युवा मेडिकल व्यवसायी न्यौपानेले पुरानोकोटमा बनाए ‘होम स्टे’ को प्रवेशद्वार
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
953
Shares
लमजुङ । लमजुङको पुरानोकोट ‘होम स्टे’ को प्रवेशद्वारको उद्घाटन गरिएको छ । स्वर्गीय पिता जगदीश न्यौपानेको स्मृतिमा छोरा युवा मेडिकल व्यवसायी तथा समाजसेवी सुनिलचन्द्र न्यौपाने र बुहारी मिना बर्तौला न्यौपानेले पुरानोकोटमा निर्माण गरेको प्रवेशद्वारको गण्डकी प्रदेश सांसद डा टकराज गुरुङले बुधबार उद्घाटन गरेका हुन् ।
बेसीसहर नगरपालिका ४ स्थित पुरानोकोटमा निर्माण गरिएको होम स्टेको प्रवेशद्वारको उद्घाटनपछि नेपाली कांग्रेस लमजुङ जिल्ला सभापतिसमेत रहेका सांसद डा. गुरुङले पर्यटनको विकास नै लमजुङ विकासको मुख्य आधार भएको बताए ।
उनले प्रदेशबाट सो ठाउँको भौतिक विकासका लागि निरन्तर आफू लागिपरेको बताए । न्यौपानेले आफूले एउटा सानो कार्यको शुरुआतमात्र गरेको बताए । उनले ऐतिहासिक धार्मिक एवं पर्यटकीय सौर्न्दर्यताले भरिपूर्ण सो ठाउँमा सेवा गर्न पाउँदा आफूहरू सबै खुशी रहेको बताए ।
‘तपाईंहरुलाई उपचार गर्न समस्या भयो भने हामीलाई सम्झनु होला’, उनले भने, ‘तपाईँहरूको सुख दुःखमा साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
कांग्रेसका युवा नेता शिव रिमालले लम्जुङको विकासमा सबैको योगदान महत्त्वपूर्ण रहने बताए । ‘होम स्टे’का अध्यक्ष एवं वडा सदस्य कन्याकासी गुरुङले यो ठाउँको विकासको गति अगाडि बढाउन डा. टकराज गुरुङ र सुनिलचन्द्र न्यौपानेले महत्त्वपूर्ण योगदान पुर्याएको बताइन् ।
उद्घाटनमा सुन्दरबजार नगरपालिका वडा ३ का अध्यक्ष अमृत न्यौपाने र वडा नम्बर ५ का अध्यक्ष काजी गुरुङ पनि उपस्थित थिए ।