकीय परम्परा एवं काम कारबाहीमा उपायले अत्यन्त महत्व राख्दछ । उपाय भनेको कार्यलाई सफल बनाउने गुह्य तत्व हुन् । यिनीहरू अमूर्त हुन्छन्  । कुनै पनि कार्यको सफलताका निम्ति अपनाइने नियमित प्रक्रिया भन्दा बाहिरको प्रयोग नै उपाय हो । राजनीतिमा उपायको प्रमुख भूमिका रहन्छ । उपायको प्रयोग बारेमा अनभिज्ञ रहेको राजाले कहिल्यै सफलता हासिल गर्न सक्दैन । 
 
साम 
कसैको स्तुति गाई आफ्नो नाता सम्बन्ध वा कुनै कारणले आफुतर्फ आकृष्ट गराई शत्रुलाई आफ्नो नियन्त्रणमा राख्न सक्नु नै साम  हो  । यो उपाय अन्तर्गत प्रियवचन बोलेर मिठो तरिकाले फकाएर कसैलाई आफ्नो वशमा पारिन्छ । युद्धको स्थिति नै आइलागेको समयमा सकेसम्म त्यसलाई टार्नका लागि साम नीतिको अबलम्बन गर्नु राम्रो हुन्छ । सामनीतिले कार्यसिद्धि हुने अवस्थामा दण्डनीतिको प्रयोग बुद्धिमान्ले गर्नुहुँदैन । गुलियो औषधिले नै पित्तको रोग निको पार्दछ भने तितो औषधि खानु व्यर्थ हुन्छ ।  सामका पाँच प्रकार छन् । ती हुन् गुण संकीर्तन, सम्बन्धोपाख्यान, परस्परोपकारसन्दर्शन, आयति प्रदर्शन र आत्मोपनिधान । 
 
गुणसंकीर्तन — कसैको स्तुति गरेर, उसको गुणको चर्चा गरेर उसलाई आफ्नो बनाई नियन्त्रणमा राख्नु नै गुण संकीर्तन हो । 
 
सम्बन्धोपाख्यायन — आफ्नो पुर्खाको नाता सम्बन्ध देखाएर वा आफुले मित वा कुनै प्रकारको साइनो जोडेर विपक्षीसँग जोगिने प्रक्रिया सम्बन्धोपाख्यायन हो । नेपालमा मल्लकालमा राजा जयस्थिति मल्लले छोरी भृकुटीलाई तिब्बतका राजासँग विवाह गरिदिई आफ्नो छुट्टै सम्बन्ध कायम गरेका थिए । नेपालको एकिकरणका सबालमा श्री ५ पृथ्वीनारायण शाहले भक्तपुरका राजासँग मित लगाएरै काठमाडौं कब्जा गरेका थिए । 
 
परस्परोपकारसन्दर्शन — एक आपसमा सहयोगको लेनदेन गरेर सम्बन्ध राम्रो बनाउने प्रक्रिया परस्परोपकारसन्दर्शन हो । 
 
आयतिप्रदर्शन — आफ्नो शक्ति सामथ्र्यको हल्ला फिँजाएर अरुलाई सन्त्रस्त पार्दै आफ्नो पाशमा अल्झाइराख्ने सामथ्र्य आयतिप्रदर्शन हो । 
 
आत्मोपनिधान — आफु कमजोर भएको बुझेर विविध नाता सम्बन्ध तथा सम्पत्तिको प्रलोभनमा पारेर आफू मिल्न जानु नै आत्मोपनिधान हो । आत्मसमर्पण नै यसको स्वरूप हो । यसरी सामको विश्लेषण गरिएको छ । सहमति नै साम हो । 
 
दान 
कसैलाई सहयोग वा रकमले सन्तुष्ट बनाएर आफ्नो अनुकूल बनाउनु दान हो । धन, द्रव्य आदिले कसैको उपकार गर्नु नै दान हो ।
 
भेद
शत्रुहरूलाई एक आपसमा लडाउने सामथ्र्य राजामा हुनुपर्दछ । शत्रुहरूबीचको आपसी द्वन्द्वले पनि राजालाई फाइदा हुन्छ । शत्रुका मनमा डर उत्पन्न गराइदिनु नै भेद हो ।
 
दण्ड 
कुनै पनि व्यक्ति वा समूह राजा वा शासकका विरुद्धमा रहन्छ भने त्यसलाई कुनै उपायद्वारा निर्मूल गर्नु राजकीय दायित्व हो । साम, दान र भेदले पनि उक्त समस्याको समाधान गर्न सकिएन भने दण्ड दिनैपर्ने हुन्छ । शत्रुलाई पराजित गर्नु राजाको प्रथम कर्तव्य हो । शत्रुलाई मारिदिनु, दुःख दिनु र धन खोस्नु नै दण्ड हो  । यसरी राजाले चार प्रकारका उपायहरूको प्रयोग मार्फत् शत्रुक्षय गर्नुपर्दछ ।
 
नयाँ