arrow

संसदमा रास्वपाका सांसदहरुको टिसर्ट फण्डा, कतिसम्म छुट ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
rsp-mps-parliament-tshirt.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु आज नेपाली क्रिकेट टिमको जर्सी लगाएर संसदभित्र प्रवेश गरेका छन् । उनीहरुले संसदभित्रै तस्बिर पनि खिचेर आफूहरु क्रिकेटका फ्यान भएको देखाएका छन् । 

त्यतिमात्र होइन रास्वपाबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले विश्वकप खेलको लाइभ प्रसारण गर्न स्थानीय तहलाई पत्र लेख्दै स्टन्टबाजी नै गरेका छन् । 

युवा तथा खेलकुद मन्त्रालयले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै सबै स्थानीय तहमा यो खेलकुदको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको थियो । 

नेपालको संविधानले स्थानीय तहलाई स्वायत्त सरकारको रुपमा व्याख्या गरेको छ । त्यतिमात्रै नभएर खेलकुद विकासलाई स्थानीय तहको अधिकार सूचीमासमेत राखेको छ । खेलकुद विकासका लागि के गर्ने भन्ने सम्बन्धमा स्थानीय तह आफैँले निर्णय गर्छन् । 

यस्तो अवस्थामा आफूअन्तर्गतसमेत नपर्ने स्थानीय तहलाई संघीय मामिला मन्त्रालयमार्फत पत्र लेख्नुलाई स्टन्टबाजी बाहेक केही नभएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । 

अब प्रसङ्गमा फर्किऔँ । सांसदहरुको आफ्नो मर्यादा छ । संसदमा कस्तो पोशाक लगाएर जाने भन्ने पनि नियम छ । प्रतिनिधि सभाले संसद बैठकमा सहभागी हुँदा सांसदहरुले लगाउने पोशाक २०८० बैशाख ३१ गते तय गरेको थियो । 

त्यो दिन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरुको पोशाक तोकेका थिए । प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४२ मा पोशाक र प्रतीक चिह्न सम्बन्धी व्यवस्था रहेको छ । 

त्यहाँ सांसदको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुने उल्लेख छ। सभामुखले पोशाक तोक्दा औपचारिक, मौलिक संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक समेतमा ध्यान दिनुपर्ने नियमावलीमा छ ।

नियमावली अनुसार सभामुख घिमिरेले संसदमा मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी पोशाक तोकेका हुन् । कोट, मौलिक संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित पोशाक लगाउन पाइने तर टिसर्ट पाइन्ट, जिन्स पाइन्ट लगाउन नपाउने नियम बनाइएको थियो । 

तर मंगलबार रास्वपाका सांसदहरुले टिसर्ट लगाएर जानु मर्यादा बाहिर हो । यद्यपि उनीहरुले बाहिर कोट त लगाएका छन् तर त्यसले पोशाकको मर्यादा देखाउँदैन । 

नेपाली क्रिकेटको प्रशंसक को नेपाली हैन र ? तर के क्रिकेटको प्रशंसक हो भन्दैमा मर्यादा उल्लंघन गरेर जानु राम्रो हो ? 

त्यसो त सांसदहरुले जे पनि लगाएर संसदभित्र जाने तर सर्वसाधारणलाई भने संसद र सिंहदरबारभित्र छिर्न मर्यादित पोशाक लगाउनु पर्ने भन्ने नियमबारे नै प्रश्नचिन्ह खडा गरेका छन् । 

गत आइतबार (जेठ २० गते) मात्रै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबार र संसद भवनमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ माग गरेकी थिइन्  । प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाएकी हुन् । 

उनले सांसदहरूले जुनसुकै प्रकारको पोशाक लगाएर पनि आउन सक्ने तर सर्वसाधारणको पोशाक हेरेर रोकिने गरेको भन्दै त्यसो गर्नु नहुने बताइन् । उनले सांसद र मन्त्रीहरूले कस्तो पोशाक लगाएर आउनुपर्ने हो भन्ने रुलिङ हुनुपर्ने बताइन् ।

उनले भनिन् – ‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कति जना छौँ ? हामी साडीमा आउँछौँ कि ? कोट, पाइन्ट, टाई लगाएर आउँछौँ कि ? आफ्नो मातृ ड्रेस लगाएर आउँछौ कि ? आज यो संसदमा कोही फ्रक लगाएर आउनुभएको छ । कोही टिसर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही जम्पर लगाएर आउनु भएको छ । हामीलाई चाहिँ सबै छुट रु अनि जनतालाई चाहिँ त्यसमा बन्देज रु नियम बनाउने हामी माननीयले चाहिँ जस्तो लगाएर यहाँ आए पनि भयो । नौरंगी फेशन लगाएर आए पनि हुन्छ हामीले चाहिँ केही गर्नु नपर्ने ? बिचरा जनताहरू हाफपाइन्ट लगाएर प्रवेश नपाउने सिंहदरबारको ढोकामा । चप्पल लगाएर हेर्न नपाउने संसद भवनमा । अत्यन्तै अप्ठ्यारो विषय हो । त्यसकारणले सभामुखमार्फत म प्रश्न पनि राख्न चाहन्छु सरकारलाई कारण के हो ? हाफपाइन्ट लगाएर भित्र जान नपाउने । हामी चाहिँ सबै ड्रेस लगाएर यहाँ आइरहेका छौँ । नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउँछ ? बाहिरतिर पनि हेरौँ । संसद पस्दा हामीले कस्तो ड्रेस लगाएर पस्नुपर्छ भन्ने सभामुखबाट रुलिङ होस् । सर्वसाधारण जनतालाई के कारणले रोक्यो त्यसमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सर्वसाधारण जनतालाई पोशाकका कारण सिंहदरबार र संसद भवन दुवै ठाउँमा रोकिएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराइन्।

rsp-cricket-parliament (5).jpg
rsp-cricket-parliament (1).jpg
rsp-cricket-parliament (2).jpg
rsp-cricket-parliament (3).jpg
rsp-cricket-parliament (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ