arrow

माछा चोरी हुनबाट जोगाउन बगरमै डेरा

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
fishnepal.jpeg
कञ्चनपुर । माछा चोरी हुनबाट जोगाउन कञ्चनपुरका देखतभूली र सङ्करपुरका राना थारु समुदायका व्यक्ति चार महिनासम्म दोदा नदीको बगरमा डेरा जमाएर बस्छन् । नदीमा माछा फसाउन राखिएका धिमरी र त्यसमा फसिएका माछा चोरी हुनबाट जोगाउन उनीहरु बगरमा बास बस्दै आएका हुन् । मङ्सिर महिनाको सुरुआतदेखि फागुनको अन्त्यसम्म माछा मार्नका लागि उनीहरु नदीमा धिमरी राख्ने गर्छन् । 
 
नदीको वारपार गरी माछा फसाउन राखिएका धिमरी बाँसबाट निर्माण गरिन्छन् । माछाभित्र छिर्न सक्ने र बाहिर निष्कन नसक्ने गरी बाकस आकारमा बाँसले बुनेर धिमरी बनाइने गरिन्छ । एक ठाउँमा दशदेखि पन्ध्र परिवारले माछा फसाउन नदीको बीचबीचमा लस्करै धिमरी राख्ने गरेका छन् । दोदा नदीको बीसभन्दा बढी ठाउमा यस वर्ष धिमरी राखिएको रामचरन रानाले बताए। दिउँसो माछा र धिमरीको हेरचाह गर्न जाने गरेपनि रातिका बेला नदी किनारामा बनाइएका अस्थायी कटेरामा पालैपालो बस्दै आएको बन्धो रानाले बताए । 
 
“रातिका बेला माछा चोरी हुने भएकाले माछा जोगाउन नदीको बगरमा बस्दै आएका छौँ”–उनले भने, “रात कटाउनका लागि कथा, गाउँ खाने कथा र गीत गाएर बस्छौँ ।”नदीमा धिमरी राखेर माछा मार्ने कार्य पुर्खादेखि चल्दै आएको हो, कन्हैया रानाले भने, “पुर्खाले माछा मार्न सिकाएको सीपलाई छाड्न सकेका छैनौँ ।” दुईदेखि तीन दिनमा नदीमा राखिएका धिमरी खोलेर माछा बाँडेर सबैले लिने गरेको फगुनी देवी रानाले बताए । 
 
यस वर्ष नदीमा पानीको बहाव बढी हुँदा माछा पनि बढी फस्ने गरेकाले एक पटकमा प्रतिपरिवार बीस किलो भन्दा बढी माछा भागमा पर्ने गरेको उनले बताए । भागमा परेको माछा केहीले सुकुटी बनाएर राख्ने र केहीले स्थानीय बजारमा लगेर बेच्ने गरेका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ