arrow

विश्वकपको तयारीमा क्रिकेट टोली

पुरस्कार रकमको आधा मात्र पाए क्रिकेटरले, भारतमा फ्रेण्डसिप कप खेल्दै [भिडियो]

विश्वकपको यात्रा गर्नु खुशीको क्षण- मोन्टी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
rohit-montee-cricket-nepal.jpg

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकमको आधा मात्र पाएको बताएका छन् । 

आइसीसी ट्वान्टी–२० विश्वकपको तयारी स्वरूप भारतको राज्य स्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा कप्तान पौडेलले पाउने रकम मध्ये ५०-६० प्रतिशत मात्र पाएको बताएका हुन् । 

उनले ट्वान्टी–२० विश्वकप अगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताए । एसिसी प्रिमियर कप महत्त्वपूर्ण रहेको बताउँदै रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गरे ।

टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताए । 

नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (युएई) मा एसिसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजरातको टोलीसँग एसएमएस फ्रेण्डसिप कप खेल्दै छ । 

सोही प्रतियोगिता अगाडिको बिदाइ कार्यक्रममा देसाईले एसिसी प्रिमियर कप अगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे । यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको प्रशिक्षकको भनाइ छ ।

 डिफेन्डिङ च्याम्पियनका रूपमा एसिसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको बताए । डिफेन्डिङ च्याम्पियनको लक्ष्य पनि तय भइसकेको उनले बताए । मोन्टीले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरे ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पाउनुपर्ने कुरा समयमा नपाउँदा मन नै मर्न सक्ने उल्लेख गर्दै उत्कृष्ट मनोबलका साथ खेल्न शुभकामना दिए । साथै उनले खेलकुदलाई नयाँ ढङ्गबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा राखे । 

क्यानका सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । क्यानले बिहीबार खेलाडीको बिदाइ गरेको हो । 

यो प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’ विरुद्ध दुई खेलको शृङ्खलामा ‘क्लिन स्विप’ गरेको थियो । ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्टइण्डिजमा शुरु हुँदैछ । 

समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ