- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आगामी जुन २ तारिख (जेठ २० गते) देखि वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि नेपाल आएको वेष्ट इन्डिजको ए टिमसँग नेपालले अहिले अन्तिम तथा पाँचौँ खेल खेलिरहेको छ ।
त्रिविवि कीर्तिपुर मैदानमा नेपालले १७३ रनको चुनौती पछ्याउँदै छ । यसअघि टस जितेर वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १७२ रन बनायो । एलिस अथानाजले २९ बलमा अविजित रँदै ४२ तथा कप्तान रोस्टन चेजले २३ बलमा ३३ रन बनाए ।
नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान ३–३ विकेट लिए । त्यस्तै अविनाश बोहराले १ विकेट लिए । यो खेलमा कुशल भुर्तेल, दिपेन्द्र संह ऐरी र प्रतिस जीसी भने विकेटविहीन रहे ।
पहिलो पटक नेपाल आएको वेष्ट इन्डिजको टिमसँग यसअघि भएका चारमध्ये तीन खेल जितेर वेष्ट इन्डिजले पाँच खेलको श्रृंखलामा कब्जा जमाइसकेको छ ।
आजको अन्तिम खेल जितेर नेपाल सान्त्वना विजय हासिल गर्न चाहन्छ । नेपालले पहिलो खेल जितेर वेष्ट इन्डिजलाई कडा चुनौती पस्केको भए पनि त्ससपछिका तीन खेल नेपालले लगातार गुमायो ।
यसपालि नेपालको बल–ब्याट दुवै राम्रोसँग चलेको छैन । कप्तान रोहित पौडेलमात्र ब्याटिङमा जमेका छन् । उनले तीन खेल खेले । एउटा शतक र दुईओटा अर्धशतक हानेका छन् । तर अन्य ब्याट्सम्यान र बलरहरु भने जम्न सकेका छैनन् ।
नेपाललाई विश्वकपको तयारीका लागि यो निकै राम्रो अवसर हो । वेष्ट इन्डिज एका तीन खेलाडी विश्वकपमासमेत छानिएको अवस्थामा नेपालको अन्तिम भिडन्त झनै महत्वपूर्ण रहेको छ ।
अन्तिम खेल आज दिउँसो १२ः१५ देखि कीर्तिपुर मैदानमै हुनेछ ।
नेपालको सबैभन्दा सशक्त पक्ष भनेको बलिङ हो । पछिल्लो समय नेपालको बलिङ निकै खस्केको छ । त्यस्तै ब्याट्सम्यान पनि सेट हुन सकिरहेका छैनन् ।
अब पनि लयमा नफर्कने हो भने नेपालको विश्वकप यात्रा केवल सहभागीका लागि मात्रै हुनेछ ।
यसअघिको एसीसी प्रिमियर लिगमासमेत नेपालले सेमिफाइनल र तेस्रो स्थानको भिडन्त हारेर कमजोर सावित भइसकेको छ ।
चौथो खेलको नतिजाः
चौथो खेलमा वेष्ट इन्डिज २८ रनले विजयी भयो । जितका लागि २१० रनको चुनौती पछ्याउने क्रममा नेपालले २० ओभरमा सबै विकेट गुमाएर १८१ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ८२ रन बनाए । उनलाई साथ दिने कुनै पनि ब्याटर नभएपछि नेपालले खेल हारेको हो ।
नेपालका लागि सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान १९ रन बनाए । म्याथ्यु फोर्ड र हाइडेन वाल्शले समान ३–३ विकेट लिए ।
यसअघि कीर्तिपुर मैदानमा टस जितेर वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २०९ रन बनायो ।
आन्द्रे फ्लेट्चरले ५४ बलमा अविजित रहँदै ८४ तथा जोन्सन चार्लसले ३० बलमा ५८ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिस जीसीले १ विकेट लिए । नेपाली टिमले आगामी जुन २ तारिखदेखि वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा भाग लिने भएकाले यो श्रृंखला नेपाली टिमका लागि निकै नै महत्वपूर्ण रहेको छ ।
तेस्रो खेलको नतिजाः
खेलमा वेष्ट इन्डिज ७६ रनले विजयी भयो । वेष्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २२७ रन बनायो ।
जोन्सन चार्लसले ६१ बलमा अविजित रहँदै ११९ रन बनाए । त्यस्तै आन्द्रे फ्लेच्चरले ३३ बलमा ५३ रन बनाए ।
कमजोर बलिङ गरेको नेपालका लागि करण केसी र सागर ढकालले १–१ विकेट लिए । एक खेलाडी रनआउट भएका थिए ।
जवाफमा नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रनमात्र बनायो । विश्वकपअघि खेलाडीलाई मौका दिने भन्दै नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली टिम उतारको थियो । तर ऐरीको टिम सस्तैमा समेटियो । लोकेश बम र करण केसीले समान २८ रन बनाए । हेडेन वाल्शले ३ विकेट लिए ।
दोस्रो खेलको नतिजाः
दोस्रो खेलमा वेष्ट इन्डिज १० रनले विजयी भयो । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा जितका लागि १६१ रनको चुनौती पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १५० रनमात्र बनाउन सक्यो ।
कप्तान रोहित पौडेलमात्र टिकेको खेलमा पौडेलले ४८ बलमा अविजित रहँदै ७१ रन बनाए । त्यस्तै गुल्सन झाले ११ बलमा २६, लोकेश बलमे १६ बलमा १७ तथा आरिफ शेखले १६ बलमा ११ रन बनाए ।
त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । वेष्ट इन्डिजका लागि गुडाकेश मोटी र अबेड म्याक्कोएले २–२ विकेट लिए । तीन खेलाडी रन आउट भए ।
खेलमा टस जितेर वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६० रनमात्र बनाउन सक्यो । यसअघि वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।
आन्द्रे फ्लेटचरले ३६ बलमा ४३ रन बनाए । गुडाकेश मोटीले ८ बलमा अविजित रहँदै ३३ रन बना । त्यस्तै कप्तान रोस्टन चेजले २२ बलमा २३ रन जोडे ।
नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
पहिलो खेलको नतिजाः
पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भयो । २०५ रनको चुनौती नेपालले २ बल खेल्न बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५४ बलमा ६ छक्का र १० चौकाको मद्धतले ११२ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रन बनाए ।
वेष्ट इन्डिजका म्याथ्यु फोर्ड र ओबेड म्याक्कोएले समान २–२ विकेट लिए ।
यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको वेष्ट इन्डिजले आक्रामक खेल्दै ५ विकेटको क्षतिमा २०४ रन बनायो ।
कप्तान रोस्टन चेजले ४६ बलमा ७४ रन बनाए । त्यस्तै ओपनर एलिक एथानाजले २५ बलमा ४७ तथा केसी कार्लीले २६ बलमा ३८ रन बनाए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरी, कमल ऐरी, अविनाश बोहरा र रोहित पौडेलले १–१ विकेट लिए । कमजोर बलिङ गरेको नेपालले १७ रन अतिरिक्तका रुपमा दिएको थियो ।