arrow

राजनीतिक किचलो

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा के चाहन्छन् अर्थमन्त्री पुन ? 

कसरी छानिए आवेदक १९ मध्ये ५ जना ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
barshaman-pun-80-11-23.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चैतको पहिलो साता अर्थसचिव कृष्णहरि पुष्कर अमेरिका जाने विषयमा नवनियुक्त अर्थमन्त्री वर्षमान पुन खुशी थिएनन् । यसरी असहमति जनाउनुको एउटा कारण थियो धितोपत्र बोर्डको नेतृत्व चयन ।  

हुन पनि पुस तेस्रो सातादेखि रिक्त धितोपत्र बोर्डका अध्यक्षको नियुक्ति प्रक्रिया रोकिँदा तीन महिना भन्दा बढी समयदेखि बोर्डको काम ठप्प छ । सामान्य प्रशासनिक कामबाहेक अहिले कुनै पनि कार्यहरु अघि बढ्न सकेका छैनन् ।

यो अवस्थामा नयाँ नेतृत्व चयन गर्नुपर्ने हतारो भइसकेको थियो । त्यसैले अमेरिका भ्रमणमा अर्थमन्त्रीले देखाएको असन्तुष्टि स्वभाविक थियो । 

बोर्डको अध्यक्षका लागि सिफारिस गर्ने समितिमा अर्थसचिव पदेन सदस्य रहने व्यवस्था छ । संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहे पनि सचिवालय अर्थ मन्त्रालयमा हुने भएकाले अर्थसचिव उपस्थिति बिना छनोट प्रक्रिया अघि बढ्ने अवस्था थिएन ।

तर मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको अमेरिका भ्रमणलाई पुष्करले रोकेनन् । करिब १० दिनको बसाइँपछि उनी फर्के । यो अवधिसम्म नियुक्ति प्रक्रिया अघि बढेन । 

पुष्कर फर्केपछि अर्थमन्त्री पुनले फेरि निर्देशन दिए, ‘अब तत्कालै नेतृत्व प्रक्रिया टुंग्याउनू ।’ उनले निर्देशन दिएको १२ दिनपछि समितिले ५ जनाको नाम सर्टलिष्ट गर्यो । आवेदक १९ जनामध्ये कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठलाई समितिले पहिलो चरणमा सर्टलिष्ट गरेको हो । 

समितिको पहिलो छनोटबाट चार जना पीएचडीसहित १४ जना फालिए । त्यसरी पहिलो चरणबाटै आउट हुनेमा कृष्ण पोखरेल, कृष्णबहादुर अधिकारी, प्रबिण पन्दाक, डा. गोपालप्रसाद भट्ट, निरज गिरी, डा. रघुराज काफ्ले, डा. केशवप्रसाद श्रेष्ठ, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. विमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, डा. मुक्ति अर्याल फालिए ।

मन्त्रिपरिषद्बाटै गठन हुने समितिलाई आवेदकमध्ये कसलाई छनौट गर्ने र कसलाई नगर्ने भन्ने सर्वाधिकार हुन्छ । छनोट गरिएका ५ जनाको औचित्यबारे अदालतमा प्रश्नसमेत उठाउन पाइँदैन किनभने यो नित्तान्त कार्यकारिणी अधिकार हो तर यसमा नैतिक प्रश्न भने उठेकै थियो । 

अनौपचारिक कुराकानीमा अर्थ मन्त्रालयका एक जना सहसचिव भन्छन्, ‘१९ जनाको आवेदनमध्ये छनोटमा परेका ५ जनालाई कुनै पनि तरिकाले औचित्यपूर्ण थियो भन्ने आधार छैन । यो छनोट व्यक्तिगत सम्बन्ध र पार्टीगत लाइनको आधारमा भएको छ भन्ने जोकोहीले पनि सजिलै बुझ्न सक्ने कुरा थियो ।’ 

अहिले छनोट भएकामध्ये पाँचै जना माओवादी निकट मानिन्छन् । त्यसमध्ये कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईंले त माओवादी कोटाबाटै नियुक्ति यसअघि नै नियुक्ति खाइसकेका हुन् । बाँकी तीन जना पनि माओवादीसँग निकट नै मानिन्छन् ।  तर, अर्थमन्त्री पाँचैजना उम्मेदवारप्रति त्यति सकारात्मक छैनन् । 

अर्थमन्त्री निकट स्रोतका अनुसार मन्त्री पुनले नेप्सेको सीईओ हुँदा कार्कीले देखाएको पफर्मेन्स, बीमा समितिको अध्यक्ष हुँदा चापागाइँले गरेको कोरोना बीमासम्बन्धी निर्णय निम्त्याएको व्ययभारबारे प्रश्न गरेका छन् । नवराज अधिकारीले कार्यवाहक अध्यक्ष हुँदा गरेको पफर्मेन्समा पनि पुन सन्तुष्ट छैनन् । कार्यवाहक अध्यक्ष भएको तीन महिनासम्म आईपीओ स्वीकृति नै दिन नसक्नेले कसरी बोर्ड हाँक्छ ? भन्ने उनको प्रश्न छ ।

अहिलेको छनौटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ हाबी भएकोमा पनि अर्थमन्त्री पुनको झनै ठूलो असन्तुष्टि छ । आकांक्षीहरुले समेत योबीचमा आफूलाई बाइपास गरेको उनले महसुस गरेको बताइन्छ । त्यही भएर बल्लबल्ल अघि बढेपछि नियुक्ति प्रक्रिया नै उनले रोकिदिएका छन् । 

आगामी बैशाख ३ गते पुन अमेरिका जाँदैछन् । अब उनी नफर्केसम्म यो प्रक्रिया रोकिने निश्चित जस्तै भएको छ । अब प्रक्रिया पुनः सुरु हुँदा सबै उम्मेदवारहरुको पुनः मूल्यांकन हुन्छ कि त्यही पाँच जनाबाट अघि बढ्छ भन्ने चाहिँ निश्चित छैन । यसअघि उनले देखाएको हतारो आफैँले तोडेर पुनले अध्यक्ष नियुक्तिका लागि प्रक्रियालाई थप लम्ब्याइदिएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ