arrow

नेपालको कन्तविजोगः पीएनजीसँग ८५ रनमै आउट, ८६ रनले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
nepal-t20-always-03-13.jpg

काठमाडौँ । हङकङमा भएको टी–२० क्रिकेट श्रृंखलामा नेपाल उपविजेतामै सीमित भएको छ । बुधबार मोङकङमा भएको फाइनलमा नेपाल पपुवा न्यूगिनी (पीएनजी) सँग ८६ रनले पराजित भयो । 

१७२ रनको चुनौती पछ्याउने क्रममा नेपालले १६.३ ओभरमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले १३ बलमा सर्वाधिक १७ रन बनाए । दोस्रो उच्च योगफल भने नेपालले अतिरिक्त रनका रुपमा १६ रन उपहार पाएको थियो । 

पीएनजीका चार बलरले समान २–२ विकेट लिए ।  

यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्दै पीएनजीलाई १७१ रनमा रोक्यो । पीएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७१ रन बनायो । 

पीएनजीका लागि ओपनर टोनि उराले ३७ बलमा ६१ रन बनाए । एलि नाओले १० बलमा अविजित रहँदै ३० रन बनाए । 

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान ३–३ विकेट लिए । करण केसी र गुल्सन झाले १–१ विकेट लिए ।  

यसअघि नेपालले लिग चरणमा पीएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पीएनजीले भने हङकङमाथि १० विकेटको जित हासिल गरेर फाइनल यात्रा तय गरेको थियो । 

मंगलबार बिहान नेपालसँग पराजित पीएनजीले दिउँसो भने हङकङमाथि शानदार जित हासिल गर्दै फाइनल यात्रा तय गरेको थियो । 

पहिलो खेल हङकङसँग वर्षाले रद्द भइ अंक बाँडेसँगै नेपाल ३ अंकसहित फाइनलमा पुगेको थियो । पीएनजी २ अंकसहित फाइनलमा पुग्दा १ अंकको हङकङले घरेलु हङकङ ‘ए’ सँग तेस्रो स्थानका लागि खेलेको थियो । 

नेपालका लागि पीएनजी सजिलो प्रतिद्वन्द्वी भए पनि फाइनलको हार भने नेपालको लज्जास्पद हो । नेपाल र पीएनजीबीच अहिलेसम्म छ टी–२० खेल भएकामा नेपालले ४ र पीएनजीले २ खेलमा जित हासिल गरेको छ ।  

मंगलबारको नेपाल–पीएनजीको खेल–
हङकङको मोङककमा मंगलबार बिहान भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १९८ रन बनायो । 

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । कुशलले ३९ बलमा ५९ रन बनाए । त्यस्तै सन्दीपले २६ बलमा ५६ रन बनाए । 

कुशलसँग पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्ने क्रममा विनोद भण्डारीले २२ बलमा २७ रन बनाए । त्यस्तै कुशल र सन्दीपबीच चौथो विकेटका लागि ५० रनको साझेदारी भएको थियो । 

विवेक यादवले ४ बलमा अविजित रहँदै १९, लोकेश बमले ६ बलमा १४, गुल्सन झाले १२ बलमा अविजित रहँदै १५ रन बनाए । आरिफ शेख ४ तथा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए । 

जवाफमा उत्रिएको पीएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११३ रनमात्र बनाउन सक्यो । हिरि हिरीले सर्वाधिक २८ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अलराउन्डर कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । 

उनको टी–२० को अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । उनले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिएका हुन् । 

प्रतिस जीसीले २ तथा आकाश चन्द र गुल्सन झाले १–१ विकेट लिए । 

त्यस्तै नेपालले टिम ह्याट्रिकसमेत गरेको थियो । ११ औँ ओभरको अन्तिम बल र १२ औँ ओभरका शुरुआती २ बलमा विकेट लिँदै नेपालले टिम ह्याट्रिक गरेको थियो ।  

११ औँमा आकाश चन्दले विकेट लिएका थिए भने १२ औँमा कुशलले विकेट लिएका थिए । 

नेपालले हालै घरेलु मैदानमा खेलेको त्रिकोणात्मक श्रृंखलामा उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । तेस्रो टिम नामिबिया थियो । 

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि टी–२० श्रृंखलाहरु खेलिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ