arrow

प्रहरी अस्पतालमा दक्ष भन्दा पक्षलाई डा. डीआईजी बनाउने चलखेल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
nepal-police-hospital-2080.jpg

काठमाडौँ । सुरक्षा निकायमा पदोन्नतिका बेलामा रस्साकस्सी हुने गर्छ । सबैभन्दा बढी रस्साकस्सी भने नेपाल प्रहरीमै हुने गरेको छ । केही दिनअघि गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई निरीह बनाउँदै आफू खुशी डीएसपीबाट एसपीमा पदोन्नति गरेसँगै प्रहरी प्रशासन एकपटक फेरि हाँसोको पात्र बनेको छ । 

इमानदार र दक्षलाई अगाडि बढ्न मद्धत गर्छु भन्ने लामिछानेले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीका पूर्व पीएसओहरुलाई प्राथमिकतामा राखेर बढुवा गरेसँगै उनको हैसियत पनि छर्लङ्ग भएको छ । 

गैरप्राविधिकमात्र हैन प्राविधिकतर्फसमेत पनि दक्षलाई भन्दा पनि आफ्नो पक्षकालाई पदोन्नति गर्ने गलत अभ्यास थालिएको छ । सोही कारण यतिबेला नेपाल प्रहरी अस्पतालमा हल्लीखल्ली मच्चिन थालेको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा चार जना चिकित्सकहरुले शक्तिकेन्द्र धाइरहेको पाइएको छ । 

यदि दक्ष चिकित्सक भन्दा पक्ष चिकित्सक हेरियो भने यी चार जनाले पनि डीआईजीको फुली नलगाउलान् भन्न सकिन्न । 

प्रहरी अस्पताल स्रोतका अनुसार चार जना एसएसपी डाक्टरहरुमा दीपक श्रेष्ठ, सुवास आचार्य, दीपा न्हुच्छे प्रधान र अभिमन्यु श्रेष्ठ रहेका छन् । 

उनीहरुको दक्षता भने गज्जबको रहेको छ । प्रहरी अस्पतालभित्र यसलाई अपत्यारिलो नै मानिन्छ । 

एसएसपी डा. दीपक श्रेष्ठ–
डा. श्रेष्ठ आँखा रोग विशेषज्ञ हुन् । उनी आँखा रोग विभागका विभागीय प्रमुखसमेत हुन् । उनले एमडी (डक्टर अफ मेडिसिन) गरेको दश वर्ष भए पनि अहिलेसम्म अस्पतालमा कुनै पनि आँखाको शल्यक्रिया गरेका छैनन् । 

क्याटारक्ट सर्जरीलाई आधारभूत मानिने भए पनि उनले दुर्गममा गरिने शल्यक्रियासमेत गर्न नसकेको पाइएको छ । 

अस्पतालकै एक स्वास्थ्यकर्मीका अनुसार डा. श्रेष्ठको बोली र व्यवहार पनि तल्लो स्तरको रहेको छ । छनोट पश्चात तालिमबाट नाम कटाएको भन्दै उनलाई गत जेठमा संगठन प्रमुखबाटै कारबाही गरिएको थियो ।  

डा. श्रेष्ठले आफूभन्दा जुनियरलाईसमेत कुनै शल्यक्रिया गर्न नदिएको आरोप छ । 

एसएसपी डा. सुवास आचार्य
डा. आचार्य नाक, कान, घाँटी विशेषज्ञ हुन् । उनी उक्त विभागको विभागीय प्रमुख पनि हुन् । 

अस्पतालका एक चिकित्सकका अनुसार उनले एक्लै कुनै पनि सजिलो शल्यक्रियासमेत गर्न सक्दैनन् । बिरामीहरुले नै उनको विशेषज्ञता माथि शंका लाग्ने गुनासो गरेको पाइएको छ । 

उनले एमएस (मास्टर अफ सर्जरी) अध्ययन गर्दाको समयमा नेपालगञ्ज मेडिकल कलेजमा मेडिकल अधिकृतको रुपमा दोहोरेर जागिर खाएकोसमेत पाइएको छ । 

उनलाई पनि गत जेठमा संगठन प्रमुखबाट कारबाही भएको थियो । एससीएम तालिममा छनोट भएर पनि जान नचाहेपछि उनलाई कारबाही भएको थियो । 

डा. दीपा न्हुच्छे प्रधान–
डा. प्रधान अब रेडियोलोजी विभागको विभागीय प्रमुख हुन खोजिरहेकी छिन् । उनको चाहनाअनुसार भयो भने उनी यही बैशाख २६ गतेदेखि रेडियोलोजी विभागको प्रमुख हुनेछिन् । 

आफूलाई रेडियोलोजिष्ट भने पनि उनले त्यो कोर्स नै पूरा नगरेकोसमेत अस्पताल स्रोतले बताएको छ । उनको डिग्रीलाई नेपाल मेडिकल काउन्सिललेसमेत चिन्न सकेको छैन । 

उनले दुई वर्षे कोर्षमा एक वर्ष भाषा अध्ययन गरी एक वर्षमात्र मेडिकल रेडियोलोजी इमेजिङ गरेको स्रोतको दाबी छ । 

उक्त कोर्ष भने टेक्निसियन सरह भएको तथा अल्ट्रासाउन्ड स्क्यानमात्र इमरजेन्सीको समयमा गर्न सिकेकोसमेत पाइएको छ । 

उनीसँग सीटी स्क्यान र एमआरआई सम्बन्धी ज्ञान र सीप नभएकाले धेरै रिपोर्टिङ गलत भएकोसमेत अस्पताल स्रोतले बताएको छ । 

तर डा प्रधानले भने चीनबाट रेडियोलोजिस्ट पढेर आएर विगत १४ वर्षदेखि प्रहरी अस्पतालमा रेडियोलोजी विभागमा उपप्रमुखका रुपमा कार्यरत रहेको बताएकी छिन् । 

डा. अभिमन्यु श्रेष्ठ–
डा. श्रेष्ठ स्त्री तथा प्रसुती रोग विभागको प्रमुख बन्दैछन् । उनी कुनै तलमाथि नभए आगामी साउन ९ गतेदेखि प्रसुती विभागको प्रमुख बन्नेछन् । 

उनलाई पनि दक्ष चिकित्सकको रुपमा अस्पतालले लिने गरेको छैन । उनी पनि शल्यक्रियाका लागि सक्षम नभएको पाइएको छ । 

यसरी ज्येष्ठताको आधारमा वरिष्ठतम चिकित्सकको खोल ओढेका चिकित्सकहरुका कारण संस्थालाई नै भार परिरहेको आरोप आउने गरेको छ । 

केही त रुसबाट पढेर आएकाले पनि दक्ष हुन नसकेको अस्पताल स्रोत बताउँछ । 

यसमा पनि गृहमन्त्री लामिछानेले अवसर पाए भने कसैको भनसुनको आधारमा पक्कै पनि पदोन्नति गरिदिनेमा दुईमत नहोला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ