arrow

शेयर बजारको यो उचाइ कहाँसम्म पुग्ला ?

logo
शंकर अर्याल,
प्रकाशित २०८१ जेठ १२ शनिबार
shankar-aryal-81-2-12.jpg

काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दैगर्दा शेयर बजारका धेरैजसो विश्लेषकहरुले भन्ने गर्थे, ‘यो समीक्षा शेयर बजारको लागि तटस्थ छ ।’ त्यस्तै केही समीक्षकले भन्ने गर्थे, ‘शेयर बिक्रीको सीमा १ प्रतिशतबाट २० प्रतिशत पुर्याइएको छ, यसले सप्लाई बढाउँछ, त्यसैले यसले त बजारलाई घटाउँछ ।’

मौद्रिक नीतिको समीक्षा गर्ने दुई दिनको समयसम्म पनि यसमा अडिग रहेका उनीहरुको विश्लेषणलाई माथ खुवाउनेगरी बजारले उकालो बाटो लियो । यसले उनीहरुलाई आश्चर्यचकित त बनायो नै शेयर बजारलाई सामान्य माग र आपूर्तिको एकसरो विश्लेषण मात्रै पर्याप्त हुने रहेनछ भन्ने सन्देश बजारले दिएको छ । 

कस्तो रह्यो साताको बजार ?

यो साता शेयर बजारमा चार दिन मात्रै कारोबार भयो । चार दिनमा शेयर बजार ११२.७१ अंकले बढेको छ । योसँगै अघिल्लो साता २०१८.७६ अंकमा रहेको शेयर बजार बढेर २१३१.४९ अंकमा पुगेको नेपाल स्टक एक्सचेञ्जको तथ्यांक छ ।  यो वृद्धिसँगै शेयर बजार पुँजीकरण १ खर्ब ७८ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ७९ अर्ब रुपैयाँमा पुगेको छ । 

कारोबार रकमको आधारमा पनि यो साता उत्साहपूर्ण रह्यो । यो साता कारोबार भएका चारै दिन ५ अर्ब भन्दा धेरैको कारोबार भएको छ । साताभरमा कुल कारोबार रकम २१ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो साता पाँच दिनको कारोबारमा पनि करिब साढे १४ अर्ब रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको थियो ।

यो साता सबैभन्दा रोचक चाहिँ के छ भने शेयर बजारमा सबैभन्दा धेरै उछाल आउने क्षेत्र बैंकिङ बनेको छ । यसअघि वर्षौंसम्म बैंकिङ क्षेत्र वृद्धिमा पछि पर्दै आएको थियो । बढ्दा धेरै नबढ्ने, घट्दा चाहिँ अत्यधिक घट्ने अवस्थाबाट बैंकिङ उपसूचकप्रति कारोबारीहरु आजित थिए । 

यो साता औसत परिसूचक ५.५८ प्रतिशतले बढ्दा बैंकिङ परिसूचक १३.४४ प्रतिशतले बढेको छ । बैंकिङ परिसूचक दोहोरो अंकमा बढ्दा अरु परिसूचक भने यो साता चार प्रतिशत भन्दा कमैले बढेका छन् । बैंकिङपछि सर्वाधिक बढेको हाइड्रोपावर क्षेत्रको वृद्धिदर ३.९५ प्रतिशत रहेको छ । सबैभन्दा कम वृद्धि भएको माइक्रोफाइनान्स १.०७ प्रतिशतले मात्रै बढेको छ । 

अर्को रोचक तथ्य के छ भने बुधबार बैंकिङ परिसूचक एक्लैको कारोबार चार अर्ब रुपैयाँ भन्दा धेरै भयो । यो नेप्सेमा उपलब्ध तथ्यांक मध्येकै सबैभन्दा धेरै हो । नेप्सेले विगत एक वर्षदेखिको क्षेत्रगत तथ्यांक राख्दै आएको छ । परिसूचक र कारोबार दुवैमा देखिएको यो उत्साहले तुलनात्मक रुपमा कम जोखिम लिन चाहने लगानीकर्ताहरुलाई उत्साही बनाएको छ । 

कति दिगो होला वृद्धि ? 

खासगरी बैंक तथा वित्तीय संस्थालाई शेयर बिक्रीलाई निकै खुकुलो बनाएका कारण बजारको यो वृद्धि देखिएको बुझिन्छ । बैंकहरुसँग अर्बौंको लगानी शेयर बजारमा रहेको अवस्थामा बेच्न पाउने सीमा वार्षिक एक प्रतिशत मात्रै हुँदा शेयर निकै संकुचित अवस्था थियो । अब यो खुला हुँदा बजार बढेको हो । 

शेयर बजारका विश्लेषक देव गुरागाईं किन्न पाउने तर बेच्न नपाउने अवस्थालाई सहज बनाइदिँदा बजारले स्वभाविक प्रतिक्रिया देखाएको बताउँछन् । गुरागाईं भन्छन्, ‘यसअघि चुक्ता पुँजीको ३० प्रतिशतसम्म शेयर किन्न पाउने अवस्था थियो । तर बेच्न चाहिँ एक प्रतिशत मात्रै पाइन्थ्यो । यसलाई बढाएर २० प्रतिशतमा पुर्याइदिँदा शेयर किनबेच गर्ने बाटो खुला भयो, त्यही भएर शेयर बजार बढेको देखिन्छ ।’

उनका अनुसार मौद्रिक नीतिको समीक्षापछि शेयर बजारमा भएको यो वृद्धिलाई स्वभाविक भएकोले यो दिगो समेत हुनसक्छ । गुरागाईं भन्छन्, ‘बजार... विशेष गरी बैंकिङ परिसूचक एक स्टेप अघि बढ्यो, सायद अब पछि नफर्केला कि ?’

बजार बढ्दा बुझ्नुपर्ने कुरा

सामान्यतया अहिले शेयर बजार बढ्नुलाई कतिपयले बैंकहरुले शेयरमा लगानी गर्न पाउने अवस्था भएकोले बढेको भन्ने बुझिरहेका छन् । तर, वास्तविकता चाहिँ त्योभन्दा अलि फरक छ । अहिले बैंकलाई शेयर किनबेच गर्न सहज बनाइएको हो । बैंकले बैंकहरुकै शेयर किन्न नपाउने भएकोले बैंकिङ क्षेत्रकै शेयरको माग बढ्छ भनेर अनुमान गर्न सकिँदैन । 

त्यसैले अहिलेको वृद्धि बैंकिङ क्षेत्रले शेयर बेचेरै भए पनि आगामी वर्ष प्रतिफल दिन सक्छन् भन्ने आशाले भएको कतिपय जानकार बताउँछन् । शेयर बजारका अर्का एकजना विश्लेषक भन्छन्, ‘बैंकले शेयर किन्छन् भन्ने भएर शेयर बजार बढेको भए बैंकिङ बाहेकको परिसूचक बढ्नुपर्ने हो । तर, अरु परिसूचकमा धेरै ठूदो सुधार नआउनु तर बैंकिङ मात्रै बढ्नुले यो बुझाइ सही होइन भन्ने प्रष्ट हुन्छ । 

त्यसो त नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् खुकुलो व्यवस्था गरेपछि यो समयलाई नीतिगत सुधारको टर्निङ प्वाइन्टको रुपमा बजारले बुझेको छ । त्यही भएर यसले बजारलाई सकारात्मक प्रभाव पारेको विश्लेषकहरु बताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ