arrow

प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
prachanda-80-11-30b.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो कार्यकालमा तेस्रो पटक विश्वासको मत पाएका छन् । बुधबार उनले २६८ सांसद उपस्थित भएकामा विश्वासको मत पाएका हुन् । 

उनको पक्षमा १५७ मत परेको छ भने हुन्न भन्ने पक्षमा ११० मत र मत नदिने पक्षमा १ मत परेको छ । प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक पर्नेमा उनले स्पष्ट बहुमत पाएका छन् । 

प्रचण्डले तेस्रो कार्यकालमा तेस्रो पटक विश्वासको मत लिएका हुन् । यसअघि प्रचण्ड २०६५ र २०७३ सालमा प्रधानमन्त्री भएका थिए । 

गत फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि बुधबार पुनः प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधि सभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए । 

संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ । 

त्यसबेला प्रतिपक्षमा बसेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए । 

सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए । सो दिन प्रतिनिधि सभामा भएको मतदानमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए । उनको विपक्षमा ८९ मत परेको थियो ।

यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । सो दलले विश्वासको मत फिर्ता लिएको छ ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सहितका पाँच दलले नयाँ गठबन्धन बनाएका छन् । 

प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ