arrow

बीआरआईको भार बोक्दै मुलुक

ऋणको भार थप्दै प्रचण्ड सरकारले चीनसँग बीआरआई सम्झौता गर्दै, नारायणकाजी हतारिएर चीन जाँदै

मन्त्री महासेठले ऋणमा सम्झौता गर्न हुन्न भनेपछि प्रचण्डले सचिव भट्टराईलाई दिए तयारी गर्न गोप्य निर्देशन, एमाले र रास्वपा पनि सती जाने सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
prachanda-xi-jinping.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्ने अन्तिम तयारी गरेका छन् । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणताका त्यसको सम्झौता गर्ने तयारी गरेका हुन् । 

त्यसका लागि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई प्रस्ताव उठाएर मन्त्रिपरिषद्मा ल्याउन भनेका थिए । तर महासेठले ऋणमा बीआरआई सम्झौता गर्न नहुने भन्दै प्रस्ताव उठाउन आनाकानी गरेपछि अर्थ मन्त्रालयबाट प्रस्ताव लगेर मन्त्रिपरिषद्बाट सम्झौताको मस्यौदा स्वीकृत गरी श्रेष्ठसहितको टोलीले सम्झौता गर्ने तयारी गरेको स्रोतको दाबी छ । 

प्रधानमन्त्री प्रचण्डले यो विषयमा प्रधानमन्त्री कार्यालयलका सचिव दिनेश भट्टराईलाई तयारी गर्न गोप्य निर्देशन दिएका छन् । तत्काललाई यो विषयमा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुन र भौतिकमन्त्री महासेठ मात्रै जानकार रहेको स्रोतले जनाएको छ। 

उपप्रधानमन्त्री मन्त्री श्रेष्ठ  चैत ११ गते अर्थात् आगामी आइतबार पाँच दिने चीनको भ्रमणमा जाँदैछन् । उनको भ्रमण बिहीबार बस्ने मन्त्रीपरिषद्ले स्वीकृत गर्ने भएको छ।  

लगानी मोडालिटीलाई अन्तिम रूप दिन अर्थमन्त्री पुन र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच दुईपटक लामो छलफल भइसकेको भए पनि प्रधानमन्त्रीले यसलाई अनुदानमा बदल्ने भन्दै भौतिकमन्त्री महासेठलाई जानकारी गराएका थिए । 

भौतिकमन्त्री महासेठले यो विषयमा आफैँ चिनिया राजदूतसँग कुराकानी गर्ने र त्यसपछि मात्रै मन्त्रालयबाट प्रस्ताव पठाउने बताएपछि प्रधानमन्त्रीले सचिव भट्टराईलाई गोप्य रुपमा मस्यौदा बनाउन लगाएर अर्थमन्त्रीलाई पठाइदिएको स्रोतको दाबी छ । 

बीआरआईअन्तर्गत चीनले गर्ने लगानी अनुदानमा हुनुपर्ने नेपाल पक्षको माग थियो तर चीन यसमा सहमत नभएपछि नेपालले ऋणको ब्याज १ प्रतिशत हाराहारीमा राख्न आग्रह गरेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता गर्न मानेका थिएनन् । 

यसको प्रारम्भिक मस्यौदा भने अघिल्लो गठबन्धनकालमा गृहमन्त्री तथा उपप्रधानमन्त्री श्रेष्ठ चीन गएको समयमा बनेको स्रोतको दाबी छ । ‘अहिले परराष्ट्र मन्त्री चीन हतारिएर जानुको उद्धेश्य पनि बीआरआई सम्झौता गर्नु हो’, स्रोतले भन्यो । 

गत वर्ष नेपाल र चिनियाँ पक्षबीच आधारभूत सहमति भए पनि लगानीमा कुरा मिलेको थिएन । नेपालले चीनसँग सन् २०१७ मा बीआरआई सम्झौता गरेको थियो । 

यस परियोजनाका लागि ९ वटा योजना चीनलाई बुझाइएको थियो तर सम्झौता भएको ७ वर्ष पूरा हुँदासमेत कुनै योजना अघि बढ्न सकेको छैन ।  

चीनले नेपालमा बन्ने बीआरआई परियोजनाका लागि लिइने ऋणमा २–३ प्रतिशत बीचमा ब्याजदर राख्न चाहेको छ । अन्तर्राष्ट्रिय ऋण तथा दीर्घकालीन पूर्वाधार विकासका लागि यो महँगो भएकाले देउवा प्रधानमन्त्री भएको बेला यसलाई बेवास्ता गरिएको थियो । 

अनुदान दिन नसक्ने र ऋण नै लिनुपर्ने हो भने पनि १ प्रतिशतभन्दा कम ब्याजदर राख्न अर्थमन्त्री वर्षमान पुनले चिनियाँ राजदूतलाई गरेको बताइएको छ ।

नेपालमा बीआरआई लागू नभएको भए पनि चिनियाँ राजदूतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईको एक भाग भएको खुलेआम बताएका थिए । त्यसमा प्रचण्ड सरकारले कुनै प्रतिक्रिया जनाएको थिएन । 

१४ महिनाअघिको उक्त घटनालाई प्रचण्ड सरकारले सामसुममात्र पारेन कि चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्ने हैसियतसमेत बनाएन । पोखरा विमानस्थलबाट अहिलेसम्म औपचारिक रुपले एउटा पनि अन्तर्राष्ट्रिय फ्लाइट नहुँदा करोडौँ रुपैयाँको नोक्सानी बेहोर्दै आएको छ । 

चिनियाँ ऋणको भार भने बढ्दै गएको छ । प्रचण्डको देशलाई कंगाल बनाउने योजनामा एमाले र रास्वपा जस्ता दलहरु पनि सती जान्छन् वा यो कदमलाई रोक्छन् हेर्न बाँकी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ