arrow

रेडियोलोजिष्ट नयाँ थपिएपछि सीटी स्क्यानको रिपोर्ट छरितो, आठ हजार बढीले पाए सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
ctscan-81-2-24-dang.jpg

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पटक रेडियोलोजिष्ट थप भएपछि सीटी स्क्यानको रिपोर्ट समयमा नै आउन थालेको छ । हाल दैनिक २० जना बिरामीको सीटी स्क्यान हुँदै आएको छ । 

यसअघि जनशक्तिको अभावमा सीटी स्क्यान भए पनि रिपोर्ट आउन ढिला हुने गरेको जनगुनासो आएपछि प्रतिष्ठानले त्यसलाई सुधार गर्दै लगेको छ । 

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले सीटी स्क्यान, एमआरआईको रिपोर्ट समयमै आउने गरी जनशक्ति ब्यवस्थापनलाई थप जोड दिइएको बताए । 

प्रतिष्ठानमा भिडियो एक्सरे गर्न भीडभाड भएपछि एउटै जनशक्तिले एमआरआई र सिटी स्क्यानको रिपोर्ट दिन ढिलाइ हुने गरेकामा पछिल्लो पटक रेडियोलोजी विभागमा नयाँ रेडियोलोजिष्ट थपिएपछि सेवा अझै ब्यवस्थित बन्दै गएको छ । 

यसैगरी प्रतिष्ठानमा औषधि लिनका लागि भीड हुँदै आएपछि थप काउन्टर थप्ने तयारी भइरहेको छ भने नाम लेखाउन र बिलिङ काउन्टर पनि अतिरिक्त थप्ने कार्यलाई तीव्रता दिइएको छ । 

प्रतिष्ठानमा सबैभन्दा ठूलो क्षमताको १ सय २८ स्लाइसको सीटी स्क्यान मेशिन रहेको छ । प्रतिष्ठानका मेडिकल इमेजिङ टेक्नोलोजिष्ट सन्दीप गौतमले हालसम्म ८ हजार भन्दा बढी बिरामीको सीटी स्क्यान गरिएको बताए । 

 उनले टाउकोको सीटी स्क्यान गरिएका बिरामीलाई सम्भव भएसम्म सोही दिन र नभए अर्को दिनसम्म रिपोर्ट दिने ब्यवस्था मिलाइएको जानकारी दिँदै अन्य बिरामीको हकमा सीटी स्क्यान गरेको चार दिनसम्म रिपोर्ट दिन सकिने बताए । 

अझै प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्ट थपिए सीटी स्क्यान र एमआरआई मेसिनको रिपोर्ट छिटोछरितो रुपमा निकालेर बिरामिलाई दिन सकिने बताए ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार २०७७ साल पुसदेखी २०८१ बैशाख मसान्तसम्म ८ हजार ४ सय ७६ जना बिरामीले सीटी स्क्यानको सेवा प्राप्त गरेका छन्  । 

त्यस्तै २०७९ कार्तिकदेखि २०८१ बैशाख मसान्तसम्म २ सय ८६ जना बिरामीले एमआरआई सेवा प्राप्त गरेका छन् । प्रतिष्ठानमा एमआरआई र सीटी स्क्यानको सेवाले उपचारमा आउने बिरामीको रोगको डाइग्नोसिस गर्न सहयोग पुर्याएको र सानादेखि ठूला अप्रेसन गर्न सहजता थपिएको प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ