arrow

रामग्राममा बन्न लागेको सडकले दर्जनौँ उद्योग डुबाउने जोखिम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
ramgram-road-debate.jpg

रामग्राम । नवलपरासीको रामग्राममा बन्न लागेको एउटा सडकले दर्जनौँ उद्योग र हजारौँ किसानको खेतबारी डुबानमा पर्ने देखिएको छ । नगरपालिका पोखरापालीदेखि पण्डितपुर जोड्ने तथा ओमनेटर फुडदेखि नदवाचोकसम्म जाने सडकको डिजाइनका कारण डुबानको समस्या आउने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । 

हुलाकी राजमार्गसँग चौबाटो जोडिएको सडक खण्डको लम्बाइ ५.७८ किलोमिटर रहेको एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा स्तरोन्नति हुन लागेको हो । कुल ४२ फिट चौडाइ रहेको उक्त सडकको नाला भू–सतहभन्दा माथि पर्ने भएसँगै उक्त बस्ती जोखिममा पर्ने देखिएको उक्त क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य बैजनाथ कलवार बताउँछन् । 

अहिले उक्त सडक छेउँछाउँमा डिस्टिलरी, स्टिल उद्योग, चाउचाउ उद्योग, बेभरेज कम्पनीलगायत दर्जन भन्दा धेरै उद्योगहरु छन् । त्यस्तै अहिलेको डिजाइनमा सडक निर्माणले सयौँ बिगाहा जग्गासमेत डुबानमा पर्ने देखिएको प्रदेश सभा सदस्य कलबारको भनाइ छ । डिजाइन निर्माणमा नगरपालिकाले लापरबाही गर्दा यस्तो समस्या देखिएको उनको भनाइ छ । 

यो सम्बन्धमा उक्त क्षेत्रका उद्योगहरुले संयुक्त रुपमा रामग्राम नगरपालिकाका मेयरलाईसमेत पत्र लेखेका थिए । फागुनमा लेखिएको उक्त पत्रमा सतहभन्दा माथि बनेको नालाले पानीको प्राकृतिक बहाबलाई रोक्ने भन्दै यसले डुबानमा पार्ने उल्लेख गरिएको थियो । 

सडक निर्माण गर्नुअघि यो पानीको निकासको व्यवस्था गरिदिनसमेत उनीहरुको माग थियो । नगरप्रमुखलाई बुझाइएको उक्त पत्रको बोधार्थ जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य महासंघका अध्यक्ष र सम्बन्धित सबै वडाका वडाध्यक्ष तथा सहयोगी संस्था विश्व बैंकका प्रतिनिधिलाईसमेत बुझाइएको उद्योगीहरुको भनाइ छ । यद्यपि अहिलेसम्म मागको सुनुवाइ नभएको उनीहरु बताउँछन् । 

प्रदेश सांसद कलवार भने यो समस्या समाधान गर्न आफूले पहल लिएको भन्दै छिटै समाधान हुने विश्वास व्यक्त गर्छन् । ‘स्थानीय वासिन्दा र उद्योगी व्यवसायीको समस्या सुनेपछि मैले पनि पहल समस्या समाधान गर्न पहल गरेको छु, उहाँहरुसँग सकारात्मक ढंगले नै कुराकानी भइरहेको छ, राम्रै होला,’ उनी भन्छन्, ‘यहाँ मुख्य भनेको उद्योगी व्यवसायी हो । त्योभन्दा पनि ठूलो किसान हो । उहाँहरु नै डुबानमा पर्नुभयो भने बालीनाली कसरी लगाउने, के गर्ने ? यो त हुनु हुँदैन ।’

के भन्छ नगरपालिका ? 
नगरपालिकाका इञ्जिनियर माधव न्यौपाने भने नयाँ सडकमा पाइपको साइज ठूलो राखिएको र वैकल्पिक नालाबाट पानीको निकास गर्ने व्यवस्था गरिने भएकोले यसले डुबान नपर्ने दाबी गर्छन् । अहिले बन्न लागेको सडक नै अग्लो भएकोले नाला अग्लो हुने भए पनि वैकल्पिक व्यवस्था हुने उनको भनाइ छ । 

‘हामीले अहिले बनाउन लागेको ४२ फिटको बाटो मात्रै हो । बाटो अग्लो हुने भएकोले नाला पनि अलि माथि आउँछ । तर साइडमा बाँकी रहेको ठाउँबाट वैकल्पिक नाला बनाएर निकासको व्यवस्था गर्न सकिन्छ । हिमपाइपको साइज पनि ६० बाट ९० हुन्छ । त्यसैले डुबानमै पर्छ भन्ने केही पनि होइन ।’

पौडेलले किसानहरुले अहिलेसम्म नगरपालिकासँग कुनै त्यस्तो गुनासो नगरेको बताए । उनले भने, ‘किसानहरुबाट केही गुनासो आएको छैन । उद्योगीहरुले चाहिँ डुब्छ कि भनेर भन्नुभएको थियो । यो किसानको भन्दा उद्योगीले चासो देखाएको कुरा हो ।'


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ