arrow

माओवादी वरिपरि घुम्यो अवैध सुन प्रकरण, राजश्वका महानिर्देशकसँग गृहमन्त्रीले लिए ब्रिफिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सुन तस्करीमा प्रकरणमा माओवादी केन्द्रमा उच्च नेताहरू जोडिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासँग डेढ घण्टा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तस्करीमा जोडिएकी अमला रोकालाई जोगाएको विषयमा लामिछानेले ढुंगानासँग ब्रिफिङ लिएको स्रोतको दाबी छ । 

‘राजश्व अनुसन्धान विभागका महानिर्देशकलाई गृह मन्त्रालयमा बोलाएर कुराकानी गरिएको हो’, मन्त्रालय उच्च स्रोतले भन्यो । 

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनमा माओवादी शीर्ष नेताहरू र तिनका छोराहरूको संरक्षण रहेर सुन तस्करी भएको निष्कर्ष निकाले पनि अमला रोकालाई कसले भगायो भन्ने बारेमा केही उल्लेख छैन । 

अमला रोका अहिले पनि रोल्पाली नेताहरूको संरक्षणमा रहेको र उनलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरे पनि प्रधानमन्त्रीकै आदेशमा छाडेको समाचार प्रकाशित भएपछि लामिछानेले चासो राखेको स्रोतको दाबी छ ।

‘अमलाको नाममा रहेको होटल भियना, पति दावा छिरिङ र प्रनिस पुनको विषयमा जानकारी लिइएको हो’, स्रोतले भन्यो । प्रनिस अर्थमन्त्री वर्षमान पुनका आफ्नै भाइ हुन् । 

माओवादीका नेताहरू कृष्णबहादुर महरा, राहुल महरा, प्रनिस पुन, दिपेश पुन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन तथा उनका छोरा जितेन्द्र पुन, कमला रोका, रोल्पाली ज्वाइँ दावा छिरिङ लगायतको तस्करीमा संलग्नता रहेको देखिएको छ । 

तर सरकारले शुरूमै प्रहरीलाई कारबाहीको दायरामा ल्याएर उनीहरूलाई भने जोगाउन खोजेको आभाष दिएको छ । आयोगको प्रतिवेदन आएपछि प्रहरीले दीपेश पुनलाई पुनः पक्राउ गरेको छ । 

उनलाई पक्राउ गरे पनि सुन तस्करीमा अनुसन्धान गर्नुपूर्व सहकारीको अनुसन्धानका लागि रुपन्देही पठाइएको छ । महरालाई पक्राउ गरेर नर्भिक अस्पतालमा राखिएको छ । 

आयोगले तयार पारेको प्रतिवेदनमा सीआईबीले गरेको अनुसन्धानमा गम्भीर त्रुटि औँल्याएको छ । हङकङबाट ब्रेक शुमा लुकाएर तस्करी गरिएको ६० किलो ७१६ ग्राम सुनको अनुसन्धानमा सीआईबीको त्रुटि देखिएको भन्दै उनीहरूमाथि कारबाहीका लागि सिफारिस गरिएको थियो । 

दुबईबाट इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर गरिएको सुन तस्करीको अनुसन्धानमा पनि उस्तै त्रुटि देखिएको भन्दै तत्कालीन भन्सार प्रमुखलाई नै कारबाहीको दायरमा ल्याउनु पर्ने उल्लेख गरिएको छ । 

जबकि तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल आफैँले सुन तस्करीबारे सीआईबीमा पुगेर उजुरी दिएका थिए । साढे ५ महिना लगाएर गरिएको ४८५ पृष्ठ लामो जाँचबुझ प्रतिवेदन आयोगले गत बिहीबार गृहमन्त्री लामिछानेलाई बुझाइएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ