arrow

गुमनाम डीआईजी चन्दलाई गण्डकी प्रदेश पठाउने तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
dig-arjun-chand-thakuri.jpg

काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले अकस्मात सेवाबाट राजीनामा दिएपछि निकै हल्लीखल्ली भएको थियो । यद्यपि प्रहरी संगठनले उनको राजीनामा फिर्ता गरेपछि भने उनी गुमनाम भएका छन् । 

राजीनामा पत्र बोकेर हेडक्वार्टर पुग्नुअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको जिम्मेवारीमा थिए । सो जिम्मेवारीबाट मुक्त मात्र होइन प्रहरी संगठनबाटै बाहिरिन खोजेपछि उनलाई रोकिएको थियो । 

अहिले भने प्रदेश समन्वयको जिम्मेवारीमा रहेका डीआईजी चन्दलाई गण्डकी प्रदेश कार्यालयको जिम्मेवारी दिएर पठाउने तयारी भएको छ । 

बैशाख ७ गते विकासराज खनालको अवकाशसँगै उनलाई त्यहाँ पठाउने तयारी भएको हो । डीआईजी चन्दको कार्यकाल झन्डै १४ महिना बाँकी थियो तर समयअगावै उनले दिएको राजीनामालाई विमानस्थल अध्यागमन कार्यालय–प्रहरीबीचको विवाद र भिजिट भिसामा मानव तस्करी प्रकरणसँग जोडिएको थियो ।

 ‘आफूलाई क्रान्तिकारी प्रस्तुत गर्दै राजीनामा दिए पनि प्रहरी संगठनले त्यसलाई अस्वीकार गरेपछि अहिले उनी गुमनाम जस्तै छन्, विकास खनालको अवकाशपछि उनको त्यहाँ सरुवा हुने संभावना रहेको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

‘भिजिट भिसामा मानव तस्करीको पर्दाफास’ र पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अध्यागमन कर्मचारी–प्रहरीबीचको कुटाकुट प्रकरणसँग जोडेर सो राजीनामा दिएका उनले पछि फिर्ता गरेका थिए । अहिले प्रहरी प्रधान कार्यालयमा रहेका छन् । 

डीआईजी चन्द कर्मचारी प्रहरी कुटाकुट प्रकरणमा संलग्न प्रहरी कर्मचारीको प्रतिरक्षामा उत्रिएका थिए । डीआईजी चन्दले अघिल्लो बैशाखमा विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । 

जिम्मेवारी सम्हाले लगत्तै उनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबीच मतभेद शुरू भएको थियो । त्यसपछि उनले त्यहाँबाट सरुवा मागेर प्रदेश कार्यालयमा जान चाहेको भए पनि तत्कालीन गृहमन्त्रीले उनलाई त्यहीँ रोकेका थिए । 

प्रदेश कार्यालय जान नपाएको पछिल्लो अवस्थामा विमानस्थलभित्र कर्मचारी र प्रहरीबीच द्वन्द्व सिर्जना भयो त्यसपछि उनले राजीनामा दिएर हिँडेका थिए । 

गत असोजमा विमानस्थल सुरक्षा कार्यालयले भिजिट भिसामा विदेश यात्रामा रहेका १५ सयभन्दा बढी व्यक्तिका शंकास्पद कागजात लिएर अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो । ती कागजातको अनुसन्धान गर्दा नक्कली कागजात बनाएर भिजिट भिसा तयार गर्दै मानव तस्करी भइरहेको खुलासा भएको थियो ।

अनुसन्धान अघि बढ्दै जाँदा अध्यागमन अधिकृत नरवीर खड्कासम्म पुगेको थियो । खड्कालाई नियन्त्रणमा लिएर थालेको प्रहरी अनुसन्धानमा नौ जना अध्यागमन अधिकृत तानिएका थिए । 

जसमा खड्कासहित ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो थिए । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएर पनि केही धरौटीमा रिहा भइसकेका छन् । 

उता पक्राउ परेका अध्यागमन अधिकृत खड्काले अध्यागमन कार्यालयमा घुस खान र बाँडफाँट गर्न ‘सहजीकरण समिति’ बनाएका थिए । अध्यागमन अधिकृतसहित नेपाल वायुसेवा निगमका कर्मचारी, विभिन्न कन्सल्टेन्सी, ट्राभल एजेन्सीलगायतको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

डीआईजी चन्द आईजीपी बसन्तबहादुर कुँवरकै ब्याचमेट प्रहरी अधिकृत हुन् । 

प्रहरी नियमावलीअनुसार हालको ३० वर्षे सेवावधिकै प्रावधान रहिरहे २०८१ चैतसम्म उनी कार्यरत रहने छन् । उनी यो बीचमा प्रदेशको कमाण्ड गर्न चाहिरहेको स्रोतको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ