arrow

सुन तस्करी जाँचबुझ आयोगको रिपोर्टमाथि शङ्का

डिएसपीकै ‘कल डिटेल’ मा भेटियो गलत तथ्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
home-ministry-nepal.jpg
तस्बिर : फाइल

काठमाडौँ। गृहमन्त्री रवि लामिछानेले सुन तस्करी जाँचबुझ आयोगले दिएको रिपोर्टको आधारमा भन्दै  प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरमाथि पुरानो रिस साँध्ने क्रममा गलत रिपोर्टको साहरा लिएको तथ्य फेला परेको छ। सुन तस्करीमा फरार आरोपित जीवन चलाउनेबीचको फोन सम्पर्कको बारे गलत रिपोर्ट तयार पारी उल्लेख गरेको त्यही रिपोर्टलाई आधार मानेर कारबाही गरिएको चर्चा चलाएर पुरानो रिस साँधेको पाइएको हो।

सो आयोगले डिएसपी कुँवर र चलाउनेबीच ०७९ पुस १६ देखि ०८० भदौ २५ गतेसम्म दुई हजार ४१० पटक फोन सम्पर्क भएको उल्लेख गरेको छ। तर, कुँवरले सुनधारास्थित नेपाल टेलिकमको कार्यालयमा निवेदन दिएर आइतबार (हिजो) निकालेको ‘कल डिटेल’मा उक्त अवधिमा उनीहरूबीच ८२ पटक मात्र फोन सम्पर्क भएको देखिएको थियो। डिएसपी कुँवर र चलाउने दुवै अछामका बासिन्दा भएका कारण एक अर्कासँग परिचित रहेको भएर पनि उनीहरुबीच कुराकानी हुने गरेको थियो।

डिएसपी कुँवरले अछामकै चिने जानेको  मानिस भएकाले चलाउनेसँग फोन सम्पर्क हुने गरेको तर त्यसका कुनै पनि प्रकारको कारोबार र अनैतिक कुराकानी कहिल्यै नभएको बताउँदै आएका छन्। सुन तस्करी जाँचबुझ आयोगले लगाएको आरोपजस्तो चलाउनेसँग सुन तस्करीबारे कुराकानी नभएको उनले गरेको कारोबार बारे केही पनि जानकारी नभएको बताउँदै आएका छन्।

सुन तस्करी जाँचबुझ आयोगले भने चलाउनेसँग फोन सम्पर्क देखिएको भन्दै उनलाई विभागीय कारबाही सिफारिस गरेको थियो। आयोगको सिफारिसपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो। उनीबाहेक चलाउनेसँग अरू प्रहरी अधिकारीको पनि फोन सम्पर्क देखिएको छ। तर, कुँवरलाई मात्र कारबाही सिफारिस गरिएको थियो। सुन तस्करी प्रकरणको अनुसन्धानमा उनी संलग्न थिएनन्। सो प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको समेत कमजोरी देखिएपछि एसपी सञ्जय थापा, डिएसपी दुर्गा दाहाल र सीआईबीकी तत्कालीन प्रमुख एवं एआईजी किरण बज्राचार्यलाई समेत कारबाही सिफारिस गरिएको थियो। उनीहरू सब जनालाई सीआईबीबाट हटाइएको थियो। उनीहरूले सुन तस्करीको मात्र होइन सहकारी ठगीबारे समेत अनुसन्धान गरिरहेका थिए।

सहकारी ठगी अनुसन्धानमा रवि लामिछानेको संलग्नताबारे पोखराको सूर्य दर्शन सहकारीबाट फाइल झिकाएर अनुसन्धान गरिरहेको बेला उनीहरूको सरुवा गरेर त्यहाँ श्याम ज्ञवालीलाई पठाएका थिए। साथै कुँवरको हकमा तत्कालीन अपराध महाशाखाका प्रमुख सहकुल थापाकै निर्देशनमा रवि लामिछानेलाई न्यूज २४को कार्यालयबाट शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ गरी चितवन पठाएका थिए। त्यति बेला र अहिले सहकारी ठगीको विषयमा गरेको अनुसन्धानको रिस साँधिरहेको स्रोतको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ