arrow

बजेटमा मनपरी

गरिबलाई खाली पेट, पूर्वलडाकुलाई तीन अर्बको भेट 

यसअघि लडाकुका नाममा पैसा नपाउँदा प्रचण्डले गरेका थिए सरकारको समीकरण नै परिवर्तन, केपी–रवि मौन, प्रतिशोध साँध्नमै व्यस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
finance-ministry-mof.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आर्थिक शिथिलताको कारण देखाउँदै यतिबेला सरकारले बजेटमा कसिलो व्यवस्था लागू गर्ने तयारी गरिरहेको छ । बजेट अघिका छलफलहरुमा अर्थमन्त्री वर्षमान पुन तथा अन्य सरकारी अधिकारीहरुको प्रस्तुतिले आगामी बजेट निकै मितव्ययी हुने देखाउँछ । अबको बजेटमा लोकप्रिय भनिने कुनै पनि कार्यक्रमहरुमा थप बजेट विनियोजन नहुने निश्चितजस्तै भएको बताइन्छ । 

तर स्रोत अभावले अर्थतन्त्र शिथिल भइरहेको यो समयमा सरकारले पूर्व लडाकुको लागि झण्डै तीन अर्ब विनियोजन बजेटमा घुसाउन लागेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार २ अर्ब ८० करोड रुपैयाँ बराबरको बजेट रातो किताबमा चढाइएको छ । आगामी जेठ १५ गते बजेटमा उक्त विषय प्रस्तुत गरिनेछ । 

सरकारले यही विषय नीति तथा कार्यक्रममा पनि राखेको थियो । उक्त कार्यक्रम अन्तर्गत युद्धमा संलग्न लडाकुहरुलाई सम्मान गर्ने, घाइतेका लागि निःशुल्क उपचार गर्ने र उनीहरुलाई भत्ता दिने विषय उल्लेख गरिएको थियो । घाइतेलाई उपचार गर्ने विषय विवादस्पद नभए पनि सम्मान र भत्ता दिने विषय विवादित छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै निर्देशनमा यो व्यवस्था गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ । 

सरकारले  यो नीति तथा कार्यक्रममा राखेको विषय अहिलेसम्म संसदमा छलफलसमेत हुन सकेको छैन । संसदमा अवरोध भइरहेको समयमा नीति तथा कार्यक्रमलाई गोलमटोल गरी पारत गर्ने तयारी भइरहेको छ । संसदमा हुने आलोचनालाई छल्न सरकारले संसद अवरोधलाई एउटा अवसरको रुपमा हेरेको छ । 

लडाकुलाई पैसा बाँड्न नपाउँदा फेरिएथ्यो सत्ता समीकरण
त्यसो त लडाकुका नाममा पैसा दिने मामिलामा प्रचण्डको झुकाव यति छ कि यो नपाउँदा सरकारको समीकरण नै परिवर्तन गरिदिएका थिए । तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले झण्डै तीन हजार लडाकुहरुलाई शहीद घोषणा गर्न आवश्यक रकम विनियोजन गर्न आनाकानी गरेपछि प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेर एमाले र रास्वपासहितको नयाँ समीकरण बनाएका हुन् । 

नयाँ समीकरणसँगै अर्थमन्त्री बनेका पुनले त्यो संख्यामा शहीद घोषणा गर्न आवश्यक रकम सुनिश्चित गराएका थिए । त्योबेला झण्डै ३ अर्ब बजेट गएको थियो । अहिले आएर फेरि सोही बराबरको रकम खर्चिन लागिएको हो ।

प्रतिशोध साँध्नमै रमाउँदै एमाले–रास्वपा 
एमाले र रास्वपा अहिले सरकारका सहयात्री दलहरु छन् । कुनै समयमा यस्तो खर्चको चर्को विरोध गर्ने एमाले र नयाँ दलको रुपमा उदाएका रास्वपासमेत यसबारे मौन छन् । एमाले अध्यक्ष केपी शर्मा ओली  रास्वपा सभापति रवि लामिछाने दुवै अहिले प्रतिशोध साँध्ने ध्याउन्नमा छन् । 

२०७८ सालमा नेकपा फुटेपछि बनेको एमालेले संसद अवरुद्ध गर्दा जबरजस्ती संसद सञ्चालन गरेको प्रतिशोध अहिले संसदमा काँग्रेसविरुद्ध पोखिरहेको छ । उता आफूविरुद्ध समाचार लेखेको आरोपमा रवि लामिछाने कैलाश सिरोहियामाथि मुद्दा लगाउन कार्यकर्ताहरुलाई धनुषामा खटाएका छन् ।

कांग्रेस पनि अहिलेसम्म नीति तथा कार्यक्रमको अन्तरवस्तु र बजेट दुरुपयोगबारे विषयमा प्रवेश नै गरेको छैन । सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरिरहेको कांग्रेसले संसद बाहिर अहिलेसम्म नीति तथा कार्यक्रमबारे टिप्पणी गरेको सुनिएको छैन । यो अवस्थाले सरकारी पक्षको धमिलो पानीमा माछा मार्ने प्रपञ्चलाई थप बल पुर्याएको देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ