arrow

एसीसी प्रिमियर कप

नेपालको संघर्षपूर्ण ब्याटिङ, यूएईलाई १२० रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
nepal-uae-half-game-acc.jpg

काठमाडौँ । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले यूएईसँग खेलिरहेको छ । 

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै संघर्षपूर्ण खेल खेलेको छ । 

नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन मात्र बनाउन सक्यो । 

पारीको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो । त्यसपछि सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै खेल अगाडि बढाउने प्रयास गर पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । गुलसन झाले २० रन र करन केसीले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके । अविनास बोहोराले एक र ललित राजवंशीले दुई रन बनाए । 

नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई-दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक-एक विकेट लिए ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । 

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो । 

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो । आजै हुने अर्को सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल र यूएई एसोसिएट्स देशका चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् । नेपाल र यूएईबीच अहिलेसम्म ९ टी–२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने यूएईले ४ खेल जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ