arrow

राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै, कायापलट नभए प्रचण्डका भाइ पक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
narayan-dahal-yubraj-sharma-upper-house.jpeg

काठमाडौँ । राष्ट्रिय सभाको भावी अध्यक्षका लागि आज मतदान हुँदैछ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।

संसद सचिवालयका अनुसार बिहान ११ः०९ बजे निर्वाचन प्रकिया शुरू हुनेछ । संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार दाहाल र प्रतिपक्षीबाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की अछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।

नेकपा एसबाट भुसाल समर्थक भए पनि सो पार्टीले भने बुधबार प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा लिखित सहमति गरेपछिमात्रै विश्वासको मत दिने भनिरहँदा मंगलबारको चुनावमा पनि असर पर्छकी भन्ने आशंका मात्रै छ । यद्यपि नेकपा एस सरकारमा गइसकेको छ । 

उता प्रतिपक्षबाट राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार शर्माको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना (कांग्रेस) तथा समर्थकमा किरणबाबु श्रेष्ठ (कांग्रेस र शेखरकुमार सिंह (लोसपा) रहेका छन् । 

राष्ट्रिय सभामा पहिलो दल माओवादीका एक मनोनीत र उपाध्यक्षसहित १८ सांसद छन् । एमालेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । सत्तासाझेदार रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम पनि रहेका छन् । 

यो आँकडाअनुसार ३९ सांसद भएको सत्ता गठबन्धनले राष्ट्रिय सभा अध्यक्षको चुनाव जित्ने पक्का छ । नारायण नातामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ पर्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ