arrow

प्रचण्डको ५७ प्रतिशत विश्वासको मत थप संकटतिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
prachanda-tension.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा तेस्रो पटक विश्वासको मत लिए । विश्वासको मत लिँदै गर्दा सहयात्रीहरुबीचमै अविश्वास देखिएको छ । अविश्वास देखिएकै कारण नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रचण्डलाई विपक्षीले भन्दा बढी घोचपेच गरे । खासगरी एमालेबाट विभाजित भएको नेकपा एसका सांसदहरु अहिलेको गठबन्धनप्रति सन्तुष्ट नहुँदा विश्वासको मत दिँदै गर्दा घोचपेच भएको थियो । 

१५ महिनामा तेस्रोपटक संसदमा विश्वासको मत लिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रतिको विश्वासमा सहकर्मीहरुबाटै अविश्वास देखिएको छ । अर्थात् विश्वासमा संकट देखिएको छ ।

२०७९ साल २६ पुसमा उनले संसदको झण्डै ९७ प्रतिशत मत प्राप्त गरेका थिए । ६ चैतमा दोस्रोपटक संसदको सामना गर्दा त्यो विश्वास घटेर ६३ प्रतिशतमा झरेको थियो भने ३० फागुनमा प्रधानमन्त्रीप्रतिको संसदको विश्वास ५७ प्रतिशतमा झरेको छ । अर्थात् सत्ता प्राप्तीका लागि प्रधानमन्त्री प्रचण्डले गरेको ओहोरदोहोरलाई राजनीतिक दलहरुले विश्वास गर्न सकिरहेका छैनन् ।

चुनावी गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस २०७९ मा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर २६ पुसमा कांग्रेससहित १० दलले उनलाई विश्वासको मत दिएका थिए । 

२७५ सदस्यीय प्रतिनिधिसभाका २६८ सांसदले प्रधानमन्त्री प्रचण्डलाई त्यतिबेला विश्वासको मत दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेलै प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर गठबन्धन भत्काउन ‘ढोक्सा’ थापेको बताएका थिए । 

नभन्दै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा प्रचण्ड कांग्रेस गठबन्धनमै फर्किए । जसको परिणाम कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । उनी निर्वाचित भएपछि गठबन्धन करिब एक वर्ष टिक्यो ।  

पौडेल राष्ट्रपति निर्वाचित भएपछि एमाले सरकारबाट बाहिरियो । त्यसपछि २०७९ चैत ६ मा विश्वासको मत लिँदा प्रचण्डले १७२ मत प्राप्त गरेका थिए । विपक्षमा ८९ मत मात्र थियो । 

२१ फागुन २०८० मा एमाले नेतृत्वको गठबन्धनमा फर्किएर विश्वासको मत लिँदा प्रचण्डप्रति संसदको समर्थन अझै खस्किएको छ । बुधबार संसद बैठकमा उपस्थित २६८ सांसदमध्ये प्रधानमन्त्रीको विश्वासको मत प्रस्तावको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ । 

यी तथ्यले संसदमा प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत बढ्दै गएको छ । यति मात्र होइन उनको आफ्नो पार्टीभित्र पनि उनलाई अविश्वास गर्ने जमात बढ्दै गएको छ । 

खासगरी जनार्दन शर्माहरुले उनलाई परिवारवादको आरोप लगाउँदै आएका छन् । गत फागुन १ देखि ३ गतेसम्म भएको विधान अधिवेशनबाट प्रचण्डलाई नै अध्यक्ष बनाउने गरी विधान पास गरेपछि माओवादी केन्द्रभित्र उनी बाहेक अरु कोही अध्यक्ष वा नेता छैनन् भन्ने भान हुन्थ्यो । 

त्यही भएर नेताहरुले अध्यक्षको परिवारवादको विरोध गर्न थाले । त्यतिमात्र होइन राष्ट्रिय सभा अध्यक्ष आफ्नै काकाको र सानीमाको छोरा भाइलाई बनाएपछि पार्टीभित्र उनको छवि धुमिल हुँदै गयो । 

अर्कोतर्फ माधव सापकोटा, माया शर्मा लगायतका सांसदहरुले मन्त्री चयनको विषयमा पनि प्रश्न उठाए । जसले गर्दा पार्टीबाहिर मात्र होइन पार्टीभित्र पनि उनी एक्लिदै गएका छन् । 

शान्ति प्रक्रियामा आएपछि सत्ता र शक्तिमा मात्र केन्द्रित हुँदा माओवादी र त्यसका अध्यक्ष प्रचण्डको क्रान्तिकारी छवि धुमिल हुदै गएको छ । आर्थिक विकास, सामाजिक न्यायका लागि जनतालाई मर्न र मार्न पे्ररित गरेका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि सत्ताकेन्द्रित हुँदा उनी र उनको पार्टीप्रतिको जनविश्वास घट्दै गएको छ । 

२०६२–६३ सालको आन्दोलनपछि शान्ति प्रक्रियामा आएको माओवादी त्यसयता सत्तावरिपरि मात्र घुमेको छ । शान्तिप्रक्रियामा आएपछिका १७ वर्षमा १४ वटा सरकार बनेका छन् । 

माओवादी झन्डै १४ वर्ष सरकारमा बसेको छ । चार पटक सरकारको नेतृत्व गरेको माओवादी २०६६ जेठ ११ गतेदेखि २०६७ माघ २२ सम्म माधवकुमार नेपाल र २०७० माघ २८ देखि २०७२ असोज २४ गतेसम्म सुशील कोइराला नेतृत्वको सरकारमा मात्र सहभागी भएन । बाँकी सबै समय सरकारमा रहेको छ । 

यद्यपि माओवादी प्रवक्तासमेत रहेका अग्नि सापकोटाले अहिले पार्टीको साख बढ्दै गएको दाबी गरेका छन् । विगतमा भन्दा अहिले माओवादी पार्टीले राम्रो काम गरेको उनको भनाई छ ।

‘हाम्रो पार्टीले सरकारको नेतृत्व गरेपछि भ्रष्टाचार विरोधी र सुशासनमा काम गरेको छ, जनताहरुले अपेक्षित राहत राहत पाएका छन्’, प्रवक्ता सापकोटाले भने । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा बुधबार संसद्मा भएको छलफलमा विपक्षी दलमात्र होइन सत्तारुढ दलहरूकै चर्को आलोचनाको सामना गर्नुपर्यो नि भन्ने प्रश्नको जवाफमा प्रवक्ता सापकोटाले लोकतन्त्रमा प्रश्न उठाउने अधिकार सबैमा भएको र अहिले प्रश्न उठेका सवालमा प्रधानमन्त्री प्रचण्डले जवाफसमेत दिएको बताए । 

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले संविधानको रक्षाका लागि पार्टीभित्रको व्यक्तिवादी चरित्रविरुद्ध विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर विष पिएर उभिएको पार्टीलाई प्रधानमन्त्री प्रचण्डले बाटोमा छोडेर हिँडेको आरोप लगाएका थिए । 

नेकपा एससँग कुनै पनि छलफल नगरेको पाण्डेको गुनासोको रूपमा सो भनाइ आएको थियो । ‘संविधानको रक्षाका लागि पार्टीभित्रको व्यक्तिवादी चरित्रविरुद्ध हामीले विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर विष पिएर तपाईको पक्षमा उभिएका थियौँ । हामीलाई बाटोमा छोडेर हिँड्नुभयो’, उनले प्रश्न गर्दै भने, ‘योभन्दा अनैतिकता के हुन्छ ? एकपटक हाम्रो पार्टीको ठाउँमा उभिएर सोच्नुहोस् ।’ 

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले घाँटी जोडेका दिन प्रधानमन्त्री पदको हालत के हुन्छ भन्ने प्रश्न पनि गरे । 

‘ओलीजी र देउवाजीले घाँटी जोडेका दिन तपाईको प्रधानमन्त्रीको पदको हालत के हुन्छ ? हेक्का राख्नुहोला,’ उनले भनेका थिए । यो विषयमा प्रचण्डले मन नलागेमा मत नदिन आग्रह गरेका थिए । तर पछि नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ