arrow

मध्यपूर्वमा तनावपछि एर्दोगानले भेटे हमास प्रमुखलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
Recep-Tayyip-Erdogan.jpg.jpeg

काठमाडौँ ।  इस्तानबुलमा हमास प्रमुख इस्माइल हनियेहसँग घन्टौं लामो वार्तापछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा इजरेली युद्धका बीच एकजुट हुन शनिबार प्यालेस्टिनीहरूलाई आग्रह गरेका छन् । 

गत अक्टोबर ७ देखि मध्यपूर्वमा जारी गाजा द्वन्द्वमा एर्दोगानले मध्यस्थकर्ताका रूपमा आफ्नो पकड स्थापित गर्न खोजे पनि सफल भएका थिएनन् । 

हमास नियन्त्रित प्यालेस्टिनी भूभाग गाजामा इजरेलको थप आक्रमण र इरानविरूद्ध इजरेली आक्रमणको तयारी भएपछि मध्यपूर्वमा तनाव बढेको छ ।

वार्तापछि एर्दोगानले प्यालेस्टिनीहरूलाई एकताबद्ध हुन आह्वान गर्नुभएको हो । 

“प्यालेस्टिनीहरूले यस प्रक्रियामा एकताबद्ध भएर काम गर्नु अत्यावश्यक छ । एर्दोगानले भने, “इजरेललाई सबैभन्दा कडा प्रतिक्रिया र विजयको बाटो प्यालेष्टिनी एकता र अखण्डतामा निहित छ ।

संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र इजरेलले आतङ्कवादी सङ्गठन घोषित गरेको हमास फतह गुटको प्रतिद्वन्द्वी हो जसले कब्जा गरिएको वेस्ट बैङ्कमा अर्ध–स्वायत्त प्यालेस्टिनी प्राधिकरणमा शासन गर्दछ ।

इरान र इजरेलबीच बढ्दो तनावले व्यापक क्षेत्रीय युद्धको डरलाई बढावा दिइरहेका बेला एर्दोगानले हालैका घटनाहरूले इजरेललाई ‘जमीन प्राप्त गर्न दिनु हुँदैन र गाजामा ध्यान केन्द्रित गर्ने तरिकाले काम गर्नु महत्त्वपूर्ण रहेको’ बताए । 

मध्यस्थकर्ताको भूमिकाको पुनरावलोकन गर्ने बताएपछि एर्दोगानले विदेशमन्त्री हाकान फिदानलाई बुधबार दोहा पठाएका छन्। 

राष्ट्रपति एर्दोगानले बुधबार हनियेहको भ्रमणको घोषणा गर्दै भनेका थिए , “म मात्र बाँकी रहे पनि, जबसम्म परमेश्वरले मलाई मेरो जीवन दिनुहुन्छ, म प्यालेिस्टनी सङ्घर्षको रक्षा गर्न र उत्पीडित प्यालेस्टिनी जनताको आवाज बन्नेछु ।”

टर्कीमा सन् २०११ मा टर्कीले इजरेली सैनिक गिलाद शालितलाई मुक्त गर्ने सम्झौतामा सहयोग गरेपछि हमासको कार्यालय टर्कीमा रहेको छ । एर्दोगानले हनियेहसँगको सम्बन्ध कायम राखेका छन् । हनियेह पटक पटक टर्की आउने जाने गरेको देखिएको छ ।

वासिङ्टनस्थित फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीजका टर्की विशेषज्ञ सिनान सिड्डीका अनुसार फिदान टर्कीका गुप्तचर निकायका भूतपूर्व प्रमुहुन् र उनले हमासका अधिकारीहरूलाई सूचना र राहदानी उपलब्ध गराएका थिए । यद्यपि टर्कीका अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् ।

यदि कतारले मध्यस्थताको प्रयासबाट पछि हटेको खण्डमा टर्कीले हमाससँगको सम्बन्धको आधारमा आफ्नो मध्यस्थता बढाउन सक्नेछ ।

फिदानले शनिबार इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँग वार्ता गरेका थिए र दुवैले अनिकालको जोखिम रहेको गाजामा थप मानवीय सहायता पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।

गाजामा ४५ हजार टन खाद्यान्न आपूर्ति र औषधि पठाएको टर्की गाजाको प्रमुख मानवीय सहायता साझेदारमध्ये एक हो । 

इजरेलले गाजाको रफाह शहरमाथि आक्रमणको तयारी गरिरहेको समय इरानले इजरेलमाथि प्रत्यक्ष आक्रमण गरेपछि इरानी प्रान्त इस्फाहानमा इजरेलले गरेको भनिएको आक्रमणले शान्ति स्थापनाको आशामा तुषरापात भएकोे छ ।

सिद्दीका अनुसार एर्दोगानले इजरेल र गाजामा उसको कार्यको स्पष्ट निन्दा गरेका कारण ‘धेरै सीमित’ भूमिकाको अपेक्षा गर्न सक्दछन् ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको रणनीतिलाई नाजी नेता एडोल्फ हिटलरसँग तुलना गर्दै गत वर्ष राष्ट्रपति एर्दोगानले अक्टोबर ७ मा इजरेलमा हमासले गरेको आक्रमणका कारण गाजामा इजरेलले जमिन र आकाशबाट गरेको कारबाहीपछि इजरेललाई ‘आतङ्कवादी राष्ट्र’ को संज्ञा दिएका थिए । 

सिद्दीले एर्दोगानलाई इजरेलमा स्वागत नगरिने र प्यालेस्टिनी र इजरेलका वार्ताकारबीच बढीमा सन्देश प्रवाह गर्न सक्ने बताए । 

गाजा युद्ध चर्काउने हमासको अभूतपूर्व आक्रमणका कारण दक्षिणी इजरेलमा एक हजार १७० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त इजरेली आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।

उक्त आक्रमणपछि लडाकूहरूले करिब २५० जनालाई बन्धक बनाएका थिए । इजरेलको अनुमानअनुसार गाजामा बाँकी रहेका १२९ जनामध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

इजरेलले गरेको जवाफी कारबाहीमा गाजामा ३४ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ