arrow

ई-सिगरेट निषेधको तयारीमा सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
udhyog

काठमाडौँ ।  सरकारले विद्युत् चुरोट (ई-सिगरेट) निषेध गर्ने तयारी गरेको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य पत्रकार मञ्च नेपालले आज संयुक्त रुपमा गरेको सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा कानुनमा नै ई-सिगरेटलाई बन्देज गरिएकाले निषेध गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले जानकारी दिए । 

“उद्योग, वाणिज्य तथा उद्योग मन्त्रालयले निषेध गर्ने काम गर्ने हो”, उनले भने, “उद्योग मन्त्रालयको के छ नियम त्यो हामीले हेर्दैछाँै । हाम्रो तर्फबाट सबै प्रक्रिया पूरा गरिसकेका छौँ ।”

उनका अनुसार सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका-२०७१ को दफा २८ को ४ मा कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरणमा रोक लगाइएको उल्लेख गरिएकाले निधेष गर्न थालिएको हो ।

उनले भन्सार विभागको तथ्याङ्कमा गत आवमा वार्षिक ३२ लाख ई-सिगरेट डिभाइस नेपाल आउने गरेको बताए । तीमध्ये ३१ लाख ती ई-सिगरेट चीनबाट मात्र आउने गरेको छ । चीनबाहेक अमेरिका, भारत, संयुक्त अरब इमिरेट्स, बेलायतलगायत देशबाट आउने गरेको छ । 

केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा केसीका अनुसार नेपालमा वार्षिक रु ३२ अर्ब बराबरको ई-सिगरेटको व्यापार हुने गरेको छ । एउटा ई -सिगरेटको १० हजारदेखि १३ हजारसम्म पर्ने गर्दछ । उनले १६ देखि ४० वर्ष उमेर समूहका १४ प्रतिशत युवाले ई-सिगरेट प्रयोग गर्ने गरेको बताए । 

 होटल र रेष्टुरेण्टमा चुरोट र सुर्तीको विक्री वितरण रोक्नु चुनौतीपूर्ण रहेका उनले बताए । प्रतिष्ठानले सातै प्रदेशका १८ जिल्लाका एक हजार पाँच सय ८७ जनामा गरेको अध्ययनमा सूर्तीजन्य पदार्थको प्रयोगकर्ता बढेको पाइएको छ । विगतभन्दा दुई प्रतिशतले सूर्तीजन्य पदार्थको प्रयोगकर्ता बढेको छ । अघिल्लो वर्ष ३२ प्रतिशत रहेकोमा अहिले त्यो बढेर ३४.१ प्रतिशत पुगेको प्रतिष्ठानका कमल चौलागाईंले जानकारी दिए । उनका अनुसार युवा वर्गमा हुक्का र ई-सिगरेट जस्ता नयाँ प्रकारका सूर्तीजन्य पदार्थको प्रयोग बढ्दो रहेको छ । 

अनुसन्धानमा संलग्न डा जयबहादुर गुरुङले आगामी सरकारको नीति तथा कार्यक्रममा सूर्तीजन्य पदार्थको नियन्त्रण, नियमनका कुरा परेमा तलसम्म यसले स्थान पाउनुपर्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले सबैको सहयोगबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण रोक्न सकिने बताए । 

 प्रतिदिन रु एक अर्ब बराबरको धुवाँमा खर्च भइरहेको भन्दै उनले सूर्तीजन्य पदार्थको सेवनको नियन्त्रण गर्नुपर्ने बताए । प्रतिष्ठानका अध्यक्ष डा कृष्ण पहारीले सूर्तीजन्य पदार्थ सेवन गर्ने लत छाड्न चाहने धेरै देखिएको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताए । 

स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले सूर्तीजन्य पदार्थको विक्री वितरणमा पत्रकारले कलम चलाउने बताए । अध्ययनमा एक व्यक्तिले प्रतिदिन रु ८५.६८ चुरोटमा खर्च गर्ने गरेको उल्लेख छ । सर्वेक्षणमा सहभागी सूर्तीजन्य पदार्थ सेवन गर्नेमध्येकै ५६ प्रतिशतले सूर्तीजन्य पदार्थमा करवृद्धि गर्न माग गरेका छन् । 

महिलाले भन्दा पुरुषले महँगो चुरोट सेवन गर्ने गरेको पनि सर्वेक्षणले देखाएको छ । पुरुषले चुरोटमा प्रतिखिल्ली करिब रु ११.८ खर्च गर्दा महिलाले प्रतिखिल्ली रु ५.८ खर्च गर्ने गरेको अध्ययनले देखाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ