arrow

चौँतीस वर्षमा नागरिक लगानी कोष, अढाइ खर्ब बढीको पोर्टफोलियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
nagarik-lagani-kosh-2080.jpg

काठमाडौँ । नागरिक लगानी कोष (सीआईटी) ३४ औं वर्षमा प्रवेश गरेको छ । २०४७ सालमा चैत ४ गते स्थापना भएको कोषले आइतबार ३३ वर्ष पूरा गरेको हो । 

सो अवसरमा कोषले आइतबार एक कार्यक्रम आयोजना गर्यो । कोषको केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनलगायत अर्थ मन्त्रालयका उच्चपदस्थ अधिकारी र लगानीकर्ता संस्थाका प्रतिनिधिहरुसमेत सहभागी थिए ।  

३३ वर्षको यो अवधिमा कोषले करिब अढाई खर्बको पोर्टफोलियो बनाएको छ । गत पुस मसान्तसम्म कोषको वासलातको आकार २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको हो । हाल कोषसँग ५ अर्ब ३१ करोड चुक्ता पुँजी तथा २४ अर्ब ४१ करोड रुपैयाँ बराबरको जगेडा कोष रहेको जनाएको छ । 

त्यस्तै, बचतवृद्धि कोष, अवकाश कोष, उपदान कोष, निवृत्तिभरण कोष, बीमा कोष लगायत कोषहरु सञ्चालन गर्दै आएको छ । सरकारी कर्मचारी, सेना, प्रहरी, संगठित क्षेत्रका कर्मचारी एवं सर्वसाधारण समेतले कोषमा विभिन्न स्किममार्फत् बचत गर्न पाउने व्यवस्था गरिएको छ । 

अघिल्लो त्रैमाससम्म सीआईटीले १ खर्ब २४ अर्ब मुद्दती खातामा, ५१ अर्ब बचतकर्तालाई सापटी, ३० अर्ब ९५ करोड संगठित संस्थाका शेयरमा २४ अर्ब ८९ करोड समकालीन कर्जामा लगानी गरेको जनाएको छ ।  

लगानीको सुरक्षामा चासो
कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले कोषलाई आफ्नो लगानीमा विगतको कमजोरीबाट सिक्न आग्रह गरे । विगतमा विभिन्न क्षेत्रमा गरिएको लगानीको ऋण उठ्न नसकेको विषयलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् । उनले कोषलाई पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह समेत गरेका थिए । 

अर्थमन्त्रीले यसो भन्दै गर्दा कोषले सरकारकै जमानीमा नेपाल वायुसेवा निगमलाई दिएको ऋण बढी समस्यामा छ । 

सीआईटी र कर्मचारी सञ्चय कोष (ईपीएफ) ले निगमलाई २०७३ सालमा संयुक्त रुपमा करिब २४ अर्ब रुपैयाँ ऋण दिएका थिए । एउटा वाइडबडी र अर्को न्यारोबडी जहाज किन्नको लागि दिइएको उक्त ऋणमा सीआईटीको हिस्सा ९ अर्ब थियो । प्रत्येक ६ महिनामा १५ वर्षसम्म नियमित किस्ता बुझाउने शर्तमा दिइएको उक्त ऋणको किस्ता लामो समयसम्म उठ्न सकेन । पछिल्लोपटक दुई किस्ता भने निगमले समयमै भुक्तानी गरेको छ । 

यस बाहेक कोषले विभिन्न फाइनान्स कम्पनीमा निक्षेपको रुपमा गरेको ७५ करोड रुपैयाँ भन्दा बढी निक्षेप समस्यामा परेको छ । 

समस्याग्रस्त घोषण भएको हिमालयन फाइनान्स, क्रिष्टल फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स र नेपाल शेयर मार्केट फाइनान्समा सो बराबरको रकम फसेको हो । 

अहिले हिमालयन फाइनान्स र क्रिष्टल फाइनान्स खारेजीमा गएका छन् । क्यापिटल मर्चेन्ट र नेपाल शेयर मार्केट एण्ड फाइनान्स अहिले पनि प्रक्रियामा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ