arrow

सोल्टी होटलमा यसरी हुनेछ दुई दिने लगानी सम्मेलन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
investment-summit-lagani-sa.jpg
तस्बिर – एआई ।

काठमाडौँ । सरकारले यही बैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना गर्दैछ । काठमाडौँको ताहाचलस्थित सोल्टी होटलमा उक्त सम्मेलनको आयोजना हुँदैछ । यस पटकको सम्मेलनमा १० वटा सत्र, ५० भन्दा बढी वक्ता र एक हजार जनाभन्दा धेरै सम्भावित लगानीकर्ताको सहभागिता रहने सम्मेलनको सचिवालय संस्था लगानी बोर्डले जनाएको छ । 

यस्तो छ कार्यक्रमको तालिका
आइतबारदेखि हुने उक्त सम्मेलन बिहान ८ बजेबाट शुरु हुनेछ । रजिष्ट्रेसनको कामपछि साढे ९ बजेदेखि सम्मेलनको उद्घाटन सत्रको कार्यक्रम शुरु हुनेछ । उक्त सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन तथा निजी क्षेत्रका व्यक्तिहरुले बोल्ने कार्यक्रम छ । यो कार्यक्रमको अवधि करिब २ घण्टा १५ मिनेट रहने बोर्डले जनाएको छ । 

करिब सवा १२ देखि दोस्रो पूर्ण सत्र (प्लेनरी सेसन) प्रारम्भ हुनेछ । उक्त सत्रमा नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति दिइनेछ । यही सेसन अन्तर्गत नेपालमा भएको लगानीको सफलतासम्बन्धी प्रस्तुति दिइनेछ । 

उक्त कार्यक्रमपछि बोर्डले तय गरेका १ सय ४८ आयोजनाको शोकेसिङ तथा मार्केट सराउन्डिङको काम गरिनेछ । उक्त कार्यक्रम सकिएपछि केही सीमित व्यक्तिसँग प्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ । 

सोमबार बिहान अर्थमन्त्रीले विभिन्न विकास साझेदारहरुसँग बैठक गर्नेछन् । त्यसपछि तीनवटा समानान्तर सत्र आयोजना हुनेछ । पहिलो सत्र १० देखि ११ः३० सम्म चल्नेछ । उक्त सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । 

त्यस्तै, दोस्रो सत्र ११ः४५ देखि १ः१५ सम्म चल्नेछ । उक्त सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । 

२ः३० देखि ४ बजेसम्म सञ्चालन हुने तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने बोर्डले जनाएको छ । 

सम्मेलन आयोजनास्थलमा २५ वटा स्टलहरु रहनेछन् । ती स्टलहरुबाट लगानीकर्ताहरुले रुची भएका आयोजनाको सम्बन्धमा जानकारी प्राप्त गर्न सक्नेछन् । शोकेसमा राखिएका आयोजनामध्ये निजी क्षेत्र पठाएका आयोजनाको बारेमा जानकारी दिन निजी क्षेत्रकै प्रतिनिधि खटिने छन् । स्थानीय तहको आयोजनाबारे जानकारी दिन पनि छुट्टै कक्ष र जनशक्तिको व्यवस्थापन गरिएको बोर्डका प्रवक्ता प्रध्युम्न उपाध्याय बताउँछन् । 

यो सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (पीडीए) गर्ने निश्चित भएको छ । ती परियोजनहरुमा नेपाल–चीन मैत्री औद्योगिक पार्क, अपर मर्स्याङ्दी–२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगङ्गा सौर्य ऊर्जा आयोजना रहेका छन् । 

त्यस्तै डावर नेपालसँग आयोजना लगानी सम्झौता हुनेसमेत निश्चित भएको छ । डाबर नेपालले अहिले भएको व्यवसायमा थप लगानी गर्न खोजेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ