arrow

लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार - राष्ट्रपति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
ramchandra-poudel-03-05.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार भएको बताएका छन् । काठमाडौँमा शुक्रबारबाट शुरु भएको १६ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विधिसम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुने कुरालाई बिर्सिन नहुने बताए । उनले सच्चा न्यायका लागि स्वतन्त्रताको आवश्यक हुने र सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्ने बताए । 

उनले लोकतान्त्रिक प्रणाली भित्र नै न्यायपालिका सक्षम हुने पनि बताए । राष्ट्रपति पौडेलले बार र बेन्च बीचमा बेला बेलामा छलफल र अन्तरक्रिया हुने गरे सही प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उनले न्याय आफैँ हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय भएको पनि बताए । उनले न्याय दिने, दिलाउने पुनीत कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नु भन्दा कर्ताको कर्ममै प्रतिविम्ब हुनुपर्ने बताए । उनले न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाइ चुस्त बनाउन जरुरी रहेको पनि बताए ।

उनले भने, ‘न्याय भनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनुपर्छ । संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य तथा मौलिक अधिकारप्रति सचेत हुन निर्देश गर्दछ । यसको सच्चा पहरेदार नेपाल बार एशोसिएशनसँग आबद्ध विद्वान कानून व्यवसायी हुन् भन्ने विश्वास छ । न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो । विभिन्न अभाव र समस्याले बोझिल न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाइ चुस्त बनाउन जरुरी छ । न्याय दिने, दिलाउने पुनीत कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नु भन्दा कर्ताको कर्ममै प्रतिविम्ब हुनुपर्छ । न्याय आफैँ हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय हो । यसको स्वच्छतामा न्यायाधीश र कानून व्यवसायको आफ्नै भूमिका रहने हुँदा बार र बेन्च बीचमा बेला बेलामा छलफल र अन्तरक्रिया हुने गरे सही प्रतिफल प्राप्त हुनेछ । न्यायपूर्ण जीवनशैली बोकेका वा अध्ययन अनुसन्धानमा तल्लीन कानून व्यवसायी न्यायपालिकाको सहयोगी मात्रै होइन, त्यसको सारथि पनि हुन सक्दछ । त्यसका लागि यसका लागि समर्पण र त्याग न्यायका लागि हुनुपर्छ । लोकतान्त्रिक प्रणाली भित्र नै न्यायपालिका सक्षम हुने हो । सक्षमताका निमित्त उ आफैँ निष्पक्ष, तटस्थ हुनुपर्छ र न्याय सम्पादनमा समरुपता हुनुपर्छ । सच्चा न्यायका लागि उसलाई स्वतन्त्रता पनि चाहिएको हुन्छ, त्यसको सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्छ । लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता, अन्यायको निवारणको उपाय र उपचार हो । विधि सम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुने हो भन्ने कुरा बिर्सिन हुँदैन । विधिको पूर्ण पालनाबाट न्यायपूर्ण ऋतिस्थिति बसाल्न कानून व्यवसायीहरूको अग्रणी भूमिका हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ