arrow

कमिशन घटाउने चर्चाले आत्तिए स्टक ब्रोकर, भरोसा अर्थमन्त्रीको 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौंँ । सत्ता समीकरण परिवर्तन र नयाँ अर्थमन्त्रीको आगमनसँगै यतिबेला शेयर बजारमा ब्रोकर कमिशन घटाउने विषयले चर्चा पाएको छ । गत कार्तिकमा नेपाल धितोपत्र बोर्डले गरेको सिफारिस गरी अर्थ मन्त्रालयमा पठाएको १० प्रतिशत ब्रोकर कमिशन घटाउने प्रस्ताव अहिले अर्थ मन्त्रालयमा अनिर्णित अवस्थामा रहेको छ । 

उक्त फाइललाई सदर गराएर बजारको मनोविज्ञान उकास्न लगानीकर्ताहरूले अर्थमन्त्री वर्षमान पुनमाथि दबाब बढाएका छन् । यो विषयमा उनी सकारात्मक रहेको बुझिएको छ । 

यही कुरालाई सहयोग पुग्ने गरी अर्थमन्त्री पुनले आइतबार पूँजीबजार सम्बद्ध नियमनकारी निकायहरूलाई पत्र पठाउँदै पूँजीबजार सुधारको कार्ययोजना पठाउन निर्देशन दिए । एक हप्ताको समय दिएर पठाइएको उक्त निर्देशनको जवाफमा धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने निर्णयको फाइललाई सदर गर्ने विषयमा सुझाव दिने सम्भावना बढी छ । 

ब्रोकर कमिशन घटाउने प्रयास चलिरहँदा ब्रोकरहरू भने यो निर्णयबाट आत्तिएका छन् । घट्दो बजारसँगै कारोबारसमेत घटिरहेको समयमा यो निर्णय गर्दा ब्रोकरहरू चल्नसक्ने अवस्था नरहने स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटा बताउँछन् । अहिले नै नोक्सानमा चलिरहेका केही कम्पनीहरू यो निर्णयबाट बन्द हुनसक्नेसमेत उनको भनाइ छ । 

कमिशन घटाउन नदिन ब्रोकरको तर्क
अहिलेको अवस्थामा कमिशन घटाउनु हुँदैन भन्नुमा ब्रोकरसँग चारवटा तर्क छ । एशोसिएसनका अध्यक्ष सापकोटा घट्दै गएको कारोबार रकम, ब्रोकरको संख्यामा वृद्धि, आम्दानीको वैकल्पिक बाटो नभएको तथा ब्रोकरको लगानी र नाफाको अवस्थाका कारण तत्काल यस्तो निर्णय गर्न नहुने बताउँछन् । 

उनका अनुसार पछिल्लो समय शेयर बजारको कारोबारमा उत्साह छैन । कुनै समयमा दैनिक २० अर्ब हाराहारीमा भएको कारोबार अहिले दैनिक २–३ अर्बमा झरेको छ । कारोबार रकमसँगै ब्रोकरको आम्दानीसमेत घट्दा अहिले कतिपय कम्पनीहरू नोक्सानमा सञ्चालन भइरहेको उनको भनाइ छ । अहिले कमिशन घटाउँदा आम्दानीमा थप कमी भइ कतिपय कम्पनीहरू बन्द हुनसक्ने उनको भनाइ छ । 

अघिल्लो वर्ष मात्रै नेपाल धितोपत्र बोर्डले ४३ वटा नयाँ ब्रोकरहरूलाई लाइसेन्स दियो । त्यतिबेला ५० वटा रहेका स्टक ब्रोकरको संख्या यतिबेला ९३ वटा पुगेको छ । 

यसरी ब्रोकरको संख्या बढ्दा यसले बजार हिस्सासँगै नाफासमेत घटाएको अध्यक्ष सापकोटा बताउँछन् । यस्तो अवस्थामा कमिशन घटाउन नहुने उनको भनाइ छ । 

ब्रोकरहरूको अर्को तर्क भनेको नेपालमा सञ्चालित ब्रोकरहरूलाई आम्दानीको वैकल्पिक स्रोत खुला छैन भन्ने हो । ब्रोकर कमिशन समायोजन गर्नुअघि यस्ता स्रोतहरू खुला गर्नुपर्ने सापकोटा बताउँछन् । 

उनका अनुसार विश्व बजारमा ब्रोकरको आम्दानीको करिब १५ प्रतिशत हिस्सा मात्रै कारोबारको कमिशनबाट हुने गरेको छ । बाँकी आम्दानी मार्जिन लेन्डिङ, एकाउन्ट ह्यान्डेलिङ, प्रोपाइटोरियल ट्रेडिङ, एड्भाइजरी सर्भिस, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस लगायतबाट हुने गरेको उनको भनाइ छ । 

नेपालमा यीमध्ये अधिकांश गतिविधिमा ब्रोकरलाई रोक लगाइएको छ । मार्जिन लेन्डिङ लगायतका केही कार्यहरू खुला भए पनि यस्तो सुविधा लिनेको संख्या न्यून छ । यस्तो अवस्थामा लगभग शतप्रतिशत आम्दानी ब्रोकर कमिशनबाटै आउने उनको भनाइ छ । यस्तो अवस्थामा ब्रोकर कमिशन घट्दा ब्रोकरलाई ठूलो क्षति पुग्ने ब्रोकरहरू बताउँछन् । 

अहिले ब्रोकहरूले बजारमा करिब ११ अर्बको पूँजी लगानी गरेका छन् । उक्त लगानीमा औसत १५ प्रतिशत नाफा गर्न वार्षिक १ अर्ब ६५ करोड रुपैयाँ नाफा चाहिन्छ । अहिलेको अवस्थामा यति नाफा कमाउन सक्ने अवस्थासमेत नरहेको अध्यक्ष सापकोटाको दाबी छ । शाखा विस्तारसँगै कर्मचारी र सञ्चालन खर्चसमेत बढेकोले यस्तो अवस्था भएको उनको भनाइ छ ।

‘यी कारणहरूले गर्दा बजारको बारेमा अध्ययन नगरी ब्रोकर कमिशन घट्नु हुँदैन भन्ने हाम्रो भनाइ हो,’ सापकोटा भन्छन्, ‘गर्ने नै हो भने पहिले वैज्ञानिक तरिकाले अध्ययन गरौँ अनि घटाऔँ । पब्लिक स्टन्टको लागि अन्धाधुन्ध रुपमा नघटाऔँ भन्ने हाम्रो भनाइ हो ।’

यस्तो छ ब्रोकरको कमाइ
धितोपत्र बोर्डले तोकेको पछिल्लो कमिशन दर अनुसार ब्रोकरहरूले कारोबार बापत ०.२७ देखि ०.४० प्रतिशतसम्म कमिशन पाउने गरेका छन् । निर्धारित दररेट अनुसार ब्रोकरले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोडभन्दा बढी रकमको कारोबारमा ०.२७ प्रतिशत लिने गर्छन् । यस्तो कमिशन बिक्रेता र क्रेता दुवै पक्षबाट लिने गरिएको छ । 

म्युचुअल फण्डका इकाइ र सरकारी ऋणपत्रको कारोबारको कमिशन भने कम छ । यद्यपि यी फण्डहरूको कारोबार हिस्सा कम भएकाले यसले औसत कमिशनलाई धेरै कम गर्दैन । 

यसर्थ अहिले शेयर कारोबारबाट औसत ०.३५ प्रतिशत कमिशन आउने गरेको छ । यस्तो कमिशन क्रेता वा बिक्रेता दुवैबाट उठाइने भएकोले दोब्बर अर्थात् ०.७० प्रतिशत हुन आउँछ । यो रकममध्ये क्रेता र बिक्रेता कारोबार रकमको ०.०९ प्रतिशत रकम नेप्से, सीडीएस एण्ड क्लियरिङ तथा धितोपत्र बोर्डलाई बुझाउनुपर्छ । 

फेब्रुअरी महिनामा शेयर बजारमा २० दिन कारोबार भयो । यो अवधिमा बजारमा ६१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । अहिलेको औसत कमिशन अनुसार यो कारोबारबाट ब्रोकरले करिब ३२ करोड रुपैयाँ आम्दानी गरेका छन् । यो प्रतिब्रोकर औसत ३५ लाख रुपैयाँ हो । 

यो कारोबार रकम राम्रो देखिए पनि सबै ब्रोकरको अवस्था उस्तै नभएको, सञ्चालन खर्च महँगो भएको तथा लगानीसमेत धेरै रहेका कारण यो धेरै नभएको ब्रोकरहरूको तर्क छ । 

अहिले ब्रोकरको न्यूनतम चुक्ता पूँजी २० देखि ६० करोड रुपैयाँ छ । सञ्चालन खर्चदेखि करसम्म कटाउँदा अहिलेको कमिशनले पूँजीको प्रतिफल धान्नसक्ने अवस्था नै नभएको अध्यक्ष सापकोटाको दाबी छ । कमिशन घटाउँदा यसमा थप असर गर्ने उनको भनाइ छ ।

डेलिगेसनमा अर्को संघ
ब्रोकर कमिशन घट्न सक्ने चर्चा चलिरहँदा धितोपत्र ब्रोकरहरूको अर्को एशोसिएसन नेपाल धितोपत्र ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले आइतबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका थिए । 

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत पूँजीबजार फोरमका सदस्यसमेत रहेका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग अर्थमन्त्री पुनले आफ्नो ध्यान पूँजीबजारको नीतिगत सुधारमा भएको भन्दै लगानीकर्ताको मनोबल बढाउन आफू तत्पर रहेको बताए । यद्यपि भेटमा ब्रोकर कमिशनका बारेमा उनले केही उल्लेख गरेनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ