arrow

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
lumbini-maya-devi-temple.jpg
तस्बिर-फाइल

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको छ । लुम्बिनीमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको समापनका सहभागीले बुद्धजन्मस्थललाई बौद्ध दर्शनको उद्गमस्थलका रुपमा प्रवर्द्धन गर्न र शान्ति सहर घोषणाको माग गरेका हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायको आयोजनामा लुम्बिनीमा आयोजित ‘विश्वव्यापी चुनौतीको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता’ विषयक गोष्ठी आयोजना गरिएको थियो ।

 

गोष्ठीका सहभागीहरुले राजनीतिक व्यवस्थाको परिवर्तन र द्वन्द्वका विषय समाधान भइसकेकाले बुद्ध जन्मस्थल नेपाललाई शान्ति देश घोषणा गर्न संयुक्त राष्ट्र सङ्घ समक्ष आग्रह गरे ।बौद्ध शिक्षालाई विद्यालय तहदेखि शैक्षिक पाठ्यक्रममा समावेश गर्दै बौद्ध दर्शनको अध्ययन, अनुसन्धानलाई विशेष प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

“वातावरणीय असन्तुलन, आर्थिक सङ्कट, आपसी द्वन्द्व र अपराध तथा मानसिक प्रतिकूलनताजस्ता विश्वव्यापी समस्याको समाधान तथा न्यूनीकरणका लागि शील, समाधि र प्रज्ञायुक्त समाज निर्माण गर्न बौद्ध शिक्षाको विश्वव्यापीकरण आवश्यक देखिएकाले बौद्ध शिक्षाको अध्ययन, अनुसन्धानमा जोड दिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौँ”, गोष्ठीपछि सार्वजनिक गरिएको सात बुँदे लुम्बिनी घोषाणापत्रमा भनिएको छ ।

 

सअघि गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा आफ्ना धारणा राख्दै योग गुरुहरुले बढ्दो सामाजिक समस्याको समाधान योग भएकोमा जोड दिए । अनाइनमार्फत आफ्ना धारणा राख्दैआचार्य बालकृष्ण र डा विकासानन्दले मानव जातीले दुःखबाट मुक्ति पाउने एकमात्र उपाय ध्यान र साधना भएको बताए । उनीहरुले जीवनका समस्याबाट पार पाउन योग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

गोष्ठीमा योग गुरु डा भोलानाथ योगी, डा चिन्तामणि योगी, भानु शर्मा, प्रा डा विशाल सिटौला र डा क्षितिज बराकोटीले सबै धर्म, पराम्परा र योगको भूमि नेपाल भएकाले यसलाई हरेक व्यक्तिको जीवनपद्दतिसँग जोड्ने गरी प्रचार आवश्यक रहेको बताए। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शन र योगलाई जोडेर नयाँ पाठ्यक्रम बनाइ कार्यान्वय गर्ने तयारी गरेकोले राय सुझाव आवश्यक रहेको बताए ।

बौद्ध अध्ययन संकायका डीन डा माणिकरत्न शाक्यले बौद्ध दर्शन र विपश्यनाका माध्यमबाट आपसी द्वन्द्व र समस्या समाधान गर्न सकिने भएकाले विश्वविद्यालयले छुट्टै विषयका रुपमा अध्ययन अध्यापनको तयारी थालेको जानकारी दिए। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले शान्ति, मैत्री र करुणाको भावना विकास गर्न योग र साधना गर्न आवश्यक रहेकोमा जोड दिए ।

गोष्ठीमा लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, डा निमा शेर्पा, कमल थापा, लक्ष्मी पोखरेललगायतले बौद्ध दर्शन र योगका विषयमा विद्यालय तहदेखि नयाँ पाठ्यक्रम आवश्यक रहेको बताए । गोष्ठीमा नेपालसहित थाइल्याण्ड, फ्रान्स, स्टोनीया, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, श्रीलङ्का, पोर्चुगल, नर्वेलगायतका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ