arrow

नियम विपरीत सरुवा गरेर प्रहरी संगठनको मनोबल खस्काउँदै गृहमन्त्री लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस–माओवादी गठबन्धनमा रहँदा गृह मन्त्रालय र त्यस मातहत भएका सरुवालाई अदलबदल गर्ने क्रम जारी राखेका छन् ।  

बुधबार मन्त्रिस्तरीय निर्णयबाट नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गर्दा नीति नियम विपरीत सरुवा गरेर प्रहरी कर्मचारीको मनोबल खस्काएका छन् ।

पछिल्लो डीआईजी र एसएसपी सरुवालाई लिएर प्रहरीभित्र चरम असन्तुष्टि भएको छ । कुनै प्रहरी अधिकृतको समय पुगिसक्दा पनि सरुवा हुँदैन, कोहीको भने गएको पाँच महिना नपुग्दै सरुवा भएको छ ।

संगठनमा काम गर्ने वातावरण बिग्रिएर गएको छ । तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको आन्तरिक आचारसंहिता, २०७७ जारी गर्दै आफ्नो व्यक्तिगत फाइदाका लागि शक्तिकेन्द्रमा लबिइङ गर्न नपाउने मान्यता अघि सारेका थिए । 

यस्ता मान्यताहरु त्यसअघिका प्रहरी महानिरीक्षकले बनाएका थिए । गृहमन्त्री नयाँ आएपछि यस्ता मान्यताहरु भत्किने र नयाँ बन्ने गरेका छन् । नारायणकाजी श्रेष्ठ आएपछि पनि नयाँ मापदण्ड बन्यो तर हस्तक्षेप रोकिएन । अहिले झन् बढी हुन थालेको भन्दै प्रहरी कर्मचारीहरु आजित हुन थालेका छन् ।

डीआईजीको सरुवा लटमा गृहमन्त्रीले अवधि नपुगी २० जना एसएसपीको पनि सरुवा गरेका छन् । एसएसपी सरुवामा आर्थिक चलखेल भयो भनेर प्रहरी प्रधान कार्यालयभित्रै चर्चा चलिरहेको छ । 

गृह मन्त्रालयले तीन जना डीआईजीको सरुवा गरेपछि प्रहरी मुख्यालयमा यस्तो खैलाबैला मच्चिएको हो । मन्त्रिस्तरीय निर्णय भन्दै उनीहरुको सरुवा गरिएको हो । गृहमन्त्री भएदेखि नै प्रहरीमा हस्तक्षेप गरेर विवादित निर्णय गर्दै आएका रवि लामिछानेले बुधबार तीन जना डीआईजीको सरुवा गरे ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार डीआईजी रामदत्त जोशीलाई प्रहरी प्रधान कार्यालय विशेष ब्युरोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय पठाइएको छ । 

कर्णाली प्रदेश प्रमुख लालमणि आचार्यलाई प्रहरी शिक्षालय भरतपुर काजमा खटाइएको छ । साइबर ब्युरोबाट अर्जुन चन्द ठकुरीलाई कर्णाली प्रदेशमा पठाइएको छ ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी लालमणि आचार्य ५ महिना नपुग्दै सरुवामा परेका हुन् । साइबर ब्युरोमा रहेका चन्दलाई तीन महिनामा कर्णाली पठाइएको छ । सामान्यतया सरुवाका लागि एक वर्ष पुग्नुपर्छ । 

२०८० पुस २४ गते १६ जना डीआईजीको एक साथ सरुवा गरिएको थियो । त्यतिबेला काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका आचार्यलाई ५ महिना नपुग्दै हटाइएको हो । 

उनीसँगै जिम्मेवारी पाएका अरू ६ प्रदेशका प्रहरी प्रमुखलाई चलाइएको छैन । अर्जुन चन्द ठकुरीले फेरि पनि प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । 

यसअघि विमानस्थलमा उनी सुरक्षा प्रमुख हुँदा अध्यागमन विभागका कर्मचारी र प्रहरीको विवाद भएको थियो । 

त्यसपछि बनेको छानविन समितिले प्रहरी नेतृत्वमाथि पनि प्रश्न उठाएको थियो । केही प्रहरीलाई कारबाही सिफारिससमेत गरिएको थियो ।

त्यसलगत्तै राजीनामासमेत बुझाएका चन्दलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितका उच्च अधिकारीहरूले राजीनामा फिर्ता लिन सुझाव दिएका थिए ।

सरुवासँगै गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि डीआईजीलाई नै खटाउने निर्णय गरेका छन् । 

डीआईजी रामदत्त जोशीलाई काजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा खटाइएको छ । 

जोशी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा कार्यरत थिए । ब्युरोबाट प्रदेश समन्वय विभागमा सरुवा गरिए पनि उनलाई काजमा विमानस्थल राखिएको हो । 

उनी पनि ब्युरो प्रमुख भएको पाँच महिनामात्रै भयो । विमानस्थलमा आएको दुई महिनामै कृष्णहरी शर्माको बढुवा भएपछि दत्तलाई त्यहाँ पठाइएको हो । 

प्रहरी नियमावली २०७१ को परिच्छेद–५ मा सरुवा सम्बन्धी व्यवस्था उल्लेख छ । उक्त परिच्छेदको दफा–५० को उपदफा (१) अनुसार अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई साधारणतया पदस्थापन गरिएको मितिले एक वर्ष नपुग्दै सरुवा नगरिने उल्लेख छ । एक वर्ष नपुग्दै सरुवा गरिएमा त्यसको कारणसमेत खुलाउनुपर्ने भनिएको छ । 

यसको अर्थ एक वर्षभन्दा अघि सामान्यतः सरुवा नगर्ने तर एक वर्ष अवधि पुगेपछि सरुवा गर्ने हुन्छ । 

सोहीअनुसार प्रहरी प्रधान कार्यालयले सामान्यतया प्रमुख भएर नेतृत्व गरेकाहरूको एक वर्षको अन्तरमा सरुवा गर्दै आएको छ ।

सरुवाले नेतृत्वको विकाससँगै जिम्मेवारी बाँडफाँडमासमेत समानता हुन्छ । तर अहिले त जिम्मेवारी बाँडफाँट वा नेतृत्व विकास केही पनि हेरिएको छैन ।

यसैगरी बुधबार नै २० जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको पनि अवधि नपुग्दै सरुवा गरिएको छ । 

चार महिना पनि नपुग्दै र बिना कारण एसएसपीहरुको सरुवा गरिएपछि प्रहरी संगठनमा कुन नीति, विधि र मापदण्डले काम गर्छ भन्ने कुरामा प्रहरीहरु अलमलमा परेका छन् ।

गृहमन्त्री स्तरीय निर्णयअनुसार विश्व अधिकारी आईजीपी सचिवालयमा आएका छन् भने ईश्वर कार्की मधेस प्रदेश कार्यालय जनकपुरबाट प्रहरी महानिरीक्षक मातहतको अन्वेषण महाशाखामा पुगेका छन् । 

त्यसैगरी दिनेशकुमार आचार्य सीआईबीबाट लागुऔषध ब्युरो प्रमुखमा सरुवा भएका छन् । 

आचार्य लामो समय सीआईबीमा बसेर अब्बल अनुसन्धान गर्ने अधिकृत हुन् । 

उनलाई एक पटक जिल्ला इन्चार्ज दिइएको छ । एसएसपी अरुण पौडेल अख्तियार, डम्बर विक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रमेशकुमार बस्नेत लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, दीप शमशेर जबरा प्रहरी युक्ति महाविद्यालय जर्गाह सिन्धुली सरुवा भएका छन् । जबरा, बस्नेत, विकलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको लेपन लगाएर पेलिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ